रेसुङ्गाको प्रवर्धन गर्न 'जाउँ हिँड रेसुङ्गा' अभियान

 जेठ २१, २०८० आइतबार २१:१३:४० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको प्रमुख पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रवर्धका लागि रेसुङ्गा नगरपालिकाले 'जाउँ हिँड रेसुङ्गा' अभियान सुरु गरेको छ । रेसुङ्गाको पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाले आइतवारदेखि यो अभियान सुरु गरेको हो ।

रेसुङ्गाका मेयर खिलध्वज पन्थीले आउँदो आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या एक लाखभन्दा बढी पुर्याउने लक्ष्यका साथ अभियान सुरु गरेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ लाई रेसुङ्गा भ्रमण वर्ष घोषणा गरी कार्यक्रम अगाडि बढाइने बताउनुभयो । त्यसका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी साहसिक पर्यटन, जीप लाइन, होटललगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने उहाँको भनाइ छ । 

मेयर पन्थीले जिल्लामा पर्यटन प्रवर्द्धनका लागि के के गर्न सकिन्छ भनेर सरोकारवाला संस्थाका प्रतिनिधिहरूसँग सुझावसमेत लिनु भएको थियो । उहाँले पर्यटकीय गन्तव्य निर्माणका लागि रुरुक्षेत्र, कालीगण्डकी, श्रृङ्गा, विचित्र गुफा, कङ्के देउरालीलगायतका मुख्य क्षेत्रलाई जोडेर गुल्मीमा पर्यटन 'सर्किट' निर्माण गरिने बताउनु भयो ।

गुल्मीको धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गा आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक दृष्टिकोणले निकै सुन्दर र रमणीय स्थलको रूपमा परिचित यो ठाउँ वरिपरि घना जङ्गलको बीचमा रहेको छ । पार्क, पोखरी, यज्ञशाला, भ्यु-टावर, सिद्धस्थान तथा विभिन्न कलात्मक मठ मन्दिरहरू यस क्षेत्रका आकर्षणका केन्द्र बनेका छन् । यो क्षेत्रको प्रचारप्रसारका लागि नगरपालिकाले 'जाउँ हिँड रेसुङ्गा' लेखिएको टी-शर्ट समेत वितरण गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया