बाढीले पुरेकाे दुई दशकपछि घैलाघारी तालको खोजी गरिँदै

 चैत १५, २०७९ बुधबार १२:३३:२८ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन – विगत दुई दशकअघि राप्ती नदीमा आएको बाढीका कारण पुरिएको घौलाघारी तालको खोजी सुरु गरिएको छ । बाढीका कारण पुरिएर गेग्रेनमा परिणत बनेको तालको भरतपुर महानगरपालिका–२३ ले खोजी र संरक्षणकार्य सुरु गरेको हो ।

विसं २०५९ मा आएको बाढीका कारण पश्चिम चितवनको पर्यटकीय क्षेत्रका रूपमा रहेको यो ताल पुरिएको थियो । ताल पुरिएसँगै स्थानीय र सरोकारवालाको यसतर्फ ध्यान जानसकेको थिएन । अहिले तालको पुनःनिर्माणका लागि वडा कार्यालयले गुरुयोजना निर्माणको काम सुरु गरेको वडाध्यक्ष दीपक दबाडीले बताउनुभयो । परापूर्वकालदेखि धार्मिक आस्थाका रूपमा रहेको ताल बाढीले पुरेसँगै संरक्षणको पर्खाइमा रहेको थियो ।

त्याे ताल पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । तीन बिघा क्षेत्रफलमा फैलिएको त्याे तालको निर्माणका लागि गुरुयोजनासँगै पुनःसंरचनाको समेत काम सुरु गरिएको उहाँले बताउनुभयो । विस्तृत अध्ययन प्रतिवेदन चैत महिनाभित्र आउने गरी काम अघि बढाइएको बताउँदै दबाडीले अहिले तालको क्षेत्रफलअनुसार नक्साङ्कनको काम सुरु गरिएको बताउनुभयो ।  

बाढीले पुरेसँगै तालको खोजी नभएकाले यसलाई व्यवस्थित गर्न कठिन हुने भए पनि वडाले यसको संरक्षणलाई आफ्नो गौरवको आयोजनका रूपमा राखेर काम अघि बढाएको छ । घैला आकारमा रहेको त्याे तालको बीचमा मन्दिर रहेको छ । तालमा स्नान गरेर मन्दिरमा पूजा गर्दा चाहेको कुरा पूरा हुने विश्वास रहेको स्थानीय बुद्धिराम विश्वकर्माले बताउनुभयो । यस तालको संरक्षणसँगै स्थानीयको जीविकोपार्जनका लागि सहयोगी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । धार्मिक पर्यटक भित्र्याउन यस तालले सहयोग पुग्ने उहाँको विश्वास छ ।

वडाले यस तालको संरक्षणसहित स्थानीयको अपनत्व झल्कने खालका संरचना निर्माण गर्ने योजनामा रहेको वडाध्यक्ष दबाडीले जानकारी दिनुभयो । ताल क्षेत्रमा थारू र बोटे समुदायको बाहुल्यता रहेको छ । ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो । तालको  खोजीसँगै सो क्षेत्रमा तालको बीचमा मन्दिर निर्माण, पार्क, पिकनिक स्थल, माछा मार्ने स्थल, विश्रामस्थलजस्ता संरचना निर्माण गरिने छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया