विभिन्न देशबाट ११ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किए, कुन देशबाट कति फर्किए  ?

 असार १४, २०७७ आइतबार १०:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबारसम्ममा विभिन्न देशबाट ११ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् ।

सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु गरेपछि चार्टर्ड उडानमार्फत ११ हजार ३ सय ७१ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । 

कोरोनाको कारण रोजगारी गुमाएका, समस्यामा परेका, बिरामी, गर्भवती, ज्येष्ठ नागरिक, भिसा सकिएका लगायतका प्राथमिकता छुट्टाएर नेपालीलाई स्वदेश ल्याउने काम भइरहेको छ । यो निरन्तर प्रक्रिया भएको र समस्यामा परेकालाई ल्याउने क्रम चलिरहेको प्रवक्ता पौडेलले बताउनुभयो । सरकारले पहिलो चरणमा अति नै समस्यामा परेका ३० देशबाट २४ हजार १४८ जनाको स्वदेश फिर्तीको लागि प्राथमिकता छुट्टाएको थियो । 

खाडीका देश र मलेसियासँगै अन्य विभिन्न देश अमेरिका, अस्ट्रेलिया, जापान लगायतका देशबाट पनि नेपालीहरु आइरहेका छन् । नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्ससँगै अन्य विदेशी जहाज पनि नेपाली लिएर आइरहेका छन् । 
आज पनि मलेसिया र कतारको दोहामा समस्यामा परेका नेपाली लिन हिमालय र नेपाल एअरलाइन्सका जहाज जाँदैछन् ।

नेपाल एअरलाइन्सको जहाज आज राति कतारको दोहा र मलेसियाको क्लालाम्पुर जाँदैछ भने हिमालय एअरलाइन्सको चार्टर्ड जहाज पनि नेपाली लिन मलेसिया जाने त्रिभुवन विमानस्थलले जनाएको छ । आज भने कुनै पनि देशबाट नेपाली फर्कने उडान तालिका छैन । 

कुन देशबाट कति फर्किए  ?

शनिबारसम्म सबैभन्दा धेरै कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किंएका छन् । यस्तै यूएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट १२ सय १८, मलेसियाबाट ९२१, बङ्गलादेशबाट ८१५, कतारबाट ६३८, माल्दिभ्सबाट, ६०४ जना, जापानबाट ४९२, अस्ट्रेलियाबाट २६९, बहराइनबाट ४२०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३१३ नेपाली स्वदेश फर्किएका हुन् । 

यस्तै, अमेरिकाबाट ४८३, दक्षिण कोरियाबट २२८, सिङ्गापुरबाट १४६, बेलायत २२९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६,  अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना नेपाली स्वदेश फर्किएका हुन् ।

1 Comments

  • prem bideha

    June 28, 2020, 11:13 a.m.

    समाचारको लागि धन्यवाद ! सरकारले पैसा लिएर ल्याएको हो कि निःशुल्क ? स्पष्ट गर्नुहोस् ।

तपाईको प्रतिक्रिया