काठमाण्डौको सुन्दरीजल–जोरपाटी खण्डमा मेलम्चीको पानी ल्याउन थप पाइप बिछ्याइँदै

 चैत १९, २०७९ आइतबार ८:१३:१२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मेलम्ची खानेपानी आयोजनाको पानी काठमाण्डौ उपत्यकामा ल्याउनका लागि सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ । सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लम्बाइमा अहिले रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको हो।

मेलम्चीको पानी पहिले सुन्दरीजलमा रहेकाे पानी प्रशोधन केन्द्रमा जान्छ । केन्द्रमा प्रशोधन भएपछि काठमाण्डौ उपत्यकाका अरु ठाउँमा जान्छ । अहिले भइरहेको पाइपबाट पानी ल्याए पनि भविष्यमा थप पानी ल्याउन थप पाइप आवश्यक रहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा दैनिक ५१ करोड लिटर पानी उपत्यका आउनेछ । दैनिक ५१ करोड पानी आउँदा त्यसका लागि आवश्यक पाइप बिछ्याउन लागिएको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले जानकारी दिनुभयो ।

सुन्दरीजलबाट काम सुरु गरेर चाबहिलतर्फ गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो ।  एक हजार आठ सय र एक हजार छ सय मिलिमिटरको जीआई पाइप बिछ्याउन लागिएको हो ।

पहिले बिछ्याइएको पाइपको क्षमता २२ करोड लिटर रहेकामा अब २८ करोडको बिछ्याउन लागिएको निर्देशनालयले जनाएको छ । अहिले हिउँदमा दैनिक १७ करोड लिटर पानी काठमाण्डौ उपत्यकामा ल्याइएको छ । अहिले पनि वर्षामा दैनिक ५१ करोड लिटरसम्म पानी ल्याउन सकिने सम्भावना रहेको छ । क्षमताअनुसारको पानी ल्याउनका लागि थप पाइप आवश्यक भएको हो ।

पाइप बिछ्याउने काम दुई वर्षमा सकाउनुपर्ने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के नदीको पानी ल्याउँदा अहिले भइरहेको पाइप पर्याप्त नहुने उहाँले बताउनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको आयोजनास्थलमा विभिन्न संरचनामा थप क्षति नपुगोस् भनेर सरकारले अहिले वर्षाको समयमा मेलम्चीको पानी ल्याएको छैन ।  सरकारले पछिल्लोपटक गएको मङ्सिरदेखि काठमाण्डौ उपत्यकामा पानी पुनः वितरण सुरु गरेको हो । वर्षा सुरु नहुँदासम्म पानी नियमित ल्याउन सकिने भए पनि वर्षाको समयमा नसकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया