आज पाँच देशबाट स्वदेश आइपुगे ७८३ नेपाली, भोलि पनि नेपालीको स्वदेश फिर्तीका लागि पाँच उडान हुने

 असार ९, २०७७ मंगलबार १९:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज मंगलबार विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ७८३ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्कन नपाएका र रोजगारीका लागि गएकाहरु फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४४ जना नेपाली आज स्वदेश फर्किएका छन् । कतारमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो दोस्रो उडान हो ।

त्यस्तै आज पनि कुवेतको जजिरा एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्यहाँ आममाफीमा सहभागी १६० जना नेपालीलाई निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको छ । गैरकानुनी श्रमिकलाई आममाफीमा सहभागी गराएर कुवेत सरकारले दिनहुँजसो निःशुल्क रुपमा काठमाण्डौसम्म आफ्नै जहाजमार्फत पठाइरहेको छ ।

यस्तै आज बैंककबाट पनि ७८ जना स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत उनीहरु नेपाल फर्किएका हुन् भने आजै अस्ट्रेलियाको सिड्नीबाट पनि त्यहाँ रोकिएका नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड वाइडबडी जहाजमार्फत २५८ जना आज स्वदेश फर्किएका हुन् । फर्कनेमा आफन्त भेट्न अस्ट्रेलिया गएका अभिभावक रहेका त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । माल्दिभ्ससबाट १४३ जना स्वदेश फर्किएका छन् । 

यस्तै आज विभिन्न देशमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज नेपाली लिन जाने भएका छन् । केही देशका लागि जहाज उडिसकेका छन् भने केही देशमा जाँदैछन् । भोलि विभिन्न ५ देशबाट नेपाली स्वदेश फर्कनेछन् ।

विमानस्थलकाा अनुसार हिमालय एअरलाइन्समार्फत साउदीको दमामबाट भोलि १५४ जना स्वदेश फर्कनेछन् भने हिमालयकै चार्टर्ड उडानमार्फत भोलि नै यूएईको आबुधाबीबाट एक सय ५४ जना फर्कनेछन् । हिमालय एअरलाइन्सकै चार्टर्ड उडानमार्फत भोलि कुवेतबाट पनि १५४ जना नेपाली स्वदेश फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

भोलि साउदीको जेद्दाबाट पनि नेपालीहरु फर्कंदैछन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरु फर्कने तालिका रहे पनि कति नेपाली फर्कन्छन् भन्ने खुलाइएको छैन । इस्तानबुलबाट टर्किस एअरलाइन्समार्फत २८० जना फर्कने तालिका रहेको छ ।

नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज भोलि पाँच ठाउँमा नेपाली लिन जानेछन् । भोलि राति हिमालय एअर यूएईको आबुधाबी र कतारको दोहा जाँदैछ भने नेपाल एअरलाइन्स जापानको नारिता, कुवेत र साउदीको जेद्दा जाने उडान तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया