विदेशबाट फर्किएर आफ्नै देशमा पौरख गर्नेहरू भन्छन् : विदेश सम्झँदा पछुतो लाग्छ

 चैत ४, २०७७ बुधबार १६:१:१७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – कतिले भन्छन्, बितेका कुरासँग के पछुतो ।’ तर जब विगत वर्तमानसँग जोडिन्छ तब मानिस विगतसँग पछुतो मान्छ । कतिपय त्यही विगतलाई सम्झन्छन्, वर्तमान र भविष्यलाई आफूले सोचेजस्तै, खोजेजस्तै बनाउन लाग्छन् । 

त्यस्तै मध्येका एक हुनुहुन्छ, लालीगुराँस नगरपालिका ९ सोल्मा तेह्रथुमका राजकुमार तेयुङ् लिम्बू । राजकुमारलाई परदेशमा बिताएको समय सम्झँदा आज पछुतो लाग्छ । 

उहाँ भन्नुहुन्छ – ‘काम र कमाइ त नेपालमै रहेछ, मेरो ६ वर्ष अर्काको देशमा खेर गएछ ।’

हुन त आज उहाँको आफ्नै व्यवसाय छ । आफू मात्र हैन परिवार नै स्वरोजगार हुन पाएको छ । उहाँलाई आजसँग कुनै पछुतो छैन । तर परदेशमा बिताएको त्यो दुःख र समयसँग छ । 

राजकुमारको २०६४ देखि २०७० सालसम्म मलेसियामा बित्यो । मलेसियाको कोलालाम्पुको केलाङ्स्थित ‘फर्निचर कम्पनी’मा काम थियो उहाँको । परदेशमा काम नगरी पैसा कमाइन्छ भन्ने सोचमा जानु भएको थियो राजकुमार । तर परदेश देशमा हुँदा सोचेभन्दा फरक भयो । सुरुका दिनहरू निकै कष्टकर रूपमा बित्यो । 

पहिलो महिना त मात्र १२ हजार रुपैयाँ कमाइ भयो । आउने समयसम्ममा भने ८० हजार रुपैयाँ कमाइ हुन्थ्यो । परिवारसँग बिछोडिएर परदेशमा रहन मनले मानेन । अनि २०७१ मा नेपाल आउनुभयो । 

‘पैसा मात्र ठुलो होइन रहेछ, परिवार, आफन्त र छर छिमेकीको माया नै ठुलो रैछ, यही मायाको भोको भएँ र म नेपाल आएँ,’ राजकुमारले भन्नुभयो । 

विदेशबाट फर्केपछि उहाँले आफ्नै देशमा केही गर्ने योजना अनुसार होटेल व्यवसाय थाल्नुभयो । 

म्याङ्लुङ नगरपालिका १ तेह्रथुममा ‘इन्सेमा होटेल एण्ड लज’ सञ्चालन गर्नुहुन्छ राजकुमार ।  २०७५ सालमा दुई लाख रुपैयाँको लगानीमा यो काम थाल्नुभएको हो । 

होटेलमा परिवारका तीन जनाले पनि काम पाएका छन् । 

‘मेहनत गरे नेपालमा पनि कमाइ गर्न सकिँदो रैछ त, कमाई छ, सन्तुष्ट पनि छु, अहिले पो मलाई पछुतो लाग्छ,’ परदेशमा ६ वर्ष बिताएको समय सम्झँदा उहाँ दुखेसो पोख्नु हुन्छ ।

उहाँको अधिकांश समय सञ्चार, सङ्गीत र साहित्यिक क्षेत्रमा बित्छ । होटेल भने आमा, श्रीमती र छोरीको भरोसामा चलेको छ । राम्रो मुनाफा हुँदै थियो होटेलबाट । तर अचानक देशमा कोरोना महामारीका कारण लकडाउन भयो । यसको प्रत्यक्ष असर होटेलमा पर्‍यो । होटेल नचल्दा डेढ लाख घाटा भयो । यो समय भने उहाँलाई होटेल बन्द गरौँ झैँ लागेको थियो । तर अहिले ठिक छ । लकडाउन खुलेसँगै अहिले भने उहाँलाई सहज छ । 

महिनामा होटेल र कोठा भाडामा ३० हजार खर्च हुन्छ । खर्चको व्यवस्थापन गरेर केही रकम बचाउनु पनि हुन्छ । 

