डाँडाकाँडामा पर्यटनबाट भविष्य खोज्दै पर्वतका स्थानीय तह

 कात्तिक २५, २०७५ आइतबार १०:४७:३१ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतका सातवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धनमा अग्रसरता लिएका छन् । स्थानीय तहमा विकासका अरु काम सुस्त अवस्थामा देखिए पनि पर्यटन क्षेत्रको विकासमा भने सवै स्थानीय तहहरु सक्रिय भएका हुन् । पहाडी जिल्ला पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिका यतिबेला आफ्नै स्थानीय तहको उच्च भूभागमा पर्यटन विकास गर्ने लक्ष्य लिएर अघि बढेका छन् । 

कुश्माको नजरमा पञ्चासे लेक    

कुश्मा नगरपालिकाले दुईहजार पाँचसय १७ मिटर उचाईमा रहेको पञ्चासे लेकलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य अघि सारेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत सुवासकुमार लामिछानेका अनुसार नगरपालिकाको सबैभन्दा उचाईमा रहेको लेक पर्यटकीय तथा धार्मिक महत्वका दृष्टिकोणले महत्वपूर्ण देखिएकाले यसको विकासमा नगरपालिका अग्रसर भएको हो । यो ठाउँ मोदी गाउँपालिकाको समेत सिमानामा पर्ने भएकाले दुवै स्थानीय तह यसको विकासमा सक्रिय भएका छन् । 

फलेवासको नजरमा डहरे देउराली 

फलेवास नगरपालिकाले पनि पर्यटन विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्यका साथ आफ्नो पहिलो कार्य नै नगरपालिकाकै अग्लो दुई हजार ४ सय मिटर उचाई डहरे देउरालीमा पुगेर स्थलगत अवलोकनसँगै यसको विस्तृत परियोजना सर्वेक्षण समेत गरेको छ ।

नगरपालिकाले डहरे क्षेत्रलाई खुला चिडियाखानाका रुपमा विकास गर्ने लक्ष्य सहित पर्यटन प्रवद्र्धनमा यसवर्ष २० लाख रकम विनियोजन गरेको छ । यो सँगै पर्यटन झल्किने गरी वृत्तचित्र निर्माण गर्ने र पहिलेदेखि नै धार्मिक क्षेत्रको मान्यता पाएको डहरे देउरालीमा थप आकर्षण थप्ने नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताउनुभयो । 

मोदीको नजरमा भमरकोट र जलजला क्षेत्र

मोदी गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन विकासका लागि सबैभन्दा अग्लो तीनहजार तीनसय मिटर उचाईमा रहेको हम्पाल क्षेत्र सँगै पञ्चासेमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । 

गाउँपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङका अनुसार यो क्षेत्रमा आवश्यक पर्यटकीय संरचना निर्माणका लागि समेत गाउँपालिकाले बजेट विनियोजन गरेको छ । यसका साथै यी क्षेत्रका आसपासमा पर्ने बस्तीहरुमा समेत होमस्टे प्रवर्द्धन गर्न गाउँपालिकाले कार्यक्रम अघि सारेको छ । 

महाशिलाको नजरमा चिसापानी लेक

महाशीला गाउँपालिकाले पनि यस वर्ष पर्यटन प्रवर्द्धनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यहाँको सबैभन्दा अग्लो दुईहजार दुईसय मिटर उचाईमा रहेको चिसापानी लेकलाई गाउँपालिकाको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने योजना बनाएको छ । 

गाउँपालिकाले पर्यटनको क्षेत्रमा विनियोजित बजेटबाट चिसापानीमा उत्कृष्ट पदमार्गको विकाससँगै एसियाकै ठूलो महाशिलाका रुपमा दावी गरिएको शिला र होमस्टे प्रवर्द्धन गर्ने कार्ययोजना बनाइएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।  

जलजला गाउँपालिकाको नजरमा हम्पाल लेक

पर्वतको सबैभन्दा अग्लो तीनहजार तीनसय मिटरको उचाईमा रहेको हम्पाल लेक जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सिमाना पर्दछ । यसै लेकमा पर्यटकीय गन्तव्य बनाउने गरी दुवै गाउँपालिका आआफ्नो क्षेत्रबाट लागि परेका छन् । 

जलजला गाउँपालिकाको कार्यपालिकाका सदस्य सहितको एक टोली स्थलगत अनुगमन गरी यस क्षेत्रको विस्तृत परियोजना सर्वेक्षण गर्ने निर्णय समेत गरिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिनुभयो । 

यता दक्षिणी दुई गाउँपालिका विहादी र पैञ्युले पर्यटन विकासका लागि स्थानीयस्तरमा नै प्रयास थालेका छन् । यी गाउँपालिकामध्ये पैञ्युले परम्परागत रुपमा धार्मिक मान्यता रहेका सेनको मन्दिर, पैञ्युकोटको प्रवर्द्धनमा जुटेको छ भने विहादी गाउँपालिकाले करिब २३ सय मिटर उचाईमा रहेको गोल्र्याङको लेकसँगै स्थानीय धार्मिक मान्यताका स्थलहरुको विकासमा जुटिएको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया