‘आफ्नो खर्चमा आउन नसक्नेलाई चाँडै ल्याउनेछौं, श्रम स्वीकृति खुलाउने विषयमा गृहकार्य भइरहेको छ’

 असार ९, २०७७ मंगलबार १५:०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोनाको जोखिम बढेसँगै विदेशमा कार्यरत नेपाली समस्यामा परे । समस्यामा रहेका नेपालीको स्वदेश फिर्ती सुरु भएको छ । तर अहिले आफैं टिकट काट्न सक्ने या कम्पनीले टिकट काटिदिएकाहरु फर्किरहेका छन् भने कतिपयलाई गन्तव्य देश आफैंले ल्याइदिइरहेको छ । टिकट काट्न नसक्नेहरु कसरी फर्कने भन्ने सन्दर्भमा सर्वाेच्च अदालतले वैदेशिक रोजगार काल्याणकारी कोषको रकम खर्च गरे ल्याउन आदेश दिएको छ ।  यही जोखिमकै बेला कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले फेरि वैदेशिक रोजगारी खुलाउने निर्णय पनि गरेको छ । टिकट नै काट्न नसक्ने नेपालीलाई कल्याणकारी कोषको रकममार्फत ल्याउन तयारी कहाँ पुग्यो त ? फेरि वैदेशिक रोजगारी खुल्ला गर्ने सन्दर्भमा श्रम मन्त्रालयले के काम गरिरहेको छ त ? यिनै विषयमा हामीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेसँग कुराकानी गरेका छौं ।

सर्वोच्चको निर्णयपछि विदेशबाट फर्कन टिकट काट्न नसक्ने अवस्थाका श्रमिकको स्वदेश फिर्तीका लागि केही प्रक्रिया अघि बढेको छ ?

विदेशबाट नेपाल आउनैपर्ने अवस्थामा रहेका वा अलपत्र अवस्थामा रहेकाहरु आउने क्रम सुरु भइसकेको छ । यही सन्दर्भमा सर्वोच्च अदालतले पनि श्रम स्वीकृति लिएर गएकाहरु यदि रोजगारदाताले टिकट नदिने अवस्था छ र आफैं आउन सक्ने अवस्था पनि छैन भने वैदेशिक रोजगार कल्याणकारी कोषको न्यायोचित प्रयोग गरेर यसको कार्यविधि बनाएर ल्याउन पनि अन्तरिम आदेश भएको छ । तदअनुरुप हामीले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय लगायत सम्बद्ध पक्षहरुसँग परामर्श गरेर यसलाई अन्तिम रुप दिने कार्य प्राथमिकतापूर्वक अगाडि बढाएका छौं । 

<

अब यो छिट्टै टुङ्गो लागिसकेपछि सर्वोच्चको आदेश अनुसार चाहिँ आयस्रोतको अवस्था र रोजगारीको प्रकृति हेरहेर कल्याणकारी कोषको न्यायोचित प्रयोग गर्नु भन्ने सर्वोच्चको आदेश भएकाले हामीले सम्बन्धित दूतावासमा यस्ता प्रकृतिका नेपालीहरु कति छन् र कस्तो अवस्थमा छन् भनेर विवरण संकलन गर्न भनिसकेका छौं । 

यसको प्रक्रिया, मापदण्ड, रकम र त्यसको भुक्तानीका कुराहरु सबै निर्धारण हुने गरी गृहकार्य अन्तिम चरणमा पुर्याएका छौं । अब हामीले छिट्टै सम्बन्धित निकायसँग छलफल गरेर यसलाई अन्तिम रुप दिएर सार्वजनिक रुपमा जानकारी गराउँछौं ।

आयस्रोत नभएका र विदेश गएर एक, दुई महिनामै अलपत्र भएकाहरुलाई नै कल्याणकारी कोषको प्रयोग हुने गरी व्यवस्था हुन्छ । यसमा परराष्ट्र मन्त्रालय र सम्बन्धित दूतावासको भनाइहरुलाई कसरी व्यवहारिक रुपमा कार्यान्वयन गरेर प्रभावकारी हुन्छ भन्ने कुरालाई हेरेर र योसँग जोडिएर आउने विभिन्न निकायसँग समन्वय गरेर कार्यविधि बन्छ ।

आइतबारसम्म ४ हजार १ सय भन्दा बढी नेपालीहरु आइसक्नुभएको छ । सरकाले ल्याउने व्यवस्थापन सुरु गरिसकेको छ । अब टिकट काट्नेसम्म पैसा नभएर समस्यामा परेकाहरुलाई पनि चाँडै ल्याउनेछौं, यतिका दिन धैर्य गरिहाल्नुभयो अब केही दिन धैर्य गर्नुस् । गन्तव्य देशमा पनि उहाँहरुलाई बस्न खानको व्यवस्था भइरहेको छ । आत्तिनुपर्ने केही छैन । तर आफ्नो विवरण सम्बन्धित दूतावासमा बुझाउन आग्रह गर्छु ।

यही जोखिमका बेला सीसीएमसीले फेरि वैदेशिक रोजगारी खुलाउने, श्रम मन्त्रालयको सिफारिसमा जान पाइने भन्ने निर्णय भएको छ, यसबारे प्रष्ट पारिदिनुस् न । कहिलेदेखि हो फेरि खुल्ने ?

यो विशेषतः विदामा आएका, भिसा भएको र श्रम स्वीकृतिको म्याद सकिएकालाई पहिलो प्राथमिकता दिए पठाउने गरी खुल्ला गरेको जानकारी आएको छ । त्यसमा नयाँ रोजगारीलाई पनि खुलेको भन्ने कुराको आशय परेको छ । हामी समन्वय गरिरहेका छौं । हामी तत्कालै यसबारे जानकारी गराउनेछौं ।

तत्कालै श्रम स्वीकृति खुलाउनको लागि हामीले यसका कार्यविधि र प्रक्रियाहरु निर्धारण गर्छौं । यसमा स्वास्थ्यको प्रोटोकल (मस्यौदा) पालना गरेर जाने भनिएको छ । यो विषय तीन, चारवटा कुरासँग जोडिएको छ । एउटा स्वास्थ्यको प्रोटोकल भन्नाले के कस्तो परीक्षणलाई निर्धारण गर्ने हो, जस्तो पीसीआर, आरडीटी वा अन्य परीक्षण भन्ने हुन्छ । दोस्रो कुरा जाने हवाइ उडानको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ । पर्यटन मन्त्रालयसँग समन्वय गर्नुपर्ने हुन्छ ।

कसैको श्रम स्वीकृति भएको वा भिसाको म्याद सकिएको अवस्था पनि छ । त्यसैले सम्बन्धित देशको दूतावाससँग र सम्बन्धित देशहरुसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । यी सबै कुरा समन्वय हुने गरी कार्य–प्रक्रियाहरु निर्धारण गरेर हामी जानकारी गराउँछौं ।

लकडाउन हुनुपूर्व बिदामा घर आएका र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा जान नपाउँदा रोजगारी गुम्ने भयो भन्ने गुनासो त यो निर्णयले सम्बोधन गर्ने भयो । तर जोखिमका बेला महामारी सक्किएकै छैन । स्वास्थ्यको हिसाबले कसरी पठाउने त नेपालीलाई विदेश ?

अहिले आंशिक रुपमा जनजीवन सामान्य रुपमा चलाउँदै लैजानुपर्ने अवस्था छ । कोरोना सङ्क्रामक रोग हो । यसो भनेर हामीले बाँच्नै छाड्ने, जीविका चलाउनै छाड्ने त होइन होला । विभिन्न देशका सरकारहरुले पनि क्रमशः लकडाउनलाई खुकुलो पार्दै सामाजिक, आर्थिक जीवनयापनलाई सञ्चालन गर्दै आएको अवस्था छ ।

जस्तो मलेसियामा सङ्क्रमणको दर निकै घटेको र त्यहाँको उद्योग व्यवसायहरु सामान्यिकरणतर्फ सञ्चालन गर्दै लगेको अवस्था छ । त्यसकारण हामीले जोखिम नहुने गरी वैदेशिक रोजगारीमा जाने कुरालाई व्यवस्थित गर्दै जानुपर्छ । सरकारले अहिले लकडाउनको अवधिमा पनि फ्लाइटहरु सञ्चालन गरेर एकदेशबाट अर्को देशमा पनि लैजाने ल्याउने गरिरहेको छ  ।

पहिलो कुरा आफ्नाे स्वास्थ्य अवस्थाकाे ख्याल राख्नपर्यो । सम्बन्धित देशमा वैदेशिक रोजागरीमा आउनेहरुको लागि क्वरेण्टीनको व्यवस्था होला  । त्योसमेत समन्वय गरेर वैदेशिक रोजगारीले हेर्नुपर्ने हुन्छ । त्यसैले वैदेशकि रोजगारीमा जान चाहनेहरुलाई श्रम स्वीकृति तथा रोजगारीको मात्र कुरा नभएर समग्र रुपमा सबै कुरालाई बुझेर कुनै पनि जोखिम नहुने गरी निर्णय गर्न हामी अनुरोध गर्छौं ।

तसर्थ यी सबै विषयमा दूतावासमार्फत हामीले समन्वय गर्न सुरु गरिसकेका छौं । गन्तव्य देशहरुले नेपाली कामदारहरु लिने कुरालाई सुनिश्चित गर्नुपर्यो र यसको कार्यप्रक्रियाहरु निर्धारण गर्ने जस्ता सबै पक्ष तयार पारेर अगाडि बढ्नुपर्ने देखिएको छ ।

(श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेसँगको यो कुराकानी कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ ।)

तपाईको प्रतिक्रिया