सभामुख महरासामु मात्र दुइ विकल्प : कि राजीनामा कि महाअभियाेगकाे सामना

 असोज १४, २०७६ मंगलबार ११:४९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सभामुख कृष्णबहादुर महराले राजीनामा दिने लगभग निश्चित देखिएको छ ।

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएर छानबिनमा सहयोग गर्न चौतर्फी दबाब बढ्दा उहाँ राजीनामा दिने मनस्थितिमा पुग्नुभएको हो ।

महराले मंगलबार बिहान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा भेटेर परामर्श गर्नुभएको थियो । दुबै अध्यक्षले छानबिनका लागि बाटो खुला गर्नु उपयुक्त हुने सुझाव दिएको श्रोतहरुले जानकारी दिएका छन् ।

यसबारे निर्णय लिन नेकपाको सचिवालय आकस्मिक बैठक बालुवाटारमा बसिरहेको छ । श्रोतका अनुसार सचिवालय बैठकले सभामुख महरालाई आरोपको छानविनका लागि बाटो खुला गरिदिन सुझाव दिने निर्णय गर्नेछ ।

संसद सचिवालयकी एक महिला कर्मचारीले सभामुख महराले आइतबार आफ्नो कोठामै आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

महराको सचिवालयले भने त्यसको खण्डन गरेको छ । तर पछि सञ्चारमाध्यमहरुमा सभामुख महराले उनी आफ्नो साथी भएकाले कोठामा गएको तर दुर्व्यवहार भने नगरेको दाबी गर्नुभएको थियो । 

महरासँग दुई विकल्प 

याैन दुर्व्यवहारकाे आराेप लागेका सभामुखसामु अब दुई विकल्प छन । पहिलाे राजीनामा दिएर घटनाकाे छानबनका लागि बाटाे खाेलिदिने  र दाेस्राे महाअभियाेगकाे सामना गर्ने ।

राजीनामा दिएर बाटाे खुला गरे दाेस्राे विकल्पमा जानै पर्दैन । यदि राजीनामा नदिए महाअभियाेगकाे सामना गर्नु पर्ने छ । तर सभामुखलाई महाअभियाेग लगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग एक चाैथाइ संख्या पनि प्रतिनिधिसभामा छैन ।

त्यसैले महाअभियाेग लगाउन पर्ने अवस्था आए नेकपालाई पनि नैतिक संकट पर्ने देखिन्छ । नेकपाबाटै सभामुखमा चुनिएका महरालाई नेकपाकै सहयाेगमा महाअभियाेग लगाउनु पर्छ ।

बलात्कार जस्ताे आराेप लागिसकेपछि सभामुख पदमा बसिरहन महरामािथ डरलाग्दाे नैतिक संकट आएकाे छ । त्यसैले बिहानैबाट परामर्शमा रहेका महराले पहिलाे विकल्प अपनाउने श्राेतकाे दाबी छ ।  

पार्टीका दुबै अध्यक्षले समेत राजीनामा दिएर बाटाे खुला गरिदिन संकेत गरेपछि महराले मंगलबार नै राष्ट्रपतिकहाँ राजीनामा पठाउन सक्ने देखिएकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया