‘हातमा सीप हुँदा पनि बेलैमा नसोच्दा दुःख पाएँ, एजेण्टको कुरामा विश्वास गर्दा ठगिएँ’

 चैत ९, २०७७ सोमबार ११:५९:२९

प्रभात कुमार वर्मा 

बारा – चित्त बुझाउन सकेको भए घरैमा बसेर परिवारसँगै खुसीकासाथ जीवनयापन गर्न सक्थे मुखतार मियाँ अन्सारी । तर छोराछोरीको राम्रो भविष्यको कल्पनामा भएभरको जग्गा साहूकोमा बन्दकी राखे । पैसा एजेण्टलाई बुझाए । अनि धन कमाउने आशको पोको बोकेर परदेशिए ।

हातमा सिलाइ कटाइको सीप थियो । देशमै केही गरौँ भनेको भए यहीँ पनि काम पाइन्थ्यो । तर सुन्दर भविष्यको सपनाले कतिको वर्तमान नै खल्लो बनाइदिन्छ । आज मुखतार मियाँलाई पनि यस्तै लाग्छ । हातमा सीप हुँदा पनि केही नसोची परदेश जाँदा भोग्नु परेका अनगिन्ती दुःख सम्झँदा पछुतो लाग्छ ।

 

सिम्रौनगढ नगरपालिकाका मुखतार मिया उमेरले अहिले ४८ वर्षको हुनुभयो । उहाँको जीवनको महत्त्वपूर्ण समय परदेशमै बित्यो ।

हातमा सिलाइको सीप । काम गर्दा गर्दै पोख्त हुनुभएका मुखतार आफ्नो काममा मास्टर भइसक्नुभएको थियो । तर देशमा हुने कमाइमा भन्दा विदेशमा हुने कमाइका बारेमा सुन्दा मन फेरियो ।

परिवारलाई अझै खुसी दिने र जग्गा किन्ने सपना बुन्दै पहिलो पटक सन् २०११ मंसिरमा मलेसिया जानुभयो । 

काम यहाँ भने अनुसार कै मिल्यो । नेपालमै गरेको काम परदेशमा पनि गर्न पाउँदा सजिलो नै भयो मुखतारलाई । तीन वर्षको करार पूरा गर्नुभयो । थप पाँच महिना बसेर स्वदेश फर्कनुभयो । 

घर फर्केपछि मुखतारले बिहे गर्नुभयो । त्यसपछि दैनिकी चलाउन उहाँ सिलाइकै काम गर्न थाल्नुभयो । 

दुई ज्यान मात्र हुँदा कमाइले पुग्दै थियो । तर तीन बालबच्चा भए । उनीहरू बढ्दै जाँदा कमाइ अपुग हुँदै गयो । मुखतारलाई लाग्यो एक पटक फेरि जान्छु विदेश । 

उहाँ फेरि मलेसिया नै जानुभयो । तर यसपालि भने परदेश बसाइ सोचेजस्तो भएन । पहिलो पटक जाँदाजस्तो सजिलो पनि भएन । भनेजस्तो काम नभएपछि १३ महिनामै मलेसियाबाट फर्कनुभयो । 

तर यति गर्दा पनि उहाँले आश मार्नुभएन । त्यही देश भए पनि अर्को काममा राम्रो होला भन्ने आसमा उहाँ पुन: मलेसिया नै जानुभयो । यसपालि भने भनेजस्तै भयो । काम पनि आफूले चाहेजस्तै मिल्यो । अनि कमाइ पनि । चार वर्ष बिताएर उहाँ घर फर्कनुभयो ।

तर जति कमाइ भए पनि घरमा सन्तान बढी हुँदा समस्या भयो । पाँच छोरी र तीन छोरा गरी आठ सन्तानका बुवा मुखतारले परदेश जाँदा बालबच्चालाई राम्रो शिक्षा दिने सपना पूरा भएन । कोहीले ६/७ कक्षा पढेर छाडे । कोहीले पढाइ छाडेर सिलाइको त कोहीले ग्रिलको काम गर्न थाले ।

मुखतारले हातको सीप अनुसार स्थानीय बजारमा आफैले पसल खोल्नुभयो । ३५ हजार मासिक कमाइ गर्न थाल्नुभयो । दुई छोरीको बिहे गरिदिनुभयो । छोरीको बिहे गर्दा भएजतिको बचत सकियो । मुखतारलाई घर चलाउनै धौधौ हुन थाल्यो । 

‘खर्च अहिले धेरै नै लाग्छ नि छोरीको बिहे गर्न, त्यसपछि त समस्या घर चलाउन समस्या भइहाल्यो,’ उहाँ भन्नुहुन्छ ।

उहाँको यही अभाव एजेण्टको आँखामा पर्‍यो । लुगा सिलाउने काममा विदेशमा महिनाको ९० हजार कमाइ हुने प्रलोभन देखाए । 

‘छिमेकी हुन् एजेण्ट, उनले कपडा सिलाउने देशमा पठाइदिन्छु भन्दा त मलाई नि जाउँ जस्तो लाग्यो,’मुखतारले फेरि परदेश जाने सोच पलाउनुको कारण बताउनुभयो ।

त्यसपछि उहाँले फेरि भएको १३ धुर घडेरी पनि साहुको नाममा बन्धकी राख्नुभयो । सयकडा चारका दरले ३ लाख रुपैयाँ ऋण लिनुभयो । यो पटक भने देश फेरियो । उहाँ यूएई जानुभयो । देश फेरिए पनि नियति फेरिएन । एजेण्टको कुरामा विश्वास गर्दा मुखतार ठगीमा पर्नुभयो । 

‘परिवारको माया, सन्तानको भविष्य आँखामा पट्टि लाग्यो, उसले मलाई ठग्यो, भिजिट भिसामा पो पठाएछ,’ रुँदै मुखतार भन्नुहुन्छ,‘मलाई त कसरी थाहा हुनु र के भिसा हो उसले ठगी पो गर्‍यो भनेर, थाहै भएन ।’

यूएईमा काम त मिल्यो  । तर तलब एजेण्टले भनेको र आफूले सोचेभन्दा निकै कम हुने भयो । 

‘काम गर्न थालेको दुई तीन दिन पछि त्यहाँ कम्पनीका मानिसले सोधे कि कति तलब हुन्छ, मैले २५ सयदेखि ३ हजार दिर्हाम हुन्छ भनेको छ भनेँ, दुःखी हुँदै उहाँ भन्नुहुन्छ,‘उसले भन्यो कि ८ सय दिर्हाम मात्र तलब हुन्छ, म त छांगाबाट खसेजस्तै भए नि ।’

त्यतिमा काम नगर्ने भए काम छोड्न सक्ने धम्की पनि दिए कम्पनीका मानिसले ।

आँखाभरि आँशु पार्दै मुखतारले नेपालमा आफूले गरिरहेको कमाइ सम्झनुभयो । मन पछुतोले भरियो । भएको जग्गा पनि साहुको नाममा सारेर आएको देशमा ८ सय दिर्हाम तलबमा कसरी काम गर्नु ? 

मुखतारले बरु घर नै फर्किने निधो गर्नुभयो । ‘साहुले ८ सयभन्दा दिन सक्दिन भनेपछि त्यहाँ रोएर बस्नुभन्दा आफ्नो देश फर्कन नै बेस लाग्यो,’ उहाँ भन्नुहुन्छ ‘साथीभाइसँग अलिअलि पैसा मागेँ, अनि टिकट काटेर  घर फर्किएँ ।’

घर फर्किएपछि न्यायको बाटो

घर फर्किएर मुखतारले एजेण्टसँग आफ्नो रकम फिर्ता माग्नुभयो । तर दुई महिना बित्दा पनि दिएनन् । एजेण्टकाे हप्काइले थाकिसक्नुभएका मुखतार एक आफन्तको साथमा कलैया उपमहानगरपालिका र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको साझेदारीमा सञ्चालित आप्रवासी श्रोत केन्द्रमा पुग्नुभयो । श्रोत केन्द्रले उहाँलाई आफ्नो समस्या प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष राख्नका लागि सहजीकरण गरिदियो । केन्द्रकै समन्वय र सीडीओको सक्रियतामा एजेण्टले तीन लाख रुपैयाँ मुखतारलाई फिर्ता दिए । 

‘आप्रवासी स्रोत केन्द्रले पहल नगरिदिएको भए एजेण्ट पक्राउ पर्ने थिएनन्, केन्द्रले मलाई ठूलो गुन लगायो,’ मुखतार केन्द्रलाई धन्यवाद दिनुहुन्छ ।

देशमै आफ्नो व्यवसाय थालिसक्नुभएका मुखतारलाई त्यतिबेला एजेण्टको कुरामा आँखा चिम्लेर  विश्वास गरेकोमा पछुतो लाग्छ ।

हातमा सीप हुँदा हुँदै पनि परदेशको सपनामा पाएको हण्डर सम्झँदा आफूसँग नै रिस उठ्छ । उहाँ भन्नुहुन्छ, ‘मैले त बेलैमा नसोचेर पछुताएँ, दुःख पाएँ, तपाईंहरू बच्नुहोस्, विदेश जानुअघि बुझेर मात्र जानुहोस् ।’

तपाईको प्रतिक्रिया