'कृष्णबहादुर महरा सभामुखका रुपमा फेरि फर्कने सम्भावना छँदै छैन'

 असोज १४, २०७६ मंगलबार १४:४२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको छ । सभामुख कृष्णबहादुर महराले लिखित राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको हो । 

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेसँगै सभामुख महराले राजीनामा दिनुभएको हो । संविधानको धारा ९१ को उपधारा ६ को (ख) ले सभामुखले लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था गरेकाले मंगलबारबाट प्रतिनिधि सभामा सभामुख पद रिक्त भएको छ ।  

नेपालकाे संविधान

सभामुखको राजीनामासँगै अर्को व्यवस्था नहुञ्जेलसम्म उपसभामुखले नै सभामुखको कार्यभार सम्हाल्ने छन् । सभामुखबाट लिखित राजीनामा दिएकाले महरा फेरि सभामुखमा फर्कने बाटो संविधानले नै बन्द गरिसकेको छ । महराले राजीनामा दिएसँगै अबको सभामुख को हुन्छ भन्ने पनि चर्चा चल्न थालेको छ ।  

प्रतिनिधिसभा नियवावली २०७५

तर महराले दिएको राजीनामा पत्रमा शर्त तेर्स्याएइकाे छ । आफूमाथि लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा ‘आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्म’का लागि राजीनामा दिएको छु भन्ने व्यहोरा महराले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा पत्र

तर निश्चित समयका लागि मात्रै राजीनामा दिन पाउने व्यवस्था संविधानमा उल्लेख छैन । महराले ‘छानबिन प्रक्रिया नसकिँदासम्म’का लागि मात्रै भनेर दिएको राजीनामा पत्र फेरि सभामुखमै फर्कन्छु भन्ने मानसिकताले आएको देखाएको संविधानविद् विपिन अधिकारी बताउनुहुन्छ । 

नेपालको संविधानले राजीनामा अवधि किटेर दिने भन्ने खालको परिकल्पना नै नगरेकाले यसरी राजीनामा आउनु अचम्म भएको पनि उहाँले बताउनुभयो । सभामुखले दिएको राजीनामा अब स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले स्वीकृत गरेपछि भने पदमुक्त हुने उहाँले बताउनुभयो ।  

‘महराले कि त राजीनामा नै नदिई हाउसले जे गर्छ गरोस् भन्नु पर्ने थियो वा त राजीनामा दिएपछि अवधि किटेर दिने भन्ने हुनुहुँदैन थियो’, उहाँले भन्नुभयो ।  महराले समय किटेर राजीनामा दिनुभन्दा बरु सधैँका लागि बिदा लिएको भए उचित हुने पनि उहाँले बताउनुभयो ।  

राजीनामा भनेको पूर्णतः राजीनामा नै रहेको भन्दै उहाँले महराले बुझाएको पत्र स्वनिलम्बन जस्तो देखिएको बताउनुभयो । संविधानमा स्वनिलम्बनको परिकल्पना नै नगरेकाले अब महराले दिएको लिखित राजीनामालाई राष्ट्रपतिले स्वीकृत गरेर पदमुक्त गर्नुको अरु विकल्प नरहेको अधिकारी बताउनुहुन्छ । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया