‘परदेशमा ज्यानको भन्दा ऋणको पीर छ’

 बैशाख २, २०७७ मंगलबार १८:२३:१५ | मेरो कथा मेरो भोगाई

ईमानसिंह थापा, स्याङ्जा, हाल साउदी ।

अहिले म साउदीमा छु । साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । यहाँ कोरोनाको सङ्क्रमण बढ्दा मेरो मन भने दुई कुराको पीरले खाइरहेको छ । पहिलो परदेश आउन केही समय ढिलो गर्न पाएको भए ।

दोस्रो चाहिँ साहुको ऋणको पीर छ । म यही जनवरी २१ का दिन साउदी आएको हुँ । तर भाग्यमानीलाई जहीँ तहीँ, अभागीलाई कहीँ न कहीँ भनेजस्तै भएको छ । परदेशमा कमाउँला भनेर ऋणपान गरेर आइयो ।

तर यहाँ आउनसाथ कोरोनाको कहर सुरु भयो । केही समय काम गर्नासाथ कम्पनी बन्द भयो । ३५ दिन भयो, आज कोठामा बसेको । कम्पनीले बेतलबी बिदामा राखेको छ । खानको लागि भनेर जम्मा दुई सय साउदी रियाल दिन्छ ।

अहिले कोरोनाको जोखिम बढेसँगै यहाँ महङ्गी पनि उत्तिकै बढेको छ । दुई सय रियालले त हप्ता दिन खान पुग्छ । एक महिना कसरी टार्ने ? यस्तो महङ्गो सामान किनेर खाने कि नखाने दोधार हुन्छ । के गर्ने भनेर सोच्न पनि सक्या छैन ।

यहाँ हामी १७ जना नेपाली अप्ठेरोमा परेका छौं । हाम्रो गुनासो कसले सुन्ला ? भोलि खानै नपाएर भोकभोकै बस्नु पर्ने दिन आयो भने के गर्ने होला ? आउनेबेलामा पनि म्यानपावरले ठग्यो । एक लाख ३० हजार रुपैयाँ बुझाएर आएको हुँ ।

रहरले होइन बाध्यातले, म्यानपावरले भनेजति पैसा नबुझाए आउन नपाउने । यता आएपछि कोरोनाले के ग¥यो ग¥यो । कमाइ छैन के खाउँ भन्ने अवस्था आइसक्यो । यहाँ सुतेर, मनभरी पीर बोकेर दिन बिताउन परेको छ ।

उता साहुको ऋण बढिरहेको छ । म्यानपावरले पैसा फिर्ता दिँदैन । हामी परदेशीलाई सरकारले केही व्यवस्था गरिदिए हुन्थ्यो। यहाँ त गरिखानु न मरिजानु भनेझैं भयो । कोरोनाको डर त छँदैछ । तर ज्यानको भन्दा कोठामा बसिरहँदा ऋणको पीर छ हजुर ।

तपाईको प्रतिक्रिया