विदेशको सपना देखेपछि सबै कुरा बिग्रियो

 जेठ १०, २०७६ शुक्रबार १७:४५:२६ | मेरो कथा मेरो भोगाई

नजिम मन्सुरी, सुनसरी ।

मेरो १९ वर्षको उमेरमै बिहे भयो । दुई बालबच्चा पनि छन् । गाउँमा पाएको काम गर्थें । बिहान बेलुका खान पुगकै थियो । तर विदेशको सपना देखेपछि भने सबै कुरा बिग्रियो । 

विदेश जाँदा ठगीमा परियो । एजेण्टले पैसा मात्र ठगेन । मलाई नराम्रो काममा पठाएर दुःख पनि दियो । गाउँमै काम गरिरहेको थिएँ । एजेण्टले विदेशमा राम्रो काम र कमाइ हुन्छ भन्यो । मलाई पनि हो जस्तै लाग्यो । त्यसैले एक लाख रुपैयाँ उसलाई दिएँ । कतार गएँ । 

म २०७५ असोजमा कतार गएको हुँ । विल्डिङ कन्स्ट्रक्सनको काममा भनेर उसले पठाएको थियो तर सप्लाई कम्पनी रहेछ । त्यहाँ गएपछि मैले सडकमा काम गर्नुपर्‍यो । तातो घाममा ठूल्ठूला ढुङ्गा फोर्नेदेखि गैंती चलाउनुपर्‍यो । काम एकदम दुःख थियो । तै पनि गएपछि त गर्नै पर्‍यो नि । काम गरिरहेकै थिएँ । 

उसले यहाँ भनेअनुसारको केही पनि मिलेन । न काम न त तलब नै । साढे दुई महिना काम गरेको थिएँ । त्यसपछि मुदिर(म्यानेजर)ले भन्यो ‘यहाँ कम्पनी टुट्ट लाग्यो तिमी आफ्नो कम्पनीमा जाउ ।’

अब जाने कहाँ ? खाने पैसा पनि दिएको थिएन । ऋणमा सामान किनेर खाइरहेका थियौं । सयकडा तीन रुपैयाँ दरले काढेको एक लाख रुपैयाँको एक रुपैयाँ पनि ब्याज तिर्न सकिएन । 

म कामै नभएपछि डेढ महिनामा सात सय कतारी रियाल कमाएर फर्किएँ । यहाँ आएर जिल्ला प्रशासनमा गएर निवेदन पनि दिएको हो । तर म्यानपावरले अर्को देश पठाइदिन्छु भनेर कुरा मिलायो । 

त्यस्तो भनेको पनि यत्तिका महिना भइसक्यो कहिले पठाउने हो ठेगान छैन । मेरो दुई छोरी र श्रीमती छन् । उनीहरुका लागि पनि त खर्च जुटाउनुपर्‍यो । कुन दिन भिसा आउँछ र उड्छु भन्दै बस्ने त कुरै हुँदैन ।

उसले मलाई विदेश पठाउने लिएको पैसा मात्रै फिर्ता दिए पनि म ऋण तिरेर यहीँ काम गर्थें । तर त्यही पैसा अर्को देश पठाउँछु भन्छ । मलाई त्यसरी नै कुराइरहेको छ । ‘अहिले भिसा बन्द छ केही समय कुर अनि पठाउँछु रे ।’ उसले पहिले नै ठगेकाले मलाई विश्वास छैन । तर पैसा उठाउन भए पनि फेरि विदेश जानुपर्ने भयो । 

तपाईको प्रतिक्रिया