छोरा परदेशमा, घरमा बाआमा ऋण र पीरमा

 फागुन २६, २०७७ बुधबार १०:३७:१८ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – बाँसको भाटाले बारेको सानो घर । माटोले लिपेको भित्तो ।  घर वरपर सुकाइएका पुराना कपडा । आँगनमा भन्किरहेका झिङ्गा । आँगनको एकातिर छ पुरानो साइकल अनि अर्कातिर खाट । त्यही खाटमाथि बसिरहनुभएको छ मोहना(नाम परिवर्तन) । काखमा छिन् सानी नानी । 

निलो र हरियो रंग मिसिएको बुट्टे लुङ्गी, निलै रंगको चोलो । कपाल पनि धेरै दिनदेखि नकोरेको झैं गुजुमुजु परेको छ । अनुहार मलिन । 

मनमा शान्ति भए पो अनुहार उज्यालो हुन्छ । मोहनाको मनमा पीडाको आगो दनदनी बलिरहेको छ । न त मैलो भएको लुगाको वास्ता छ, न त गुजुमुजु भएको शिरको कपालको  । यतिबेला मोहनाको मनमा एउटै चिन्ता छ, परदेशमा अलपत्र परेको छोराको । अनि छोरो परदेशिएपछि भताभुङ्ग भएको आफ्नो सुन्दर परिवारको । 

कतिको घर आज पनि परदेशीकै कमाइको भरमा छ । आफ्नो मानिस कमाउन गएकै कारण परिवार सुन्दर भएको छ । तर मोहनाको घरको कथा भने ती आम मानिसको घरको भन्दा फरक छ । 

तिथि मिति याद छैन मोहनालाई । तर लगभग तीन वर्षअघि हो मोहनाको छोरा मलेसिया गएको । 

छोरा मलेसिया नजाँदासम्म घरमा सब ठिकठाक थियो । बुहारी थिईन् । काखमा लुटुपुटु गर्ने नातिनी अनि घर सम्हाल्ने छोरो पनि । तर त्यतिले मात्र पुगेन । मोहनाका छोराले परदेश जाने रहर गरे । 
साहुसँग ऋण काढे । तीन वर्षीय नातिनी र बुहारी मोहनाकै साथमा छाडेर मलेसिया उडे ।

छोरो मलेसिया गएपछि घरमा मोहनासहित बुहारी र नातिनी सबैजना महिला मात्र भए । कैलालीको ठाउँ । त्यसमाथि पनि भारतको सीमासँगै जोडिएको छ मोहनाको गाउँ । 

घरमा महिला मात्र देखेपछि गाउँ समाजबाट नै मोहनाले फरक व्यवहार सहनु पर्‍यो । 

घरकी बुहारीमाथि रक्सी खाने गाउँका केही युवाले आँखा गाडे । मोहना, बुहारी र आफन्त मिलेर उनीहरुसँग लडे । तर हार मोहनाकै भयो । गाउँ पञ्चायतलेसमेत उनीहरुलाई नै दोषी देख्यो । 
‘महिलालाई मात्र समाजमा गाह्रो रहेछ, मेरो बुहारीलाई जिस्काउने, रक्सी खाएका केटाहरुले घर अघिल्तिरै आएर नराम्रो व्यवहार गर्ने गर्न थाले,’ मोहना त्यो नमिठो क्षण सम्झंदै भन्नुहुन्छ, ‘गाउँकै मानिसबाट बच्न गाह्रो भयो हामीलाई ।’

मानिसका गलत नजरबाट बच्न मोहनाकी बुहारीलाई गाह्रो हुन थाल्यो । एक्लै देखेर हेपे या गरिब देखेर त्यो त थाहा छैन मोहोनालाई । तर त्यही गलत नजरले नै सुन्दर घर तहसनहस बनाइदिए । 

रक्सी खाएका केटाले आँगनमै आएर दुव्र्यवहार गर्न थालेपछि मोहना आफैंले गाउँ पञ्चायत पनि बोलाउनुभयो । तर पुरुषहरुको जमातमा दुई महिलाको आवाज बिलीन भयो । 

