महरा प्रकरणको गम्भीर छानबिन हुनुपर्छ

 असोज १५, २०७६ बुधबार १८:४१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यौन दुर्व्यवहारको आरोप लागेसँगै कृष्णबहादुर महराले मंगलबार सभामुख पदबाट राजीना मादिनुभएको छ । तर महरालाई राजीनामा मात्रै दिएर उन्मुक्ति दिन नहुने र उचित छानबिन गरेर कारबाहीको दायरामा ल्याउन पर्ने माग चर्को सँग उठेको छ, जुन जायज छ । 

प्रहरीले पीडितले उजुरी नदिएको भन्दै उजुरी आए कारबाही प्रक्रिया अघि बढाउने जनाइरहेको छ । महराविरुद्ध पीडित भनिएकी महिलाले अझैसम्म जाहेरी दिएकी छैनन् र हिजोदेखि जाहेरी नदिने कुरा सार्वजनिक गरेकी छिन् ।  

पीडित भनिएकी महिलाले सोमबार एउटा सञ्चार माध्यमलाई दिएको भिडियो अन्तर्वार्तामा सभामुख महराले आफूलाई आफ्नै कोठामा जवर्जस्ती गरेको आरोप लगाएकी थिइन् । 

आइतबार साँझ घटना भएको र त्यही बेला प्रहरीलाई पनि खबर गरेको उनले प्रहरीले त्यही दिन आएर आफ्नो कोठाको फोटो खिचेर लगेको पनि भिडियोमा बताउँछिन् । उनको त्यही अन्तर्वार्ताले महराको राजनीतिक उचाइका साथै सभामुख पद गुम्यो । 

तर त्यसको २४ घण्टा पनि नवित्दै मंगलबार साँझ बाहिरिएको अर्को भिडियो अन्तर्वार्तामा भने महराले आफूलाई कुनै दुव्र्यवहार नगरेको र आफ्नो कोठामा पनि नआएको बयानमा बताइन् ।  

परस्पर बाझिने खालको दुई भिडियो बाहिरिएपछि प्रहरी के गर्ने भन्ने अन्यौलमा परेको छ । मंगलबार बिहान पनि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यो घटनाक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा परामर्श लिएको जानकारी पनि बाहिरिएको छ । 

प्रहरीले मंगलबार पीडित भनिएकी महिलाको कोठाबाट महराको भनिएको फुटेको चस्मा, मदिराको बोत्तल र अन्य प्रमाणहरु संकलन गरेको थियो । बुधबार भने महिलाको निगरानी गर्न र भवितव्य केही नहोस् भनेर सुरक्षाका लागि प्रहरी नै खटिएको छ ।  

सभामुख पदमै रहँदा महरामाथि लागेको यो चानचुने आरोप होइन । त्यसैले यसको गम्भीर रुपमा अनुसन्धान हुनुपर्छ । प्रहरी पीडितको जाहेरी कुरेर बस्नुको सट्टा प्राप्त प्रमाणको विश्लेषण गर्दै घटनाको वास्तविकता पत्ता लगाउन तल्लिन हुनुपर्छ । मंगलबार साँझबाट पीडितको बयान पनि बदलिएकाले अब यो घटना खासमा के भएको हो भन्ने चासो धेरैलाई छ । 

सामाजिक सञ्जालमा कतिपयले दबाब र प्रभावमा पीडितलाई बयान फेर्न लगाइएको भनेर दाबी गरेका छन् । पहिलो अन्तर्वार्तामा आफूमाथि महराले दुर्व्यवहार नै गरेको भनेर दाबी गर्ने महिलाले पछिल्लो अन्तर्वार्तामा कोही नआएको र कसैले केही नगरेको भनेपछि दबाब र प्रभावमा बयान फेर्न लगाएको कतिपयको दाबी छ । 

महिलाले किन बयान फेरिन् भन्ने बारेमा पनि प्रहरीले गम्भीर अनुसन्धान गरेर बाहिर ल्याउनु पर्ने देखिन्छ । यदि प्रभावमा नै परेर बयान फेरिएको हो भने कसले प्रभाव पार्‍याे त्यो बारेमा पनि छानबिन गरेर कारबाही अघि बढाउन प्रहरी हच्किनु हुन्न । 

महिलाको एउटा अन्तर्वार्ताले देशको राजनीति नै उथलपुथल गर्ने काम भयो भने महराको राजनीतिक जीवन नै ध्वस्तभयो । तर पछि त्यही पीडित भनिएकी महिलाले आफ्नो बयान फेर्दै आफूमाथि कोही कसैले दुर्व्यवहार नगरेको दाबी गरिन् । यो कुनै एउटा साधारण व्यक्तिमाथि लगाइएको आरोप थिएन । देशको उच्च तहमा सभामुख पदमा रहेको व्यक्तिमाथि लागेको आरोप थियो । यो प्रकरणमा विश्वका ठूला मिडियाहरुले पनि समाचार प्रकाशित गरे । 

महिलाको बयान फेरिएपछि पनि पीडकको आरोप लागेका महराको कुनै प्रतिक्रिया आएको छैन । महिलाले म डिप्रेसनमा रहेका बेला कसलाई के भने थाहा नभएको बताइसकेकाले महराले अब अनर्गल आरोप लगाएको भन्दै ती महिलाविरुद्ध उजुरी गर्न सक्छन् । तर अहिलेसम्म त्यस्तो केही नगर्नुले थप जिज्ञासा उब्जाएको छ । 

प्रहरीले गर्नु पर्ने काम

बुधबार बिहान ट्वीट गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले महरा प्रकरणको निष्पक्ष छानबिन गरी तथ्यअनुरुप उचित कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।  

यो घटनाको सत्यतथ्य छानबिन नगरी यसै ढिसमिस पार्ने काम गर्नु हुँदैन । प्रहरीले आफूले संकलन गरेको प्राप्त प्रमाणका आधारमा घटनाको वास्तविकता बाहिर ल्याउनु जरुरी छ । 

होइन भने निर्मला प्रकरण र विभिन्न घटनामा कमजोर देखिएको प्रहरी अनुसन्धान अहिले पनि त्यस्तै फितलो हुने त होइन भन्ने आशंका पनि कतिपयले गरेका छन् । प्रहरीका लागि यो घटना निष्पक्ष छानबिन गर्दै आफ्नो शाख जोगाउने मौका पनि हो । 

अब प्रहरीले सीसीटीभी फुटेजका आधारमा सभामुख महरा पीडित भनिएकी महिलाको कोठामा गएको हो कि होइन वा उनी त्यस समयमा थिए कि थिएनन् भन्ने कुरा निर्क्याैल लगाउनु पर्छ । बानेश्वर क्षेत्रमा नै पीडित भनिएकी महिलाको कोठा रहेकाले त्यस क्षेत्रमा रहेको सीसीटीभी फुटेजमा पक्कै पनि महरा गएको वा नगएको भन्ने प्रहरीले हेर्न सक्छ ।

पीडित भनिएकी महिलाले प्रहरीमा खबर गरेको र प्रहरी पनि त्यही दिन घरको खानतलासी गर्न गएको भनेकाले त्यस बेलाको अवस्थाका बारेमा प्रहरीले वास्तविक कुराको निर्क्याैल निकाल्न सक्छ । यस्तै सोमबार प्रकाशित समाचारपछि ती महिलासँग क-कसले सम्पर्क गरेका छन् तिनीहरुलाई पनि अनुसन्धानको दायरामा समेट्न सकिन्छ । यसबाट महरा वा अन्य कसैले दबाब दिएको हो वा होइन पत्ता लगाउन सकिन्छ ।

पीडित भनिएकी महिलाको स्वास्थ्य परीक्षण गरिएको छैन । उनैले गर्न नमानेको भनेकाले पनि प्रहरीले जबर्जस्ती स्वास्थ्य जाँच गर्न लैजाने कुरा भएन । तर कसैलाई आरोप लगाउने र पछि होइन भन्ने गर्दा आरोप लाग्नेको सार्वजनिक जीवनमा परेको क्षतिको भर्पाइ भने हुनु पर्छ । 

महिलाले आफू डिप्रेसनमा रहेको र रिसको झोकमा के भने थाहा भएन भनेर उम्कने अवस्था हुँदैन । यदि डिप्रेसनमै भएको भए पनि प्रहरीले मानसिक अस्पतालमा त्यस बारेमा उपचारका लागि लगेर वास्तविकता बाहिर ल्याउनु पर्छ ।  प्रहरीले बयान फेरेकी महिलालाई ‘लाई डिटेक्टर’मार्फत बयान लिएर सत्य के हो भन्ने कुरा पत्ता लगाउन सक्छ ।  

प्रहरीले सामान्य मानिसलाई यसरी आरोप लागेको भए पक्राउ गरेर हिरासतमै लिने सम्मको काम गरिसक्थ्यो । यसमा पनि प्रहरीले पीडकलाई नियन्त्रणमा लिएर वास्तविकता नआउन्जेलसम्म छानबिनका लागि राख्न सक्नुपर्छ ।

सम्बन्धित समाचार

 

 

 

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया