काठमाण्डाै महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

 जेठ २६, २०८० शुक्रबार ६:३८:४३ | रासस
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले आउँदाे आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरी आउँदाे आर्थिक वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

काठमाण्डाै महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत् सेवा प्रदान गर्ने तयारी छ ।

अहिले काठमाण्डाै महानगरलगायत देशको सबै पालिकाहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । काठमाण्डाै महानगरले आफ्नो नीति तथा कार्यक्रममा नै याे विषय समेटेर आउँदाे आवदेखि  कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिनुभयो । 

वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत् प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत् महानगरले खटाएका नर्सले सेवा दिनेछन् ।

एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले याे कार्यक्रम काठमाण्डाै महानगरको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर काठमाण्डाै महानगरले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।

याे कार्यक्रमसँगै काठमाण्डाै महानगरले आउँदाे आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ । त्यसैगरी प्रविधि र विशेष शिक्षामा गएकाे वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको काठमाण्डाै महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिनुभयो ।

शिक्षाको गुणस्तर बढाउने लक्ष्यसहित काठमाण्डाै महानगरले यसै शैक्षिकसत्रदेखि सुरु गरेको शिक्षामा सिप कार्यक्रमलाई पनि थप विस्तार गरिने भएको छ । अहिले माध्यमिक तह कक्षा ९ देखि १२ सम्ममात्र सञ्चालन भइरहेको याे कार्यक्रम तलका कक्षामा पनि लगिने छ । काठमाण्डाै महानगरमा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन् । ५९ माविमध्ये ५६ वटामा मात्र शिक्षामा सिप कार्यक्रम लागू भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया