अमेरिका जाने प्रयासमा ८० लाख डुबेपछि व्यावसायिक बाख्रा पालन, भन्छन्– ‘पैसा कमाउनकै लागि विदेशिनु पर्दैन’

 चैत ३, २०७७ मंगलबार १६:४०:१५ | प्रताप बानियाँ

म्याग्दी – जीवनमा एक पटक विदेशी भूमिमा पाइला टेक्ने रहर सबैमा हुन्छ । त्यो रहरमा पनि कसैलाई विदेशमा कमाउनु पर्ने बाध्यता हुन्छ भने कोहीको घुम्ने । तर नेपालमा घुम्नका लागि भन्दा पनि बाध्यताले परदेशिने धेरै छन् ।

यस्तै बाध्यताकै कारण म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबराका कर्णबहादुर खड्काले नौ वर्ष विदेशी भूमिमा बिताउनुभयो । स्वदेशमा केही पनि काम पाइएन भन्दै बिदेसिनुभएका उहाँले सुरुमा ४ वर्ष साउदी बस्नुभयो । साउदीबाट फर्केपछि फेरि कमाउनकै लागि खाडीको अर्को देश कतार जानुभयो ।

कतारको बसाइले मात्र पुगेन । त्यसपछि उहाँले तीन वर्ष इराकमा पनि बिताउनुभयो । यी देशमा ९ वर्ष बिताउँदा उहाँमा परदेश मोह झन् जाग्यो । त्यसपछि भने कमाउनका लागि अमेरिका जाने योजना बनाउनुभयो । 

बोर्डरबाटै फिर्ता

तीन वटा देशमा कमाएको पैसाले जोडेको बेनीको एउटा घडेरी र पोखराको दुई वटा घडेरी बेचेर उहाँ अमेरिका जानुभएको थियो । तर बोर्डरबाटै फर्कनुपर्‍यो । अमेरिका हिँड्नुभएका कर्णबहादुरलाई मेक्सिकोमा पुगेपछि समस्या सुरु भयो । त्यहाँबाट तीन पटकसम्म अमेरिका छिर्ने उहाँको प्रयास असफल भयो । 

‘अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ गर्‍यो, अनि त्यहीबाट फर्काइदियो,’ उहाँले भन्नुभयो,‘राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ ।’

गैर कानुनी रूपमा मेक्सिको हुँदै अमेरिका छिर्न लाग्दा उहाँ पक्राउ पर्नुभएको हो । त्यहीबाट नै उहाँलाई नेपाल फर्काइयो । अमेरिकाको सुन्दर सपना देख्दा ८० लाख रुपैयाँ सकियो । तर रित्तो हात फर्कन पर्‍यो । त्यसपछि भने कर्णबहादुरले आफ्नै गाउँमा पशुपालन गर्न थाल्नुभयो । 

सुरुमा कुखुरा पालनबाट व्यवसाय थाल्नुभयो । तर यो व्यवसायबाट सोचेजस्तो भएन । कमाइको साटो उल्टो घाटा भयो । तर उहाँ हार्नु भएन । पहिलेदेखि नै आफूले गर्दै आएको बाख्रा पालन गर्न थाल्नुभयो । 

‘त्यतीका वर्ष विदेशमा बस्दा पनि केही भएन, ठुलो सपना देख्दा त्यही सपनामा डुब्न पर्‍यो,’ कर्णबहादुर भन्नुहुन्छ,‘जीवन अघि बढाउन केही त गर्नुपर्‍यो, त्यसमा मैले आफूले गरिआएको काम नै गरेँ ।’

सात लाख रुपैयाँ बैंकमार्फत ऋण लिनुभयो । बाँकी थपथाप गरेर १५ लाखमा उहाँले बाख्रा पालन व्यवसाय थाल्नुभयो ।

दिप्सन कृषि तथा पशुपन्छी फर्म दर्ता नै गर्नुभएको छ । फर्ममा अहिले ४० ओटा लोकल र बोयर क्रस जातका बाख्रा छन् । 

जोखिम कम गर्न उहाँले बाख्राको बिमा पनि गर्नुभएको छ । अहिले उहाँको दिन बाख्रासँगै बित्छ । विभिन्न ठाउँमा पुगेर बाख्रा किनेर ल्याउनुभएको छ । 

