वैदेशिक रोजगारी : ६ महिनामा ६१२ जना बाकसमा र ११४ जना अङ्गभङ्ग भएर स्वदेश फर्किए

 चैत ९, २०७९ बिहिबार १३:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको छ महिनामा वैदेशिक रोजगारीको क्रममा ६ सय १२ नेपालीको ज्यान गएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्ममा वैदेशिक रोजगारीको क्रममा ६ सय १२ जनाले ज्यान गुमाएका हुन् । यो वैदेशिक रोजगार बोर्डमा प्राप्त भएको तथ्याङ्क मात्रै हो । 

यो छ महिनामा सबैभन्दा धेरै साउदी अरेबियामा नेपालीहरूले ज्यान गुमाएका छन् । साउदीमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १८५ रहेको छ । साउदीपछि सबैभन्दा धेरै रोजगारीका लागि मलेसिया पुगेका नेपालीले ज्यान गुमाएका छन् ।

यो छ महिनाको अवधिमा मलेसियामा १२३ जना नेपालीको ज्यान गएको छ । मलेसियापछि कतारमा ११७ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ । 

यस्तै खाडीको अर्को देश यूएईमा यही अवधिमा १०४ जनाले ज्यान गुमाएका छन् भने कुवेतमा ३० जनाको, बहराइनमा १२ जनाको, जोर्डनमा २ जनाको टर्कीमा २ जनाको, सेसल्समा १ जनाएको, रोमानियामा ४ जनाको, दक्षिण कोरियामा ११ जनाको ज्यान गएको छ । 

११४ जना अङ्गभङ्ग भएर फर्किए

चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि गएका ११४ जना अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् । साउदी अरेबियाबाट मात्रै ३८ जना अङ्गभङ्ग भएर फर्किएका छन् भने यूएईबाट २४ जना, कतारबाट २२ जना, मलेसियाबाट १६ जना र कुवेतबाट ५ जना अङ्गभङ्ग भएर फर्किएका छन । 

यस्तै रोमानियाबाट २ जना, कोरियाबाट २ जना, पपुवान्युगिनी, माल्टा, जापान, इजरायल र क्रोएसियाबाट एक एक जना अङ्गभङ्ग भएर फर्किएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया