आगलागीका घटना बर्सेनि बढ्दै : १० वर्षमा ७ सय ६९ जनाले ज्यान गुमाए

 चैत १०, २०७९ शुक्रबार ७:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालमा बर्सेनि आगलागीका घटना बढ्दै गएका छन् । आगलागीका घटना बढ्न थालेसँगै जनधनको क्षति पनि बढेको छ । आगलागीबाट गएको १० वर्षमा ७ सय ६९ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

२०७० साल वैशाखदेखि अहिलेसम्म १८ हजार ७ सय ९१ वटा आगलागीका घटनामा ७ सय ६९ जनाको ज्यान गएको तथ्याङ्क छ । प्राधिकरणको तथ्याङ्कअनुसार यो अवधिमा २२ अर्ब २३ करोड रुपैयाँभन्दा धेरै आर्थिक क्षति भएको छ । डढेलोबाट काठपात, जङ्गली जनावर, जडीबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार विगत १० वर्षमा आगलागीका घटना तेब्बरले वृद्धि भएका छन् । आउँदा दिनमा क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षणसहितका पहल गरिरहेको उहाँले बताउनुभयो ।

प्राधिकरणले आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद् जोखिमको जानकारी प्राप्त गरी त्यसअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली सुरु गरेको छ ।

प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा वन डढेलो तथा आगलागीका घटना अझ बढ्न सक्ने भएकाले त्यसतर्फ राज्यका सम्बन्धित सबै निकाय र उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्राधिकरणले इलाम, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, अछाम, कैलाली, डोटी, डडेलधुरा र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयमा त्यससम्बन्धी आवश्यक उपकरण वितरण गरिएको जनाएको छ ।

वितरण गरिएका उपकरणका सेटमा पम्पका अलवा फायर स्वाटर, फायर र्‍याक, फायर एक्स हो, प्राथमिक उपचारका सामान, फायर फाइटिङ जम्प सुट, फायर बुट, हेल्मेट, ब्याक प्याक जम्प, हेड टर्च, बेल्चालगायत छन् ।

आगलागी तथा वन डढेलोसहित सबै खालका विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संस्थागत रुपमै स्वयम्सेवक परिचालन गर्नका लागि प्राधिकरणले सूचना प्रणाली तयार गरेको छ । अघिल्लो वर्ष माघमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १२औँ बैठकले ‘विपद् व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि–२०७८ पारित गरेपछि रोकथाम र नियन्त्रणका थप काम सुरु भएको हो ।

प्राधिकरणले अब प्रि– मनसुनमा हुन सक्ने आगलागी, हुरी–बतास, चट्याङलगायतका विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको पनि जनाएको छ ।    

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया