यूएईबाट १ सय ४८ जना काठमाण्डौ आइपुगे, आजै कतार, कुवेत र माल्दिभ्सबाट पनि नेपाली फर्कंदै

 असार ५, २०७७ शुक्रबार १०:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट १ सय ४८ जना यात्रु लिएर नेपाल एअरलाइन्स काठमाण्डौ आइपुगेको छ । यूएईमा समस्यामा परेका नेपालीलाई लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज केहीबेरअघि विमानस्थलमा अवतरण गरेको हो ।

आज फर्किएका सबैजना दूतावासको फारम भरेर प्राथमिकतामा परेकाहरु हुन् । यसअघि यूएईबाट आएका १६८ जना दूतावासले तयार गरेको सूचीभन्दा बाहिरकाहरु आएका थिए ।

फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । १० जना बिभिन्न रोगका कारण बिरामी र १० जना रोजगारदाता भागेपछि अलपत्र परेका श्रमिक र ३ जना ज्येष्ठ नागरिकसमेत रहेका छन् ।

गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् । फर्कने सबैजनाको विमानस्थलमा कोरोना जाँच गरिएको छ ।

गर्भवतीले तत्काल यात्रा गर्न नमिलेमा उनीहरुलाई काठमाण्डौमै व्यवस्था गरिएको आपतलकालीन क्वरेण्टीनमा राखिनेछ । तर होल्डिङ सेन्टरमा रहेको स्वास्थ्य यूनिटले यात्रा गर्न नमिल्ने अवस्थाको यकिन गर्नुपर्छ ।

जहाजमा एक जनाको शव पनि ल्याइएको छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव ल्याइएको हो । आजै साउदीको दमामबाट १५४ जना स्वदेश फर्किसकेका छन् भने आजै कुवेतबाट १५० जना, कतारबाट ४३ जना यात्रु र २० वटा शव लिएर कतार एअरवेज पनि आउँदैछ । यस्तै हिमालय एअरलाइन्स माल्दिभ्समा समस्यामा परेका नेपाली लिन मालेतर्फ उडिसकेको छ । जहाजले त्यहाँबाट १५० जना यात्रु ल्याउनेछ । जहाज साँझ मात्रै काठमाण्डौ आइपुग्नेछ ।

तपाईको प्रतिक्रिया