समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक : प्रधानमन्त्री प्रचण्ड

 चैत ११, २०७९ शनिबार १४:१८:२३ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाण्डौमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनु भएकाे हाे । 

लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उहाँले बताउनु भयाे ।  राजनीतिक नेतृत्वमा मात्र नभइ समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर रहेको बताउनुभयो ।

'शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सकिन्छ । महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराएर नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्नुहुँदै उहाँले उनीहरुको सशक्तीकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको उल्लेख गर्नुभयो । 'संविधानले संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । अहिले पालिकामा ४१ प्रतिशतभन्दा बढी महिला छन् । अरू देशको तुलनामा महिलाको यो राजनीतिक सहभागिता बढी हो', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

महिलामा सिर्जनात्मक क्षमता बढी हुने उल्लेख गर्नुहुँदै उहाँले आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि उनीहरुको सहभागिता बढाउँदै लैजानुपर्नेमा जोड दिनुुभयो । लैङ्गिक असमानता हुँदा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने उहाँको भनाइ छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा महिला सशक्तीकरण तथा नेतृत्व विकास र उद्यमशीलतामार्फत् अर्थतन्त्रमा महिलाको योगदानलगायत विषय प्राथमिकताका साथ उठाइने परिसङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया