परदेशमा हुनेहरुले आफूले गर्ने काम बारे परिवारलाई साँचो त कहाँ भन्छन र

 फागुन ११, २०७५ शनिबार १४:५०:४२ | मेरो कथा मेरो भोगाई

सुजन कार्की/रामेछाप ।

कोरियाको रोजगारी अहिले नेपालीको पहिलो रोजाइमा पर्छ होला । हुन पनि जहाँ कमाइ धेरै हुन्छ त्यहीँ नै त हो जान खोज्ने पनि । मैले पनि यही सोचेर कोरियन भाषाको परीक्षा दिएँ । मैले मेनीफ्याक्चर अर्थात औद्योगिक क्षेत्रमा जानका लागि परीक्षा दिएँ । पास पनि भएँ ।

सन् २०१४ मा म कोरिया पुगें । मेरो काम रक्सी बनाउने कम्पनीमा थियो । सामान्यतया त्यहाँ ८ घण्टा काम गर्नुपर्छ । त्योभन्दा धेरै काम गर्दा थप पैसा पाइन्छ अर्थात ओभरटाइमको थप पैसा आउँछ ।

मैले काम गरेको कम्पनीले दिनमा १३ घण्टासम्म काम लगाउँथ्यो तर पैसा चाहिँ ८ घण्टाको मात्रै दिन्थ्यो । त्यतिबेला मैले महिनामा १ लाख २० हजार रुपैयाँसम्म कमाउथें । काम गरे अनुसारको तलब नपाएपछि मैले गएको ५ महिनामा कम्पनी परिवर्तन गरें ।

एक जना चिनेको दाइ मार्फत म पानीजहाजमा रंग लगाउने काम गर्न गएँ । काम त त्यो पनि सजिलो थिएन । तर तलब राम्रो थियो । त्यहाँ हुँदा मैले महिनामा ३ लाख रुपैयाँसम्म कमाएँ । नेपालीहरुलाई कोरियामा दुई वटा कुराले गाह्रो हुने रहेछ ।

पहिलो भाषा । यहाँ जति नै पढेर गए पनि कोरियनहरुले बोलेको बुझ्न सकिने रहेनछ । केही समय त इशाराकै आधारमा काम गर्नुपर्छ । समस्या हुने अर्को कारण यहाँको काम गर्ने तरिका हो ।

नेपालमा हामी ८ घण्टा काम गर्छौं तर त्यही समयमा खाना, खाजा खाने अनि बिचमा आराम पनि गर्छौं । तर कोरियामा त्यस्तो हुँदैन । काम गर्ने ठाउँमा पुगेर सुरु गरेपछि ८ घण्टा काम गर्नुपर्छ । खाना खाएको, खाजा खाएको समय त्यसमा जोडिँदैन

मेसिनसँग काम गर्नेहरुले त पानी पिउन र पिसाब फेर्ने समय पनि पाउँदैनन् । अनि मेसिनसँग काम गर्दा मान्छेको ज्यान पनि मेसिन जस्तै चलाउनुपर्छ । त्यसैले कोरियामा कमाइ भएपनि मान्छे मेसिन नै बन्नुपर्छ । 

यस्तो बेलामा परिवारको साथ एकदमै महत्वपूर्ण हुन्छ । विदेश जानेहरुसँग पैसाको मात्रै कुरा गर्नु हुँदैन । त्यसले उसलाई तनावमा पार्न सक्छ । हामीसँग काम गर्ने एक जना दाइ यस्तै कुराले मानसिक समस्या नै पर्नुभएको थियो । त्यसैले यसमा परिवारले ध्यान दिनुपर्ने रहेछ । 

मैले यसरी नै दुई वर्ष काम गरें । दुई वर्ष पुगेपछि म बिरामी भएर घर फर्किएँ । घर नआउँदासम्म मैले बुवाआमा र आफन्तलाई काम ठिकै छ भनेको थिएँ । परदेशमा हुनेहरुले गाह्रो छ कहाँ भन्छन र । अनि भनेर पनि के गर्नु र ।

मैले पनि घर फर्किएपछि काम गर्दाको भिडियो देखाएँ । त्यो भिडियो देखेर मेरो मावलको हजुरआमा त रुनु नै भयो । मैले कोरिया जानुअघि त्यहाँबाट कमाएर फर्किएपछि गाउँमै कृषिमा लगानी गर्ने सोचेको थिएँ ।

५ वर्ष पुरै बस्न पाएको भए मेरो त्यो योजना सफल हुने थियो । तर बस्न पाइनँ । त्यसैले म फेरि कोरिया नै जाने तयारीमा छु । गएको वर्ष परीक्षा पास गरेर अहिले भिसा पर्खिरहेको छु । यो पटकको कमाईले खेतीपातीमा लगानी गर्ने सोच बनाएको छु । 

तपाईको प्रतिक्रिया