घाेराही उपमहानगरले यस वर्ष पनि आँखाका बिरामीकाे निःशुल्क शल्यक्रिया गर्ने

 साउन १८, २०८० बिहिबार १६:२२:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाले यस वर्ष पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले उज्यालो कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ मा आँखाकाे निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरेको हो ।

विगत छ वर्षदेखि उज्यालो अभियानअन्तर्गत घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, राप्ती आँखा अस्पतालसँग सम्झौता भई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुँदै आएको थियो । यस वर्ष पनि एक सय २५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता भएको राप्ती आँखा अस्पतालले जनाएको छ ।

साझेदारी कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले एसआईसीएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गर्ने अस्पताललाई प्रतिव्यक्ति आठ हजार रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै सेवा प्रदायकले मोतियाबिन्दुको फेको प्रविधिबाट शल्यक्रिया गराउनुपरेमा भने उपमहानगरले थप पाँच हजार रुपैयाँ दिने सम्झौतमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको साझेदारी कार्यक्रमअन्तर्गत अहिलेसम्म उपमहानगरले चार सय ९७ जनामा देखिएको मोतियाबिन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ । यस आर्थिक वर्षमा उपमहानगरले २० लाख रुपैयाँ छुट्याएको छ । यस्तै उपमहानगरले पहिलो चरणमा एक सय २५ जनाको शल्यक्रियाका लागि सम्झौता गरे पनि आवश्यक परे थप सहयोग गर्ने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया