अन्तर्राष्ट्रिय उडान बन्द हुनुअघि विदेश जाँदै या स्वदेश फर्कँदै हुनुहुन्छ ? यी कुरा थाहा पाउनुहोस्

 बैशाख २२, २०७८ बुधबार १४:२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  तपाईँ वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ वा विदेशबाट फर्कँदै हुनुहुन्छ ? त्यसो हो भने कोरोना सङ्क्रमण नियन्त्रणका लागि पछिल्लो समय भएका निर्णय र पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिएर मात्रै यात्रा गर्नुहोस् ।

बिहीबार मध्य रातिदेखि नेपाल र भारतबीच बाहेकका सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने सरकारले निर्णय गरिसकेको छ । नेपाल भारतबीचमा भने हप्तामा दुई उडान हुनेछ । काठमाण्डौमा  निषेधाज्ञा लगाइएको छ । यो अप्ठेरो परिस्थितिकै बिचमा भोलि रातिसम्म तपाईँ विदेशबाट फर्कँदै हुनुहुन्छ या विदेश जाँदै हुनुहुन्छ भने यी कुरा जान्नुहोस् :

- काठमाण्डौमा निषेधाज्ञा जारी नै भए पनि विदेशबाट आउने व्यक्तिहरू सम्बन्धित पालिकामा जान पाउने छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको सूचना अनुसार काठमाण्डौ उपत्यकाबाट बाहिर जान सम्बन्धित पालिकाले १० दिन अनिवार्य क्वरेण्टीनमा राख्ने प्रतिबद्धतासहितको सिफारिसको आधारमा मात्र जाने दिने उल्लेख गरिएको छ । तर अन्तर्राष्ट्रिय उडानमार्फत स्वदेश फर्किएका नेपाली नागरिक भने टिकट, पासपोर्ट लगायतको कागजका आधारमा आफ्नो पालिका जान सक्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिनुभयो ।  सम्बन्धित पालिकामा पुगेपछि भने अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न पर्ने उहाँले बताउनुभयो ।

भोलि मध्यरातसम्म हवाई उडानमार्फत पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएकाहरु सिधै सम्बन्धित पालिकामा जान पाउने र पालिकाले लागू गरेको व्यवस्था अनुसार क्वरेण्टीनमा बस्न सकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलिसम्म नेपाल आइपुग्ने नेपाली नागरिकले काठमाण्डौमा होटेल क्वरेण्टीनमा बस्न पर्ने छैन । तर नेपाल र भारतबीच हप्तामा दुई दिन हुने हवाई उडानमार्फत नेपाल आउने यात्रुले भने काठमाण्डौमै तोकेको होटेल क्वरेण्टीनमा अनिवार्य १० दिन बस्न पर्नेछ । पीसीआर रिपोर्ट नभएका यात्रुहरू यात्रा गर्न  पाउनेछैनन् ।

 

- काठमाण्डौ उपत्यकासहित अहिले देशका विभिन्न जिल्लाहरूले कोरोना सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेका छन् । बाहिर जिल्लाबाट काठमाण्डौ प्रवेशमा पनि कडाइ गरिएको छ । तर अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।  यसबाहेक अन्य अत्यावश्यक कामका लागि काठमाण्डौ आउनका लागि सवारी साधन प्रयोग गर्न परेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिएर आउन पर्नेछ ।

- विमानस्थलमा भएको  ‘हेल्थ डेस्क’ले अन्तर्राष्ट्रिय उडानमार्फत आएका यात्रुको स्वास्थ्य जाँच गर्ने छ । स्वास्थ्यमा कुनै अप्ठेरो वा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएमा ‘हेल्थ डेस्क’ले नै थप समन्वय गर्छ ।

बिहीबार रातीसम्म हुने अन्तर्राष्ट्रिय उडानमार्फत आउने यात्रुले अन्य समयमा जस्तै स्वास्थ्यका मापदण्ड पालना गरेर सहज रूपमा स्वदेश फर्कंन सक्नेछन् । उडानमार्फत आएका गर्भवती महिला, बालबालिकाहरूलाई कुनै सहयोग या सहजीकरणको आवश्यकता भएमा पनि सधैँ झैँ आवश्यक सहयोग र समन्वय गरिने सहसचिव लामिछानेले बताउनुभयो ।

अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै वैदेशिक रोजगारीमा जान पनि रोकिनेछ । तर श्रम स्वीकृति भने रोकिएको छैन । अहिले अनलाइनमार्फत नै श्रम स्वीकृति लिन सकिने भएकाले पनि श्रम स्वीकृति रोक्ने या नरोक्ने भन्ने विषयमा छलफल हुनै बाँकी रहेको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले जानकारी दिनुभयो ।

‘हामी छलफल गर्दै छौँ, अहिले अनलाइनमार्फत नै श्रम स्वीकृति लिने व्यवस्था भएकाले पनि रोक्ने या नरोक्ने भन्ने विषय अहिलेसम्म टुङ्गो लागेको छैन, अनलाइनमार्फत श्रम स्वीकृति प्रदान भइरहेको छ,' उहाँले भन्नुभयो।

तपाईको प्रतिक्रिया