भूकम्पको मनोवैज्ञानिक असर कायमै : संयमता अपनाउन आग्रह

 पुष २४, २०८१ बुधबार ७:७:४४ | रासस
unn.prixa.net

काठमाण्डौ – हिजो बिहान गएको भूकम्पको धक्काले धेरैलाई गोरखा भूकम्पको सम्झना दिलाएको छ । चीनको सिजाङ्ग प्रान्तको दिङ्गे काउन्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्निच्युडको भूकम्प नेपालमा काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा महसूस गरिएको थियो ।

ललितपुरको पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा.वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको, सामान्य भूकम्पको महसूस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने देखिएको बताउनुहुन्छ ।

भूकम्पलगायतका विपद्का घटनाले जनधनको क्षति मात्रै नगर्ने, यसले मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्न सक्ने मनोरोग विशेषज्ञ कार्कीको भनाइ छ । विशेषगरी भूकम्पको अनुभव गरेका व्यक्तिमा मनोवैज्ञानिक त्रास धेरै हुने भएकाले संयमता अपनाउन उहाँको सल्लाह छ ।

सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक रहेकोमा उहाँको जोड छ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको सन्देश प्रवाह नगर्न आग्रह गर्नुभएको छ । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको अवस्थामा आधिकारिक सूचना मात्रै ग्रहण गर्न उहाँको आग्रह छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा.अधिकारीले भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के–के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले ठूलो भूकम्पपछि परकम्पहरु आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई ख्याल गरी तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया