आज १ हजार नेपाली स्वदेश फर्किए, १६ वटा शव पनि ल्याइयो

 असार १२, २०७७ शुक्रबार १८:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् भने नेपाली लिएर आएको जहाजले १६ वटा शव पनि ल्याएको छ ।

मलेसियाको क्वालालाम्पुरबाट आजै सबैभन्दा धेरै नेपाली आएका छन् । १५ वटा शव पनि ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्लालाम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४ शवसहित २४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ नेपालीसहित एक शव स्वदेश ल्याइएको छ ।

यस्तै यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६८ जना स्वदेश फर्किएका छन् भने बहराइनबाट नेपाल एअरलाइन्सका दुई चार्टर्ड उडानमार्फत २७३ जना नेपाली स्वदेश आइपुगेका छन् । बहराइनबाट एक नेपालीको शव पनि पठाइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । भिसाको नियम उल्लंघन गरेका १६० जना पुरुषलाई कुवेत सरकारले नै जजिर एअरको चार्टर्ड जहाजमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो ।

कुवेतमा आममाफीमा सहभागी भएकाहरुको स्वदेश फिर्तीका लागि भएको यो ११ औं उडान हो । अहिलेसम्म आममाफीमा सहभागी १७ सय २५ जना नेपाल फर्किएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार जजिराले अब जुन २९ र ३० मा नेपाली लिएर आउनेछ । जजिराले दिनहुँजसो नेपाली लिएर आउने गरेकोमा केही दिन विशेष कारणले उडान स्थगित भएको राजदूत भण्डारीले बताउनुभयो । झण्डै तीन हजार नेपाली आममाफीमा सहभागी भएका छन्

यस्तै आज नेपाली लिन नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज विभिन्न देशमा गएका छन् । नेपाल एअरलाइन्सका जहाज हङ्कङ, अस्ट्रेलियाको मेलवर्न, यूएईको दुबई र साउदीको रियाद जाँदैछन् ।

हिमालय एअरलाइन्सको चार्टर्ड जहाज भने यूएईको आबुधाबी र साउदीको दमाम जाँदैछ । आज गएको जहाजले भोलि नेपाली लिएर फर्कने छ । नेपाली ल्याउन, लिन जान र कार्गो जहाजसहित आज त्रिभुवन विमानस्थलमा १६ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ ८ वटा उडान भएका छन् । भोलि विभिन्न ८ देशबाट नेपाली स्वदेश फर्कने तालिका रहेको विमानस्थलले जनाएको छ ।

यस्तै भोली शनिबार साउदीबाट नेपाली लिएर आउने जहाजले १६ वटा शव पनि ल्याउने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया