छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालयका किताब

 वैशाख १९, २०८० मंगलबार २०:३०:० | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे भृकृटीमण्डपमा रहेको काठमाण्डाै उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भुइँ तहमा रहेका महत्त्वपूर्ण किताब भिजेका छन् । 

विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यति बेला भिजेका किताब जतनमा जुटेका छन् ।  

पानीका कारण थप किताबमा क्षति नपुगोस् भनेर किताबलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको याे भवनको छानो मर्मतका लागि बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । मर्मत चाँडै सम्पन्न नभए आउँदाे असार–साउनमा पुस्तकालय वर्षाका कारण प्रभावित हुनसक्ने देखिएको छ ।

पुस्तकालयका पुस्तकालय व्यवस्थापक जुजुभाइ डङ्गोलले हरेक वर्षाका समयमा यस्तै बिजोग हुने गरेको र पछिल्लो वर्षाले के कति किताबमा क्षति भयो भन्ने विवरण तयार भइनसकेको बताउनुभयो । अहिले पानीले भिजेका किताबबाट पानी तैर्‍याएर (सुकाएर) पुनः पढ्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिने उहाँको भनाइ छ । 

उहाँले बजेट कार्यान्वयनका लागि परिषदबाट सहमति प्राप्त भएकाले छिट्टै छानो फेर्ने काम अघि बढ्ने जानकारी दिनुभयो । वर्षाका कारण पुस्तकालयमा जाने आउने बाटोसमेत हिलाम्मे भएको छ । 

पुस्तकालयमा विभिन्न विधाका गरी झन्डै ८० हजार पुस्तक र दुई हजार चार सयभन्दा बढी सदस्य छन् । पुस्तकालयमा दैनिक एक सय ५० जना अध्ययनकर्ता आउने गरेका छन् । 

विसं २०६० मा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको नेतृत्वमा २१ औँ शताब्दीको आवाश्यकतानुकूलको पुस्तकालय स्थापना भएको थियो । पुस्तकालयले अहिले राष्ट्रिय सभागृहको एउटा कोठाबाट स्थापित समाजले विद्युतीय पुस्तकालय सेवाका साथै पुस्तकालय विज्ञान र व्यवस्थापनबारे तीन महिने व्यावसायिक कोर्समा आधारित तालिम पनि सञ्चालन गर्दै आएको छ । 

पुस्तकालय व्यवस्थापन र तालिमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पुस्तकालयमा प्राज्ञिक व्यक्ति, कुटनीतिज्ञ, राजनीतिकर्मी, कानुन व्यावसायी, उद्यमी, सामाजिक कार्यकर्ता र पत्रकारसमेत आबद्ध छन् । 

समाजलाई शिक्षित, सभ्य, लोकतान्त्रिक र शान्तिपूर्ण बनाउने लक्ष्य प्राप्तिका लागि स्थापित यो पुस्तकालयमा वार्षिक सदस्यता शुल्क तीन सय रुपैयाँमात्रै रहेको छ ।

पुस्तकालयले वार्षिक डेढ लाख रुपैयाँ तिर्दै आएको छ भने परिषद्ले एकतर्फी भाडा बढाएर वार्षिक छ लाख रुपैयाँको हिसाब गरी अपुग रकम बक्यौतमा राख्दै आएको छ । समाजले प्रतिस्क्वायर फुट १८ रुपैयाँमा ७५ प्रतिशत छुट पाएकाेमा अहिले परिषद्ले छुट नदिने जनाएको छ ।  पुस्तकालयले अहिले जम्मा दुई हजार छ सय स्क्वायर फुट उपयोग गर्दै आएको छ ।

पुस्तकालयलाई आफ्नो स्वामित्वमा लिई व्यवस्थितरूपमा सञ्चालन गर्न पुस्तकालय स्थापनाले काठमाण्डाै महानगरपालिकालाई प्रस्तावपत्र पठाई आग्रह गर्दै आएको छ । 

महानगरका मेयर बालेन्द्र शाहका शिक्षा सल्लाहकार रशु अर्यालले भर्खरै पुस्तकालयको भ्रमण गर्नुभएको थियो तर यसबारे महानगरले कुनै निर्णय गरिसकेको छैन । पुस्तकालयका अनुसार कर्मचारी तलब, पुस्तकालय व्यवस्थापन, पुस्तक खरिद र तालिमका लागि गरी वार्षिक ७०/८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । 

याे बजेट महानगरले विनियोजन गरेमा पुस्तकालयको स्वामित्व हस्तान्तरणसमेत गर्न सञ्चालक समिति तत्पर देखिएको छ । अहिले पुस्तकालयमा ११ कर्मचारी कार्यरत छन् । 

सामुदायिक पुस्तकालयलाई प्रभावकारीरूपमा सञ्चालन र व्यवस्थापन गर्न सकिए पठन संस्कृतिको विकासका साथै विदेशीलाई देखाउने एक आकर्षक स्थलसमेत बन्न सक्ने पुस्तकालयमा व्यवस्थापक डङ्गोलले बताउनुभयो । 

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख र विशिष्ट व्यक्तिले विभिन्न समयमा यो पुस्तकालयको भ्रमण गरिसक्नुभएको छ । 

पुस्तकालयमा गएकाे महिना यूएईका नेपालमा रहेका राजदूतले भ्रमण गरी आफ्नो देशसँग सम्बन्धित सूचना केन्द्र राख्ने गरी सहयोग गर्न चासो दिनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया