खाडीबाट प्रधानमन्त्रीलाई पत्र

 बैशाख १, २०७७ सोमबार १०:४१:१० | मेरो कथा मेरो भोगाई
unn.prixa.net

सम्माननीय प्रधानमन्त्रीज्यू,

यो विदेशी भूमिबाट हाम्रा समस्या लेख्दैछु । हाम्रा समस्या तपाईंले पढ्नुहुनेछ र विचार गर्नुहुनेछ भन्ने आशा लिएको छु ।

तपाईं देशको विकासमा लागिरहनुभएको प्रधानमन्त्री हो । तपाईंले अहिले देशमै रोजगारी सिर्जना गर्नुभएको छ । अहिले नेपालमा परिवार पाल्नकै लागि त जति पनि काम पाइन्छ । तर के गर्नु काँधमा ऋणको भारी बढेपछि हामी विदेशिनुपरेको हो ।

आजभन्दा ७ महिनाअघि म लगायत धेरै साथी यूएईको शारजाह भन्ने ठाउँमा आयौं, ईमिरेट्स क्याब भन्ने ट्याक्सी कम्पनीमा । 

खाना बस्न फ्री र १५ सय दिर्हाम तलब भनेको थियो । तर यहाँ आउँदा त्यस्तो केही पनि रहेनछ । गाडी पाएको दिनदेखि कम्पनीको कोठाबाट पनि निकालियो । हामी काम गर्दै गयौँ । महिनाको अन्तिममा तलब भने १ सय ८ दिर्हाम मात्र आयो ।

अब त्यति पैसाले कोठा भाडा तीनसय अनि खानाको तीनसय कसरी तिर्ने प्रधानमन्त्रीज्यू ? घरबाट  मगाउँ भने ऋणको भारी छ । 

हामी यहाँ यस्तो समस्या भोगिरहेका ४० जना नेपाली छौँ । नेपाल फर्किने प्रक्रियाको लागि हामीले तसिल अदालत र दुई, तीन पटक दूतावास पनि धायौँ । प्रधानमन्त्रीज्यू, हामी बस्ने ठाउँबाट  दूतावास जानै पनि तीनसय दिर्हाम भाडा लाग्छ ।

एकपटक त दूतावासबाट मान्छे आएर हाम्रो कम्पनीसँग वार्ता पनि भयो । सबैलाई नेपाल पठाउने सहमति पनि भयो र १० जना साथीहरु नेपाल पनि जानुभयो ।
अहिले हाम्रो भिसा रद्द हुने अवस्थामा छ । लकडाउनले गर्दा सबै बन्द छ । कोठाको भाडा तिर्न नसकेर हामीहरु राति पार्कमा सुत्छौं । खाना पाउने कुरै भएन, पानी खाएर धेरै रात पार्कमा बिताइसकेका छौं ।

कम्पनीको क्याम्पमा बस्न जाँदा सुरक्षा गार्ड लगाएर लखेट्छ । प्रधानमन्त्रीज्यू, अब हामी के गर्ने तपाईं नै भन्नुस् ।

एनआरएनको सहयोगले कोठाको भाडा तिरेर अहिले एउटा कोठामा १५ जना बसेका छौं । अब २० तारिखमा महिना पुग्छ । त्यसपछि के गर्ने केही टुङ्गो छैन । त्यसपछि फेरि हामी पार्कमै जान्छौं होला ।

प्रधानमन्त्रीज्यू, बरु हामी १४ होइन २० दिन क्वरेन्टीनमा बस्न तयार छौं, हामीलाई उद्धार गरेर नेपाल फर्काउनुस् । बुवाआमा हामीलाई कुरेर बसेका छन् ।  छोराछोरी बुवा आउने बाटो कुर्दै बसेका होलान्, प्रधानमन्त्रीज्यू हामीलाई यो नर्कबाट उद्धार गर्नुहोस् ।

सामाजिक सञ्जालमा सहयोगको लागि धेरै हारगुहार गरियो । तर कहिँबाट पनि सहयोग मिलेन । हामी कोरोनासँग भन्दा पनि आफ्नो प्राण बचाउनको लागि संघर्ष गरिरहेका छौं । 

हाम्रो समस्या र शारजाहको इमिरेट्स क्याबको हरकतको बारेमा दूतावासलाई सबै कुरा थाहा छ । तर उहाँहरुले केही पनि गरिरहनुभएको छैन । सबैलाई सहयोग गर्नको लागि बसेका छौं भन्नुहुन्छ, तर फोन पनि उठाउनुहुन्न । किन हामीलाई वास्ता नगरेको ? कि कतै कमिशन माग्ने त होइनन्, प्रधानमन्त्रीज्यू ?

यहाँ आएको दिनदेखि काम छैन, कोठा पनि छैन । न खानेकुरा छ, न त पासमा पैसा नै छ । अब हामीले कसलाई भन्ने, कति बोल्ने शब्द नै छैनन् । माग्दामाग्दा भिखारी जस्तै भइसक्यौं ।  

यो पहिलोपटक होइन विदेशमा आएको । धेरै पटक परदेशमा काम गरियो । केही पैसा घरमा पठाइयो केही राज्यलाई सहयोग गरियो । तर अहिले हामीलाइ मर्का पर्दा खै राज्यले हेरेको ?

हाम्रै करबाट खरिद गरिने वाइडबडी बीमा के पैसाको लागि मात्र उड्छन त आकाशमा ? के त्यो जहाजले हामीलाई आफ्नो देश लैजान मिल्दैन र प्रधानमन्त्रीज्यू ?
प्रधानमन्त्रीज्यू तपाईं पटकपटक जेलनेलका कुरा गर्नुहुन्छ । आन्दोलनमा लडेका कुरा गर्नुहुन्छ ।  तर के त्यो आन्दोलन तपाईं एक्लैले लड्नुभएको थियो र ?

वि.सं. २०१७ र २०३६ सालको आन्दोलनको आन्दोलनमा तपाईंहरु भन्दा अगाडि हिँड्ने हाम्रा हजुरबुवाहरु हुनुहुन्थ्यो । २०४६ सालको जनआन्दोलनमा हाम्रो बुवाहरु सडकमा ओर्लनुभएको थियो । त्यसैगरी वि.सं. २०६३, ६४ को जनआन्दोलनमा तपाईंहरुको अगाडि हामी उभिएका थियौं । प्रहरीका लाठी खाएका थियौं ।  देशको हरेक व्यवस्था परिवर्तन गर्नको लागि हामीले हाम्रो ज्यान दाउमा राखेका छौं । 

तर के आज आफ्ना सन्तान विदेशमा भोक प्यासले छटपटिउन् भनेर हाम्रा बुवाबाजेहरु आन्दोलनमा होमिएका थिए होलान् र प्रधानमन्त्रीज्यू ?

मैले बोलेको यो कुरा तपाईंलाई तीतो लाग्ला । भोको पेट, कोरोनाको त्रास र डरैडरको बसाइले नबोली चुप रहन सकिएन प्रधानमन्त्रीज्यू । चित्त नदुखाउनुहोला । सक्नुहुन्छ र तपाईं साँच्चिकै नागरिकको प्रधानमन्त्री हो भने हामीहरुले उद्धार गर्नुहोला । धन्यवाद ।

उही प्यारो देश नेपालको नागरिक

रमेश बुढाथोकी, इलाम हाल यूएई

 

1 Comments

  • Ishwor karki

    April 13, 2020, 1:18 p.m.

    म पनि कम्पनीमा फसेर बसेको छु , हामी नेपाल फर्कन चाहान्छौं जति सक्दो चाँडो /

तपाईको प्रतिक्रिया