परदेश गएर कसैले पनि पछुताउन नपरोस् भन्ने लाग्छ राजकुमारलाई । युवालाई गाउँमै रोजगारको अवसर दिनु पर्छ भन्ने उहाँको सोच छ । अब बङ्गुर फाम सञ्चालनको तयारीमा हुनुहुन्छ उहाँ । २० वटा बङ्गुर राखेर फाम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको राजकुमार बताउनु हुन्छ । 

परदेशबाट फर्कँदा जब छिमेकीले चिनेनन्

राजकुमारलाई जस्तै पछुतो छ इलाम नगरपालिका १० गोदकका विक्रम सुन्दासलाई पनि । उहाँको १० वर्ष साउदीमा बित्यो । एसएलसी पछि उच्च शिक्षा हासिल गर्ने मन थियो । तर पढ्ने मनको रहरलाई पैसाले रोक्यो । आर्थिक समस्याका कारण मनको इच्छालाई कुल्चेर कलिलै उमेरमा परदेश जानु उहाँको बाध्यता थियो । 

१० वर्षपछि नेपाल आउँदा छिमेकीले यी बाबु को हुन्? भन्ने प्रश्न गर्दा उहाँ झस्किनु भएको थियो ।

‘पैसा मात्रै सबथोक होइन रहेछ, भावनात्मक सम्बन्ध बलियो नभए बाच्न गाह्रो हुने रहेछ, विक्रम भन्नुहुन्छ, ‘अहिले म आफ्नाको साथमा देशमै दुःख गरिरहेको छु ।’

साउदीको जुबेरस्थित ‘अलखोनाइनी पेट्रोलियम सर्भिस कम्पनी’मै उहाँको १० वर्ष बितेको हो । सुरुको महिना त उहाँले १६ हजार तलब पाउनुभयो । नेपाल आउने बेला भने पद बढ्यो । त्यसै गरी तलब पनि बढ्यो । महिनामा एक लाख छ हजार रुपैयाँ पुगेको थियो तलब । तर पनि उहाँ त्यो कमाइ त्यागेर नेपाल आउनुभयो । 

सोचे जस्तो कमाई छैन, तर परिवार, समाजको माया छ, अनि पसिना नेपालमै बगेको छ, मलाई यसमै गर्व छ,’ विक्रम भन्नुहुन्छ ।

अहिले नेपालमा उहाँ अध्ययन र सञ्चार कर्ममा व्यस्त हुनुहुन्छ । एसएलसीमै अड्किएको पढाई नेपाल आएपछि पुन अघि बढाउनुभएको छ । 

स्नातक दोस्रो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ अहिले । सँगै पढेका उहाँका १० जना साथी सरकारी जागिरे भए । उहाँको भने परदेशले पढाइ छुटायो ।

‘पढाई मात्र होइन मैले अवसर पनि छुटाएँ, नेपालमै रहन पाएको भए जागिर नखाए पनि पढाइ त पूरा हुन्थ्यो होला,’ उहाँ दुखेसो पोख्नुहुन्छ ।

विक्रमको लक्ष्य सञ्चार कर्मसँगसगै व्यवसाय गर्ने र युवालाई रोजगारीको अवसर दिने रहेको छ । इलाम नगरपालिका ८ मा उहाँको ‘अनीश’ टेलर छ । अहिले भने उहाँकी श्रीमती सङ्गीता चाहारले सञ्चालन गरिरहनुभएको छ । समय मिल्दा उहाँ पनि सघाउनु हुन्छ । ‘विदेशको १० वर्षको कमाइलाई नेपालमा तीन वर्षको कमाइले जित्यो, उहाँ आफैँसँग प्रश्न गर्दै भन्नुहुन्छ, ‘अनि म कसरी खुसी हुन सक्छु त परदेशमा ?’

विक्रम झैँ फेदाप गाउँपालिका १ तेह्रथुमका कृष्ण तामाङ पनि विदेश गएकोमा पछुतो मान्नुहुन्छ । आर्थिक समस्याका कारण पढ्दापढ्दै उहाँलाई विदेशिनुपर्‍यो । २०६९ मा मलेसिया जानुभएका उहाँको कमाइ राम्रो नै थियो । पहिलो वर्ष महिनामा ४५ हजार रुपैयाँ कमाइभयो । काम सजिलो थियो । नेपाल फर्कने समयमा महिनाको ८० हजार कमाइ गर्नुहुन्थ्यो । 

तर मेहनत बिना कमाउन सकिन्न भन्ने भएपछि भने उहाँ २०७१ मा नेपाल आउनु भयो । विदेश कहिल्यै नजाने सोच बोकेर । 

दुई वर्षको कमाई ऋण तिर्न र सवारी साधन किन्दैमा सकियो । उहाँ भन्नुहुन्छ, ‘ठोस उपलब्धि केही गरिन, समय चिनेँ, व्यवसाय गर्ने तरिका सिकेँ, अब भने यही ज्ञानलाई सदुपयोग गर्दै नेपालमा दुःख गर्न मन छ ।’

कमाइ कम तर सन्तुष्टि ज्यादा 

दाम भन्दा पनि नाम राख्ने रहर उच्च छ राजकुमारमा । उहाँ, सञ्चार गीतसङ्गीत र साहित्यमा अहोरात्र खट्नुहुन्छ । उहाँको तीन वटा गजल सङ्ग्रह प्रकाशित छन् । जुन २०६५, २०६९ र २०७१ मा प्रकाशित भइसकेका छन् । अब अर्को प्रकाशनको तयारीमा छ ।  

इन्द्र सुशिल र मनु नेम्वाङको आवाजमा रहेको ‘रातमा फुल्ने जुनेली’ बोलको गीतले बजार लिएपछि गीतसङ्गीतमा पनि उहाँको झुकाव बढेर गएको छ । बाँकी केही गीत रेकर्ड भएका छन् भने केही गीत रेकर्डको तयारीमा छन् । 

मलेसियामा पनि पत्रकारिता गर्नु भएका राजकुमार अहिले एफएम रेडियो मेन्छय्येम १०३.४ मेगाहर्जमा काम गर्नुहुन्छ । रेडियोमा उहाँ समाचार र मातृभाषाको कार्यक्रम उत्पादन र प्रसारण गर्ने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कमाइ कम छ तर पनि म सन्तुष्ट छु ।’ उहाँ २०७२ बाट एफएममा काम गर्न थाल्नु भएको हो । 

म्याङ्लुङ नगरपालिका १ मा रहेको एफएममा कार्यक्रम र समाचार मात्रै होइन व्यवस्थापकका रूपमा समेत काम गर्नुहुन्छ उहाँ । यसका साथै लालीगुराँस नगरपालिकाको प्रेस सल्लाहकारका रुपमासमेत काम गर्नुहुन्छ । 

भाषा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राजकुमारले सम्मान समेत प्राप्त गर्नु भयो । चोङबाङ स्मृति साहित्य पुरस्कार २०७६ बाट उहाँ सम्मानित हुनु भएको हो । उहाँ भन्नुहुन्छ, ‘जन्मभूमिको मायाले नेपाल नफर्किएको भए मैले गरेको कामको कदर कसरी हुन्थ्यो र,  अब आफ्नै गाउँ, आफ्नै जन्मभूमि हराभरा बनाउनुछ, पैसाभन्दा ठुलो आफन्त गाउँ र देश लागेकोले नेपालमै दुःख गर्ने लक्ष्य छ ।’

राजकुमार जस्तै इलामका विक्रम पनि आफ्नो काममा ज्यादै सन्तुष्ट हुनुहुन्छ । सञ्चार क्षेत्रमा सन्तोषजनक कमाइ हुँदैन । तर अपार आत्मसन्तुष्टि भने पाइन्छ । उहाँ भन्नुहुन्छ, ‘यसैमा आफ्नो भविष्य खोजिरहेको छु, मेहनत गरिरहेको छु ।’

अहिले उहाँ इलामको एफएम रेडियो चियाबारी एफएम ८८.२ मेगाहर्जमा कार्यरत हुनुहुन्छ । समाचार र कार्यक्रम उत्पादन तथा प्रसारणको जिम्मेवारी सम्हाल्नुहुन्छ । २०७५ बाट उहाँ एफएम रेडियोमा आबद्ध हुनुहुन्छ । ‘गाउँमा स–साना नानीहरूले ‘म विक्रम जस्तै बन्छु’ भनेको सुन्दा जति आत्मसन्तुष्टि अरु केहिमा पनि मिल्दैन, असाध्यै खुसी लाग्छ,’ उहाँ सुनाउनु हुन्छ ।

समय चिन्न र मेहनतको महत्व बुझ्ने हो भने, विदेश जानु नै राम्रो हो । दिगो प्रगति गर्ने भए विदेश नजान सुझाव दिनुहुन्छ उहाँ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया