सुतेकै अवस्थामा किन गुमाउँछन् खाडीमा नेपाली श्रमिकले ज्यान ?

 बैशाख २३, २०७८ बिहिबार १५:५८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  खाडीमा कार्यरत कतिपय नेपाली बेलुका सुतेका थिए तर बिहान बिउँझिएनन् भन्ने थुप्रै खबरहरु सुन्न पर्छ । यस्तै अन्य विभिन्न कारणहरु छन् काम गर्न आएकाहरु बाकसमा फर्कने । तथ्याँक हेर्ने हो भने प्राकृतिक कारणले गर्दा ज्यान गुमाउनेको संख्या धेरै छ । त्यसपछि आत्महत्या गर्ने, सडक दुर्घटनामा र कतिपय नेपाली नागरिकको परदेशी भूमिमा हत्या पनि भएको छ ।

धेरैजसोको ‘न्याचुरल डेथ’ अर्थात प्राकृतिक कारणले ज्यान गएको भनेर उल्लेख गरिएको हुन्छ । यसको मतलब मुटुले काम गर्न छोडेमा वा स्वासप्रस्वासमा केही समस्या आएर रोकिएमा दुईतीन मिनेटमै ज्यान जान सक्छ । यसैलाई प्राकृतिक मृत्यु भनिन्छ ।

खाडीका देशमा यहाँ गर्मी धेरै छ । नेपाली श्रमिकहरु नेपालमा जस्तै खटिएर दिनभरी काम गर्नुहुन्छ । पसिना बगेको ख्याल गर्दैनन् । पसिना सँगसँगै हाम्रो शरीरमा भएको नुनको मात्रा पनि बगेर जान्छ । जसले गर्दा शरीरको रक्तचाप कम भइसकेको हुन्छ । त्यसैमाथि कतिपयको त रक्सी खाने बानी हुन्छ । दिनभरि काम गरेर बेलुकी रक्सी खाँदा त्यसले झन् शरीरमा बाँकी रहेको पानी र नुनको मात्रालाई पनि फालिदिन्छ । 

यसरी नुनको गडबडी र पानीको मात्रा कम भएपछि मुटुको चालमा समस्या आउँछ । जसको कारण ज्यान जान्छ । धेरै नेपालीको यही कारणले परदेशमा ज्यान गएको पाइन्छ । त्योबाहेक मुटुमा हुने समस्या हृदयघात र स्वासप्रस्वासमा समस्या आएर पनि हुन्छ ।

यस्तै खाडीमा काम गर्ने धेरै नेपाली श्रमिकहरुमा मृगौलाको समस्या पनि देखिएको छ । यहाँ काम गर्ने पाँच जनामा एक जनामा मृगौलाको पत्थरी भएको पाइएको छ । पिसाबको नली हुँदै पानी बाहिर बग्नुपर्ने हुन्छ । पानी प्रशस्त मात्रामा बगेन भने पिसाबमा भएको नुनको मात्रा जमेर ढुंगाजस्तै बन्ने हो र त्यही नै ‘किड्नी स्टोन’ हो । ठूलो भएपछि त्यसैले दुःख दिने हो । कहिलेकाहीँ त्यसैले मृगौला फेल गरिदिन्छ । त्यसैले पिसाब सफा नआएसम्म पानी पिइरहनुपर्छ । 

खाडीमा नेपाली श्रमिक कोही घर बाहिर काम गर्छन् भने कोही घरभित्रै रहेर काम गर्छन् । घाममा काम गर्नेले त ‘भिटामिन डी’ को मात्रा पाइरहेका हुन्छन् । तर घरभित्र काम गर्ने, भित्रै बसिराख्नेहरुमा ‘भिटामिन डी’को कमी हुन्छ । त्यसले शरीर दुख्ने, चल्न मन नलाग्ने हुन्छ । 

यस्तै ‘भिटामिन डी’को कमीले ‘डिप्रेशन’ गराउँछ र मानिसलाई आत्महत्या गर्ने अवस्थासम्म पुर्याउँछ । आत्महत्या गर्नेमध्ये ९२ देखि ९५ प्रतिशत ‘भिटामिन डी' को कमीले भएको पाइएको छ । त्यसैले डिप्रेशनलाई रोक्नु भनेको आत्महत्या रोक्नु हो । त्यसको लागि ‘भिटामिन डी’ मा पनि होस पुर्याउनुपर्छ ।

यहाँ सबै फ्रोजन फूडहरु हुन्छ । पोषणयुक्त त्यति हुँदैन । जसले हातखुट्टा झमझम्याउने, जिब्रोमा घाउ आउने, मुखको कुनाकुनामा घाउ आउने हुन्छ । यस्तो हुनु भनेको भिटामिनको अभावले हो । यस्तो भएको थाहा भयो भने औषधि खान सकिन्छ ।

खाडीमा रहेका नेपाली दाजुभाइहरुले डिहाइड्रेशन (शरीरमा पानीको मात्रा कम भएको अवस्था) हुन दिनुहुँदैन । यस्तो अवस्थामा रक्सी खानुभएन । डिहाइड्रेशन भएपछि नेपालमा जीवनजल भनेजस्तै यहाँ पनि पाइन्छ । त्यही बनाएर खानुपर्छ । त्यो नखाइकन रक्सी खान थाल्यो भने त्यसले निकै गाह्रो हुन्छ । यो प्राणघातक हुन्छ । त्यसले ज्यानै पनि लिन सक्छ । त्यसैले आफूले गर्ने काम अनुसार शरीरलाई पनि ख्याल गर्नुपर्छ । श्रमिक आफैं थोरै सचेत हुने हो भने आफूले आफूलाई बचाउन सकिन्छ ।
 

तपाईको प्रतिक्रिया