२२ रोपनीमा घाँस खेती

व्यावसायिक रूपमा बाख्रा पालन सुरु गर्नुभएका कृषक खड्काले २२ रोपनीको जग्गामा घाँस खेती गर्नुभएको छ । उहाँले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा जै घाँस र डाले घाँसका बिरुवाहरू लगाउनुभएको छ ।

उहाँले खाली जग्गामा सुपरनेपियर, रायखन्यु, ईपिल–ईपिल, सुडानलगायत डाले घाँसका बिरुवा लगाएको बताउनुभयो । धान रोप्ने खेतमा घाँस खेती गर्ने र घाँसको उत्पादन बढाउने उहाँको योजना छ । १५ रोपनी जग्गा आफ्नै र ७ रोपनी जग्गा भाडामा लिएर घाँस खेती गर्नुभएका खड्काले घाँसको बिउ उत्पादन गरी बिक्री गर्ने बताउनुभयो ।

बाख्रासँगै दुधालु भैंसी पालन

युवा कृषक खड्काले व्यावसायिक बाख्रा पालनसँगै दूध बिक्री गर्नका लागि दुई वटा मुर्रा जातका भैँसी पाल्नुभएको छ । उहाँले दैनिक ६ लिटर दूध म्याग्दी सदरमुकाम बेनी बजार तथा गाउँमै बिक्री गर्दै आउनुभएको छ । अहिले प्रतिलिटर दूधको बजार मूल्य एक सय २० रुपैयाँ रहेको छ । उहाँले महिनामा २० हजारभन्दा बढी दूध बिक्रीबाट आम्दानी गर्दै आइरहेको जानकारी दिनुभयो । 

व्यावसायिक बाख्रा पालन र भैंसी पालन गर्नुभएका युवा कृषक खड्काले उत्पादन गर्न सकेमा त्यसको बिक्री वितरणका लागि बजारको समस्या नभएको बताउनुभयो । व्यापारीहरू गोठमै बाख्रा खरिद गर्न आउने गरेको बताउँदै उहाँले उत्पादनतर्फ ध्यान दिएको बताउनुभयो । अहिले ४० ओटा बाख्रा पाल्नुभएका उहाँले त्यसलाई बढाएर १ सयसम्म पुर्‍याउने योजना रहेको सुनाउनुभयो । 

प्रदेश सरकारबाट आर्थिक सहयोग

व्यवसायिक पशुपालनमा लागेका युवा कृषकहरूको प्रोत्साहनका लागि सरकारले पनि आवश्यक सहयोग गरेको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीमार्फत साना व्यवसायी फर्म विस्तार तथा स्थापना कार्यक्रमअन्तर्गत युवा कृषकलाई सहयोग दिन थालिएको छ । जसअनुसार उहाँलाई पनि  बाख्राको खोर व्यवस्थापनका लागि दुई लाख रुपैयाँको कार्यक्रम परेको छ । 

युवा कृषकहरूको व्यवसाय बढाउन र उनीहरुलाई प्रोत्साहनका लागि संघ तथा प्रदेश सरकारमार्फत कार्यक्रमहरु आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक सुवास रेग्मीले बताउनुभयो । कर्णबहादुरलाई पनि  गएको वर्षदेखि बेनी नगरपालिकाको पशु शाखामार्फत खबराको राधाकृष्ण दूग्ध कृषि सहकारीलाई दिएको बोयर जातको बोका सहकारीले धेरै बाख्रा पालन गर्नेमध्ये छनोट गरेर उहाँलाई बिउ पुँजीका लागि दिएको छ । 

‘पैसा कमाउन विदेश जानुपर्दैन’

९ वर्षसम्म खाडीको देश र त्यसपछि अमेरिका जाने प्रयास असफल भएपछि गाउँ फर्किएर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका उहाँले पैसा कमाउन विदेश जान नपर्ने बताउनुभयो । उहाँले स्वदेशमा आफ्नै ठाउँमा विभिन्न पेसा, व्यवसाय गर्न सकिने बताउँदै भन्नुभयो, ‘पैसा कमाउनकै लागि विदेशिनु पर्दैन ।’  

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया