नेपालीको स्वदेश फिर्ती : विभिन्न ६ देशबाट थप ४२ उडान हुने

 असार २८, २०७७ आइतबार १६:५१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तेस्रो चरणमा नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न ६ देशबाट ४२ वटा उडान हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गएको जेठ ३२ गतेदेखि सुरु भएको स्वदेश फिर्तीको प्रक्रियालाई भोलि सोमबार र मंगलबार रोक्दै बुधबारदेखि एक हप्ताका लागि नयाँ उडान तालिका सार्वजनिक भएको हो।

नेपालीको स्वदेश फिर्तीका लागि हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स, फ्लाई दुबई, एअर अरेबिया, जजिरा एअर र मालिण्डो एअरले उडान अनुमति पाएका मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो।

उहाँका अनुसार हिमालय एअरले १६ वटा र नेपाल एअरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबियाले २, फ्लाई दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् । जजिरा एअरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ ।

नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मेलेसियाबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् । शनिबारसम्ममा विभिन्न देशमा समस्यामा परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गइ उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किएका छन् । विभिन्न एअरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्धार गरिएको हो ।

आज पनि विभिन्न देशबाट नेपालीहरु फर्कंदै छन् । तर भोलि र पर्सि भने उडान हुने छैनन् । ‘कुनै कारणले रोकिएको होइन, लामो समयदेखि उद्धार उडानहरु भइरहँदा, विमानस्थल सरसफाई, होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका थप व्यवस्थापन मिलाउनका लागि दुई दिन स्थगित गरिएको हो’ सहसचिव लामिछानेले भन्नुभयो ।

उहाँका अनुसार अब जुलाई २१ पछि विदेशमा रहेका नेपालीको स्वदेश फिर्ती नयाँ हिसाबले गर्नेबारे छलफल भइरहेको छ । नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् । कोरोना महामारीका कारण सरकारले नियमित हुने व्यवसायिक उडान साउन ७ गतेसम्म बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया