अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ : प्रधानमन्त्री प्रचण्ड

 चैत १६, २०७९ बिहिबार १४:१९:३२ | रासस
unn.prixa.net

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताउनुभएको छ । आज बिहीवार भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ भन्नुभयो । 

नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।’ सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उहाँले भन्नुभयो, ‘मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।’ ६२ वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनेले छुट्टै महत्त्व बोकेको उहाँले बताउनुभयो । यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्त्वका साथ छलफल गर्नेछु ।’ 

लुम्बिनी विमानस्थलको विषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलको विषयमा चीनसँग छलफल गर्ने उहाँले बताउनुभयो । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्त्वका साथ अघि बढाएको उहाँको भनाइ छ । द्रुत मार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उहाँले बताउनुभयो ।

चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट समेत छिट्टै उडान हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो ।’  विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुङ्गाका रूपमा काम गर्ने उहाँको विश्वास थियो । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेकलाई भरतपुर महानगरपालिका–१ को दियालो बङ्गलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर–११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उहाँले स्थानान्तरणका लागि एक–दुई दिनमा सहमति हुने बताउनुभयो ।

फरक प्रसङ्गमा प्रचण्डले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण चाँडै सुरु हुने जानकारी दिनुभयो । रङ्गशालाको समस्या एक–दुई हप्तामा समाधान हुने र निर्माण अगाडि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो रङ्गशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण अगाडि बढ्छ ।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकार ग्रामीणस्तरमा समेत हवाई उडान गर्ने योजनामा रहेको बताउनुभयो । ग्रामीणस्तरको ‘लाइफलाइन’का रूपमा यसको विकास गर्न मन्त्रालय लागिपरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हवाई सुरक्षामाथि उठेका प्रश्न शून्य बनाउँदै ग्रामीणस्तरमा समेत सेवा पुर्‍याउन लागिपरेका छौँ ।’ नेपाल वायु सेवा निगमका जहाजलाई अन्तर्राष्ट्रियस्तरमा र आन्तरिकस्तरमा समेत प्रभावकारी बनाउने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, ‘पर्यटकीय क्षेत्रमा नयाँ उडान गर्ने योजना रहेको छ ।’

भरतपुर विमानस्थलको विस्तार र ट्रमिनल भवन निर्माणसँगै रात्रिकालीन उडान र अवतरणसमेत सुरु हुने उहाँको भनाइ थियो । त्यस अवसरमा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले भरतपुर विमानस्थल विस्तारको कामले बाग्मती प्रदेशमा नै खुसियाली छाएको बताउनुभयो । काठमाण्डौपछि प्रदेशमा दोस्रो ठूलो विमानस्थल चितवनमा बन्न लागेको भन्दै उहाँले यसमा आवश्यक सहयोग प्रदेश सरकारलेसमेत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विमानस्थलको विस्तारका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको छ ।’

नयाँ ट्रमिनल भवन र विस्तारको काम सुरु गरिएको यस विमानस्थल सन् १९५८ मा निर्माण सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको थियो । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको यो विमानस्थलको सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा कालोपत्र गर्ने काम सम्पन्न भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिएको भए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । ५८ बिघा क्षेत्रफलमा फैलिएको यस विमानस्थलको धावनमार्ग अहिले एक हजार दुई सय मिटरको छ । विस्तारपछि धावनमार्ग एक हजार पाँच सय मिटरको हुनेछ । नयाँ ट्रमिनल भवनमा एक हजार यात्रुले सहजरूपमा उपभोग गर्न सक्ने गरी बनाउन लागिएको छ ।

१४ कट्ठा क्षेत्रफलमा आठ हजार वर्ग मिटरको दुई तले ट्रमिनल भवन निर्माण गरिनेछ । भवनसँगै आठ तले कन्ट्रोल टावर, पार्किङजस्ता अन्य संरचना निर्माण गरिनेछ । यसका लागि एक अर्ब ९२ करोड रुपैयाँमा निर्माण कम्पनी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया