वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाइ’ लोकार्पण

 साउन २७, २०८० शनिबार १७:२८:१५ | रासस
unn.prixa.net

काठमाण्डौ – वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, दुई सय रुपैयाँ घुस, हाम्रै हो लिम्पियाधुरा, सुशीला, सरकारी पत्रकार, चर्पी नबनाउनेको घरमा चिया खान्न म, जेल जीवन र राजनीति, चुनाव, गाउँको विकास, पत्रकार, उहिले बाजेको पालामा, लोभी पशुपति, राजासँगका भ्रमणलगायत अनुभूति समेटिएका छन् ।

पुस्तक लोकार्पण गर्दै मानवअधिकारकर्मी गौरीशङ्करलाल दासले पुस्तकले भैरव भाइको जीवनलाई उजागर गरेको जनाउँदै उहाँले जीवनमा प्राप्त गरेको उपलब्धि पुस्तकमा समेटिएको बताउनुभयो।

अधिकारकर्मी दासले भैरव रिसालसँगको अनुभूति स्मरण गर्दै भन्नुभयो, ‘म र भैरव भाइ सँगसँगै काम गरेका थियौँ हाम्रो पुरानो सम्बन्ध छ । पुस्तकमार्फत् उहाँले जीवनको भोगाइ समेट्नुभएको छ।’

वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ व्यक्तित्वबाट पुस्तक लोकार्पण गराउनुभएको थियो । मानिसको  जिन्दगी कर्कलाको पातको पानी जस्तो भएको उल्लेख गर्दै उहाँले जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने बताउनुभयो । आफूले पुस्तकमार्फत् जिन्दगीको अनुभव साटेको उहाँको भनाइ थियो । 

दलित अधिकारकर्मी राम वादीले रिसाललाई दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा संस्कृतिविद् डा गोविन्द नेपालीले रिसाललाई दीर्घायुको कामना गर्दै भोजपत्रको माला लगाइदिनुभएको थियो । भक्तपुर दधिकोटका सधियारे बालचन्द्र मिश्रले असारे भाकामा वरिष्ठ पत्रकार रिसाललाई शुभकामना दिनुभएको थियो ।

समारोहमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, राष्ट्रियसभा सदस्य वामदेव गौतम, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, एमाले सांसद रघुजी पन्त र सूर्य थापा, नेकपा मालेका महासचिव सिपी मैनाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ठ व्यक्तित्वले रिसालको सुस्वास्थ्य, दीर्घायु र सक्रिय जीवनको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसाललाई देशविदेशबाट प्राप्त शुभकामना सन्देशसम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया