हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिँदै, नियमित औषधि खाए पूर्णरुपमा निको हुने

 चैत १०, २०७९ शुक्रबार ८:१०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व क्षयरोग दिवस । ‘हामी सबै मिलेर क्षयरोग अन्त्य गर्न सम्भव छ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । तर, हरेक वर्ष दिवस मनाइरहे पनि क्षयरोग रोकथामका भने चुनौती थपिँदो छ । नेपालमा हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने गरेका राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क छ ।

नयाँ–पुराना गरी अहिले एक लाख १७ हजारभन्दा धेरै क्षयरोगका सक्रिय बिरामी रहेका अनुमान छ ।यस्तै, क्षयरोगका कारण झण्डै १७ हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ । क्षयरोग लागेको पहिचान भएपछि डाक्टरको सिफारिसमा ६ महिनासम्म औषधि खानुपर्छ ।

दैनिक ६ महिनासम्म औषधि खाँदा क्षयरोग पूर्ण रुपमा निको हुन्छ  । तर, बिरामीले औषधि खान लापरबाही गरे रोग निको हुँदैन । जटिलता बढ्दै जान्छ । बिरामीको ज्यान समेत जाने जोखिम हुने डाक्टरले बताएका छन् ।  सरकारले क्षयरोगको औषधि उपचार निःशुल्क दिँदै आएको छ । तर, चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले नियन्त्रणमा चुनौती थपिएको छ ।

सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ । तर, कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुरोध छ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया