कोरोनाको कारण विदेशमा रोकिएका ८७ शव स्वदेश ल्याइयो

 असार १३, २०७७ शनिबार १२:२९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोनाको कारण विदेशमा रोकिएका ८७ शव स्वदेश ल्याइएको छ ।

विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै त्यहाँ रोकिएका शव पनि ल्याइएको हो । अहिलेसम्म सबैभन्दा धेरै शव मलेसियाबाट ल्याइएको छ । मलेसियाबाट ३१ वटा शव ल्याइएको छ । मलेसियापछि साउदी र कतारबाट २०/२० वटा शव ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कुवेतबाट ७ जना नेपालीको शव आएको छ भने यूएईबाट पाँच नेपालीको शव ल्याइएको बोर्डले जनाएको छ । बोर्डकाअनुसार बहराइनबाट ३ जना नेपालीको शव ल्याइएको छ भने ओमानबाट १ जना नेपालीको शव ल्याइएको छ । यो अवधिमा विदेशमा ज्यान गुमाएका ३ सय ३३ जनामध्ये १२६ जनाका परिवारले भने गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको हुँदा उतै सदगत गरिएको छ । अझै विदेशमा १२० नेपालीको शव बाँकी छ ।

अब साउदीमा सबैभन्दा धेरै शव बाँकी छ । साउदीमा अब ५९ शव छन् भने मलेसियामा २३ शव बाँकी छ । बोर्डका  अनुसार कतारमा ११, यूएईमा १४, कुवेतमा ५ र बहराइनमा १ जना नेपालको शव बाँकी छ भने अन्य देशबाट ७ वटा शव ल्याउन बाँकी छ ।

तपाईको प्रतिक्रिया