‘अन्तिम पटक श्रीमानको अनुहारसमेत हेर्न पाउँदिन कि भन्ने डर थियो’

 असार १४, २०७८ सोमबार १३:११:१६
unn.prixa.net

विदेश गएर केही पैसा कमाउने र छोराछोरीको पढाइखर्च चलाउने सपना बोकेर यूएई जानुभएको थियो कपिलवस्तु नगरपालिका ५ का हनुमान चाई । सन् २०१९ मा यूएई जानुभएका चाई गएपछि बीचमा घर फर्किनुभएन । नेपाल आउजाउमै पैसा सकिन्छ । चाईलाई पैसा बचाएर एकै पटक घर फर्किने रहर थियो । बेलाबेला घरमा श्रीमती संगीता र छोराछोरीसँग फोनमा कुराकानी भइरहन्थ्यो । घरपरिवारको माया र भविष्यको सपना संगाल्दै यूएईको तातो घाममा उहाँले दुईवर्ष बिताउनुभयो ।

घर फर्किने समय नजिकिदै थियो । कोरोना महामारीले गर्दा घर आउने दिन केही पर धकेलियो । तर पनि काम चलेकै थियो । यता परिवारमा पनि शान्ति थियो । गएको बैशाख २४ गते हनुमान चाईकी श्रीमतीलाई यूएईबाट फोन आयो । सधैं झैं उहाँले खुसी हुँदै श्रीमानकै फोन होला भनेर उठाउनुभयो । तर हनुमान चाईको साथीले फोन गर्नुभएको रहेछ । यताबाट हेलो भन्नासाथ उताबाट आएको आवाज संगीताको कानमा ठोक्कियो, ‘म हुनमानको साथी, हजुरको श्रीमानको डेथ भयो, मन दह्रो बनाउनुहोला ।’

‘यति सुन्नेबित्तिकै म डाको छाडेर रुन थालेछु’, संगीताले त्यो दिन सम्झिदै भन्नुभयो, ‘मैले कराएको सुनेर गाउँभरिका मान्छे आए, पछि म बेहोस भएर लडेछु ।’

परिवारको आशा भरोसा र आफ्नो श्रीमानको ज्यान गएको खबर सुन्दा कसको मन चर्किन्न । संगीता विक्षिप्त हुनुभयो । कोरोना महामारीले चारैतिर डरलाग्दो माहोल बनाइरहेको बेला संगीताका श्रीमानले भने अर्कै कारणले ज्यान गुमाउनुभयो । 

‘कोरोनाले होइन भन्नुभाथ्यो, के कारण हो थाहा छैन ।’ उहाँलाई कारण जान्नु पनि छैन । श्रीमान नै नरहेपछि कारण थाहा पाएर के गर्ने ? उहाँलाई यस्तै लाग्छ । पछि विभागमा बुझ्दा थाहा पाउनुभयो, ‘नर्मल डेथ हो रे ।’ 

श्रीमान गुमाउनुको पीडा । त्यसैमाथि शव पनि नेपाल ल्याउन नमिल्ने अवस्था । अन्तर्राष्ट्रिय उडान सबै बन्द । देशैभरि निषेघाज्ञा । त्रासको माहोल । संगीताको मनमा श्रीमानको शव पनि हेर्न पाउँदिन की भन्ने अर्को चिन्ता थपियो ।

'गाउँलेहरुले त ‘शव ल्याउनै मिल्दैन’, ‘दुई लाख रुपैयाँ लाग्छ शव ल्याउन’ भन्न थाले', मन गह्रुँगाे पार्दै संगीताले भन्नुभयाे, 'मलाई त अन्तिम पटक श्रीमानको अनुहारसमेत हेर्न पाउँदिन कि भन्ने डर थियो ।'

यस्तो अवस्थामा के गर्ने, कहाँ जाने केही थाहा थिएन संगीतालाई । त्यहीबेला उहाँको भेट सामी परियोजनाका रिटर्नी स्वंसेवक गणेशप्रसाद चौधरीसँग भयो । 

सामीको साथ 

नेपाल सरकार र स्वीस सरकारको द्वीपक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व, हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित छ सुरक्षित आप्रवासन परियोजना सामी । यही परियोजना अन्तर्गत स्थानीय ४ वटा पालिका कपिलवस्तु नगरपालिका, वाणगंगा नगरपालिका, शिवराज नगरपालिका र माया देवी गाउँपालिकाको सहकार्यमा स्थानीय सेवा प्रदायक संस्था ईन्द्रेणी ग्रामिण विकास केन्द्र नेपालले आप्रवासन स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । यसले यी पालिकाहरुमा वित्तीय कक्षाहरु तथा मनोसामाजिक परामर्श दिँदै आइरहेको छ ।

सामी रिटर्नी स्वंसेवक गणेशप्रसाद चौधरीले संगीताको बारेमा आप्रवासी श्रोत केन्द्रमा सम्पर्क गर्नु भयो र आप्रवासी श्रोत केन्द्र कपिलवस्तुबाट प्रवासी नेपाल समन्वय समिति र वैदेशिक रोजगार बोर्डसँग समन्वय गरिदियो । निरन्तर सम्पर्क र समन्वयबाट संगीताको श्रीमान हनुमान चाईको शव नेपाल आइपुग्यो । श्रीमानको शव ल्याउन काठमाण्डौसम्म जान सक्ने अवस्था पनि थिएन संगीताको । वैदेशिक रोजगार बोर्डले नै शव घरसम्म पुर्यादिन्छ भन्ने जानकारी दिएकाे थियाे सामीले । यही पर्खाइमा हुनुहुन्थ्याे संगीता ।

बैशाख २३ गते ज्यान गुमाएका श्रीमानको शव पर्खिँदा पर्खिँदै थाकेका नजर । मध्यराति झ्यालबाट अँध्यारो आकाश नियाल्दै गर्दा उज्यालोको धमिलो प्रकाश संगीताको आँखैमा पर्यो । परबाट आएको गाडीले घरछेउमा पुगेर हर्न बजायो । दुईजना गाडीबाट ओर्ले र काठको बाकस भुइँमा राखे । यसरी जेठ १४ गते राति १ बजे  हनुमान चाईको शव घर आइपुग्यो । 
 

तपाईको प्रतिक्रिया