आज खाडी र मलेसियाबाट १५ सय ३० नेपाली स्वदेश आइपुगे, सबैभन्दा धेरै कतारबाट

 असार १६, २०७७ मंगलबार १९:३०:५९ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज विभिन्न देशबाट १५ सय ३० जना नेपाली स्वदेश फर्किएका छन् । आज सबैभन्दा धेरै कतारबाट ४९८ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपाली ल्याउनको लागि विभिन्न देशबाट आठवटा उडान भएको छ ।

नेपाल एअरलाइन्सले कतारको दोहाबाट २६२ जना नेपाली ल्याएको छ । कतारबाट १० वटा शव पनि ल्याएको छ । यस्तै कतार एअरवेजमार्फत दोहाबाटै ९ बच्चासहित २३६ जना नेपाली स्वदेश आइपुगेका छन् ।

आज कुवेतमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि तीन उडान भएका छन् । तीन उडानमार्फत ४७१ जना स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४९ जना र कुवेत सरकारले नै त्यहाँ आममाफीमा सहभागी ३२२ जनालाई जजिरा एअरको दुई उडानमार्फत नेपाल पठाइदिएको हो ।

यस्तै आज नेपाल एअरलाइन्सकै चार्टर्ड उडानमार्फत यूएईको दुबईबाट एक बच्चासहित २६२ जना नेपाली स्वदेश आइपुगेका छन् । एउटा शव पनि ल्याइएको छ । नेपाल एअरलाइन्सकै चार्टर्ड उडानमार्फत मलेसियाको क्लालाम्पुरबाट १४६ जना स्वदेश आइपुगेका विमानस्थलले जनाएको छ ।

आज साउदीको दमामबाट हिमालय एअरको चार्टर्ड उडानमार्फत १५३ जना नेपाली स्वदेश आइपुगेका छन् । आजै नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्स खाडीका विभिन्न देशमा नेपाली लिन गएका छन् ।

नेपाल एअरलाइन्सका जहाज साउदीको रियाद र कतारको दोहा गएका छन् भने हिमालय एयरका जहाज यूएईको आबुधाबी र कतारको दोहा गएको विमानस्थलले जनाएको छ । यी जहाज त्यहाँ समस्यामा परेका नेपाली लिएर भोलि बिहान काठमाण्डौ आइपुग्नेछन् । आज नेपाली ल्याउन र लिन जान गरी १२ वटा अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ ।

भोलि कहाँ कहाँबाट आउँदैछन् नेपाली ?

भोलि बुधबार खाडीका देश र मलेसियाबाट १० उडानमार्फत नेपालीहरु स्वदेश फर्कनेछन् । विमानस्थलका अनुसार भोलि कुवेत, यूएई, मलेसिया, कतार र साउदीबाट नेपालीहरु स्वदेश फर्कंदैछन् । भोलि साउदीबाट दुईवटा उडानमार्फत नेपालीहरु फर्कनेछन्। साउदीको रियादबाट नेपाल एअरलाइन्स र दमामबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउनेछन् भने नेपाल एअरलाइन्स साउदीको जेद्दामा नेपाली लिन जानेछ ।

भोलि यूएईबाट तीन उडानमार्फत नेपालीहरु फर्कंदै छन् भने मलेसियाबाट एक उडानमार्फत नेपालीहरु आउनेछन् । भोलि कतारबाट हिमालय र नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपाली ल्याउनेछन् । कुवेतमा आममाफीमा सहभागी नेपाली जजिरा एअरको दुई उडानमार्फत नेपाल आउँदैछन् भने नेपाल एअरलान्स पनि कुवेतमा समस्यामा रहेका नेपाली लिन जानेछ ।

तपाईको प्रतिक्रिया