दिनमा देखेका सपना कतिबेला टुट्छन् के पत्तो । मोहनाका सपना र सुन्दर घर पत्तै नपाइ भताभुङ्ग भयो ।

‘गाउँ पञ्चायतले पनि तिमीहरु नै सही भएर बस, तिमीहरुको गल्ती छ भन्यो,’ मोहना प्रश्न गर्नुहुन्छ, ‘के घरमा महिला मात्र बस्नु गल्ती हो र ?’
पञ्चायतको निर्णय, गाउँसमाज, आफ्ना र आफन्तैले गरेको हेलाँहोचो र रक्सी खाएर आँगनमै आइपुग्ने केटाहरुसँग लड्न नसकेपछि मोहनाकी बुहारी माइत गइन् । 

बुहारी साथैमा हुँदासम्म आइपरेका दुःखसुख सँगसँगै लड्न सजिलो थियो । आँट आउँथ्यो । तर गाउँलेले हेलाँहोचो गरेकै बेला, परदेशमा रहेको छोरो पनि रिसाएकै बेला, आफूले आफूलाई कमजोर र निर्धो ठानिरहेको बेला साथमा भएकी एउटी बुहारी पनि हिँडेपछि मोहनाको हिम्मत नै टुट्यो । 

सपना त उहाँका पनि थिए । छोराले कमाएर पठाओस् । नातिनीलाई राम्रो स्कुल पढाउन तथा बुहारी र आफू मिलेर घरव्यवहार अघि बढाउन पाइयोस् । तर दिनमा देखेका सपना कतिबेला टुट्छन् के पत्तो । मोहनाका सपना र सुन्दर घर पत्तै नपाइ भताभुङ्ग भयो ।

बुहारी घर छाडेर हिँडेको दिन दिउँसै राती झैं लाग्यो मोहनालाई । बुहारी भए पनि मोहनाका लागि छोरी समान थिइन् । 

‘मेरो छोराले जहिले भन्थ्यो, आमा मलाई जत्तिकै बुहारीलाई नि माया गर्नु,’ मोहना भन्नुहुन्छ, ‘बुहारी बाहेक को पो थियो र म उसलाई हेलाँ गर्नु, उसले नै छाडेर गएपछि मलाई घरीघरी त मरौंजस्तो लाग्छ । तर नातिनी छ, मर्न आँट आउँदैन ।’

बुहारीको निर्णय गलत लाग्दैन मोहनालाई । रिस त उहाँलाई गाउँ, समाज र पञ्चायतसँग उठ्छ । बिग्रेको घर व्यवहार बनाइदिनुपर्ने पञ्चायतले नै आफ्नो घर बिगारिदियो भन्ने लाग्छ उहाँलाई । 

अनि पर्‍यो मनमा पीर

नातिनी छाडेर जब बुहारी माइत गाइन, तब मलेसियामा छोराले पनि कम्पनी छाडे । काम नै नगरी पीर मात्र गरे । 

‘छोरालाई मैले कति सम्झाएँ, तैंले सुनाएजस्तो बुहारीले केही गरेको छैन, अरुको कुरा नसुन भनेको हुँ, तर उसलाई पनि खै के पीर पर्‍यो, छोरा पनि पागलजस्तो भइहाल्यो,’ मोहना भन्नुहुन्छ ।
बुहारी माइत गएपछि मोहनाको हाल पनि उस्तै भयो । रातभरी निद्रा लागेन । दिउँसो हातमा काम आएन । 

चार वर्ष लागेकी नातिनी घरीघरी आमा सम्झेर रुन्थिन् । अनि मोहना पनि उनकै आमालाई सम्झेर सँगसँगै रुँदै दिन कटाउन थाले । 

मलेसियामा छोराको अवस्था पनि दिनदिनै कमजोर हुँदै गयो । कम्पनी छाडेपछि कोरोना आयो । महिनौं काम बिहिन  हुन पर्‍यो । विस्तारै नेपाल आउने जहाजहरू चल्ने थाले । तर कम्पनी छाडेपछि गैरकानुनी भएका मोहनाका छोरालाई घर आउन पनि समस्या भयो । 

‘जहिले फोन गर्दा पनि आमा मलाई नेपाल फर्काउ भन्छ म के गर्नु,’ मोहना भन्नुहुन्छ, ‘जुन दिनदेखि बुहारी यो घरबाट गइ त्यस दिनदेखि मेरो आँखा ओभाएका छैनन् ।’

अहिले पनि शब्दभन्दा पहिले मोहनाको आँखाबाट आँसु नै खस्छन् । हातखुट्टा र शरीर थरथर काँप्छन् । 

बुहारी माइत बस्न थालेको एक वर्षभन्दा धेरै भइसक्यो । छोरो मलेसियाबाट आउन सकेका छैनन् । साथमा नातिनी छन् । उनको जिम्मेवारी, मलेसिया अलपत्र परेको छोराको पीर र माइत गएकी बुहारीको सम्झनामा मोहनाको मन भारी छ । 

भात पकायो रुच्दैन । सुत्न ओछयानमा पल्टियो निद्रा लाग्दैन । कहिलेकाहीँ त आखा झिमिक्क पनि नगरी उज्यालो हुन्छ । 

थाहा छैन कहिलेसम्म यो दुःख झेल्नुपर्छ । तर मोहनालाई कहिलेकाहीँ त पीरैपीरमा ढल्छु कि जस्तो लाग्छ । 

‘मन कतै पनि भुल्दैन, आत्तिन्छ, के गरौं, कहाँ जाउँ, कसरी यी समस्या सुल्झाउँ भन्ने कुरा मात्र मनमा खेल्छ,’ मलिन स्वरमा मोहना बोल्नुहुन्छ, ‘मेरो घर त आँसुकै आहाल भयो ।’

मलेसियामा अड्किएको छोरो घर आइदिए हुन्थ्यो जस्तो लाग्छ उहाँलाई । छोरो आए आफ्नो दुःख सुनाउँथे, बुहारी गलत छैन भनेर सम्झाउँथें भन्ने छ मोहनालाई । 

थाहा छैन कहिलेसम्म यो दुःख झेल्नुपर्छ । तर मोहनालाई कहिलेकाहीँ त पीरैपीरमा ढल्छु कि जस्तो लाग्छ । 

आजकाल त बिहान बेलुका खान पनि धौधौ छ । थोरै भए पनि खेत छ । धान त खान पुग्ने फल्छ । तर चामल मात्र भएन । तरकारी पनि चाहियो । त्यसका लागि कमाउनैपर्छ । 
तर मलेसिया गएको छोरो बिचल्लीमा छ । आफैं ज्याला मजदुरी गरौं न त भन्दा पनि नाडीमा दम छैन । 

मोहना भन्नुहुन्छ, ‘छोराले कमाएर ल्याउँछ होला भनेर पठाएको, आज यो दिन देख्न पर्‍यो, पीरै पीरले ज्यान खाने भयो ।’

जब छोराले फोन गर्न छाडे

आफ्ना सन्तानको सधैं खुसी खोज्ने बुवा आमालाई कहिलेकाहीँ तिनै सन्तानले गरेका ससना कामले असाध्यै चोट दिन्छ । बुवाआमाले जस्तै सन्तानले पनि बुवाआमाको खुसी चाहेको भए सर्लाहीकी देवीले बुढेसकालमा धरधरी रुनु पर्दैन थियो । साहुको धम्की र किचलो सहनु पर्दैनथियो ।

१ लाख ७० हजार ऋण काढेर कतार पठाएको जेठो छोरो १६ महिनामा रित्तो हात फर्किए । एक देशमा नराम्रो भए पनि अर्को देशमा राम्रो हुने आशमा फेरि उहाँले छोरालाई कुवेत पठाउनुभयो । तर उहाँको यो आशा निराशामा परिणत भयो । कमाएर छोराले ऋण तिर्ला भन्ने आशमा बस्नुभएकी देवीलाई छोराको खबरसमेत आउन छाड्यो । 

‘ऋणको पीर त एकातिर छ, कमाउने भएपछि आफ्नै सन्तानले बेवास्ता गर्दा कस्तो हुन्छ, उनीहरुलाई के थाहा, देवी गुनासो गर्दै भन्नुहुन्छ, ‘हामीले पनि सोचेको त उनीहरुकै भविष्य हो, हाम्रो लागि त के पो चाहिन्छ र ।’

‘छोराले कमाएर पठाउला भनेर नै त ऋण काढेर पठाएको हुँ, तर हाम्रो ख्याल नै नगरी छोरोले फोन नै नगर्ला भन्ने त के थाहा,’ देवी भन्नुहुन्छ ।

ऋण तिर्ने विकल्प कुनै नभएपछि देवीले पढिरहेका कान्छो छोरालाई फेरि १ लाख ४० हजार ऋण काढेर कतार पठाउनुभयो । जेठाले निराश बनाए पनि कान्छो छोराले ऋण तिर्ने देवीको अपेक्षा थियो । 

कान्छो छोराले केही समय पैसा पठाए पनि । तर विस्तारै कान्छो छोराले पनि पैसा पठाउन छाडेपछि भने देवीका हरेक आशा निराशामा परिणत भए । ऋण र दुई छोराको पीरले  देवीको मनमा पीर, चिन्ता र डरले भरियो । 
रातभरी निदाउन छाड्नुभयो । आफ्नै सन्तानले दिएको धोका कसलाई सुनाउनु । आफ्नो हात पाखुरा चल्दैनन् । लाखौं रुपैयाँ ऋण कहाँबाट तिर्नु ।

‘ऋणको पीर त एकातिर छ, कमाउने भएपछि आफ्नै सन्तानले बेवास्ता गर्दा कस्तो हुन्छ, उनीहरुलाई के थाहा, देवी गुनासो गर्दै भन्नुहुन्छ, ‘हामीले पनि सोचेको त उनीहरुकै भविष्य हो, हाम्रो लागि त के पो चाहिन्छ र ।’

मनको रोगी भएका परदेशी र परिवारलाई सामीको साथ

मोहना र देवी त उदाहरण मात्र हुन । उनीहरुजस्तै थुप्रै परदेशीका परिवारले यस्तो समस्या भोग्नु परेको छ । वैदेशिक रोजगारी सोचेजस्तो नहुँदा परदेशीका परिवार मात्र होइन परदेशी स्वयं पनि मानसिक समस्या झेलिरहेका छन् ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीमार्फत नेपालका ३९ जिल्लामा १५६ पालिकामार्फत मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एउटा पालिकामा एकजना तालिमप्राप्त मनोपरामशकर्ता छन् । उनीहरुले नै गाउँगाउँमा गएर यस्ता समस्या भएका घरपरिवार पहिचान गरेर मनोपरामर्श दिने संयोजक प्रधानले बताउनुभयो ।

यो कार्यक्रममार्फत यस्तै मनोसामाजिक समस्या झेलिरहेको परदेशी र परिवारलाई परामर्श दिने काम हुन्छ । वैदेशिक रोजगारीकै कारण अहिले मानिसमा चिन्ता बढ्ने, निद्रा नलाग्ने, आत्महत्या गर्ने जस्ता जटिल समस्याहरु पनि बढ्दै गइरहेको छ ।

त्यसैले गाउँगाउँमा परदेशी र परिवारले भोगेका यस्ता समस्यालाई सम्बोधन गर्न मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुहुन्छ सामीकी एमआरसी तथा मनोसामाजिक परामर्श कार्यक्रम संयोजक रोनी प्रधान ।


उहाँका अनुसार, १५६ पालिकामध्ये अधिकांश अर्थात ९४ प्रतिशत पालिकामा यो कार्यक्रम लागू भइसकेको छ भने ६ प्रतिशत पालिकामा मनोसामाजिक परामर्शकर्ता भर्नाको काम अगाडि बढिसकेको छ ।

यो कार्यक्रम सम्बन्धित पालिकाले नै लागू गरेका छन् । एउटा पालिकामा एकजना तालिमप्राप्त मनोपरामशकर्ता छन् । उनीहरुले नै गाउँगाउँमा गएर यस्ता समस्या भएका घरपरिवार पहिचान गरेर मनोपरामर्श दिने संयोजक प्रधानले बताउनुभयो ।

नियमित परामर्शपछि थुप्रै व्यक्तिहरुले मनोसामाजिक समस्यालाई जितेको उहाँको भनाइ छ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया