‘वैदेशिक रोजगारीमा जानेलाई खोप लगाउने विषयमा छलफल भइरहेको छ’

 असार १५, २०७८ मंगलबार १०:५३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाका नागरिकलाई समेत खोप दिन नसकेको सरकारले विदेशमा काम गर्न जानेलाई खोपको प्राथमिकतामा समेत राखेको छैन । तर साउदी, कुवेत युएई लगायतका खाडीका देशले खोप नलगाएका कामदार लिन छाडेका छन् भने अरू देशले पनि त्यही उपाय लागू गर्न थालेका छन् । यसको मार श्रम स्वीकृति लिइसकेका र कम्पनीले दिएको बिदामा घर आएकाहरूलाई तत्कालै परेको छ । खोप नपाएर उनीहरूको रोजगारी खतरामा परेको छ । खोपको कारणले रोजगारीमा जानबाट वञ्चित श्रमिकले खोप कहिले पाउलान् त ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर अधिकारीसित गरिएको कुराकानी ।

***

खाडीका केही देशले खोप लगाएकाहरूलाई मात्र आफ्नो देश प्रवेशमा अनुमित दिने भनेको छ । खोप लगाउन नपाउँदा अहिले धेरै श्रमिकको रोजगारी गुम्ने खतरा बढेको छ । उनीहरूले खोप लगाउन कहिले पाउलान् ? 

पहिलो कुरा त खोपको अभावकै कारणले सबैलाई खोप लगाउन सकिरहेका छैनौँ । प्राथमिकता निर्धारण गर्दै खोप लगाउनुपरेको छ ।

खोपको प्राथमिकमा कोरोना सङ्क्रमणको जोखिम रहेका वर्गलाई बढी प्राथमिकता दिएर खोप लगाउँदै गयौँ ।

अहिले विभिन्न देशहरूले खोप लगाएकाहरूलाई मात्र आफ्नो देश प्रवेश गर्न दिने नियम लगाएका छन् । पक्कै पनि यसको असर नेपाल आएका र गन्तव्य देश फर्किन खोज्नुभएका नेपाली श्रमिकलाई पनि परेको छ । 

काठमाण्डौ उपत्यकाभित्र भेरोसेलको खोप अभियान सुरु गर्दा १८ वर्ष माथिकालाई भनेर भनिएका बेला त्यस बेला धेरै व्यक्तिले लगाउनुभएको छ । काठमाण्डौ उपत्यकाभन्दा बाहिर रहेका व्यक्तिहरू, जसलाई विदेश जानु छ, उहाँहरूलाई खोप लगाउने विषयमा हामी छलफल गरिरहेका छौँ । हामीसँग भएको खोपले दोस्रो मात्र पुग्ने सुनिश्चित गरेर क्रमशः उहाँहरूलाई पनि समावेश गर्दै जाने हो । पछिल्लो समय हामीले उहाँहरूलाई पनि उच्च प्राथमिकतामै राखेका छौँ । तर हामीलाई अहिले खोपको समस्या छ ।  

हामीसँग अहिले रहेको खोपले दोस्रो मात्राको प्रतीक्षामा रहनुभएका व्यक्तिलाई लगाएर बचेको खोपले दुई मात्रा पुग्ने गरी कुन वर्गलाई लगाउन मिल्छ भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ ।

यस्तै हामीले अलि ठुलो मात्रामा खोप ल्याउने गरी तयारी गरिरहेको हुनाले खोप प्राप्त हुने बित्तिकै सबैलाई समेट्ने गरी खोप लगाउने योजना पनि छ । 

वैदेशिक रोजगारीमा जान खोज्ने सबैलाई नभए पनि जसलाई तत्कालै वैदेशिक रोजगारीमा नपुग्दा रोजगारी गुम्ने खतरा छ र खोपकै कारण जान पाएका छैनन् उनीहरूका लागि तत्कालै खोप प्रदान गर्ने व्यवस्था गर्न सकिँदैन ? 

तत्कालै हामीसँग रहेको खोपले कति पुग्छ भन्ने कुरा हेर्नुपर्छ । जो दोस्रो मात्राको प्रतीक्षामा हुनुहुन्छ, उहाँहरूलाई सुनिश्चित गरेर मात्र अरूलाई लगाउनुपर्ने हुन्छ । वैदेशिक रोजगारीको हकमा भन्नुपर्दा, नेपालमा खोपको समस्या छ भन्ने कुरा सम्बन्धित देशलाई पनि थाहा छ ।

खोपको समस्या समाधान गर्नको लागि नेपाल सरकारले ती देशहरूसँग पनि कुराकानी गरिरहेको छ । अरू खोप उत्पादन गर्ने देशहरूसँग पनि कुराकानी भइरहेको छ । त्यही भएर तत्कालै धेरै ठुलो समस्या पर्नेजस्तो देखियो भने त्यसको पूर्व तयारी हामी गरिरहेका छौँ ।

विदेश जान कुन जिल्लामा कति जना हुनुहुन्छ लगायतका विषयमा हामी लेखाजोखा गर्दै छौँ । त्यसपछि खोपको सम्बन्धित समितिले त्यस विषयमा निर्णय दिनुहुन्छ र त्यसपछि के गर्ने भन्ने विषयमा कार्य योजना बनाएर हामी अगाडि बढ्छौँ ।

त्यसो भए जसले तत्कालै वैदेशिक रोजगारीमा फर्किनु छ र खोप लगाउनुपर्ने छ उहाँहरूले म खोप प्रतीक्षामा छु है भनेर जानकारी गराउनका लागि कहाँ सम्पर्क गर्ने ?

काठमाण्डौ भित्र हुनुहुन्छ भने स्वास्थ्य सेवा विभागमा लिखित रूपमा आफ्नो सबै आधार प्रमाणसहित जानकारी गराउन सक्नुहुन्छ । हामीलाई लिखित तथा मौखिक रूपमा सञ्चार माध्यमबाट पनि  प्राप्त भइराखेको छ । काठमाण्डौ उपत्यकाभन्दा बाहिर भएको खण्डमा भने सम्बन्धित जिल्ला प्रशासन तथा जिल्ला स्वास्थ्य कार्यालयहरूमा प्रमाणसहित जानकारी गराउन सकिन्छ ।

जिल्लाको खोपको समन्वय गर्ने समिति सम्बन्धित कार्यालयहरूमा छन् । उहाँहरूले त्यो प्रमाणसहित खोप सम्बन्धी काम गर्ने सचिवालयमा जानकारी गराउनुहुन्छ । त्यसै अनुसार हामीले व्यवस्था गर्छौँ । तर हामीसँग खोप थोरै भएको र लगाउनुपर्ने धेरै भएकाले कसलाई लगाउने भन्ने विषय निकै चुनौतीपूर्ण हुँदो रहेछ ।

कुनै वर्ग विशेषलाई दिने वा अर्कोलाई नदिने भन्न निकै गाह्रो हुन्छ । यो चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषय जटिल छ । त्यसले उहाँहरूले दिनुभएको आधार तथा प्रमाणलाई सङ्कलन गर्दै व्यवस्थापन गर्दै गइन्छ ।

अहिले नेपालमा भेरोसेल खोप लगाइरहनुभएको छ । तर कतिपय देश, धेरै नेपालीहरू काममा जाने साउदी, युएई लगायतले भने भेरोसेललाई मान्यता दिएका छैनन् । उनीहरूले निश्चित खोप तोकेका छन् त्यसमा भेरोसेल पर्दैन । यस्तो अवस्थामा के गर्ने ?

कुनै खोपलाई मान्यता दिने नदिने भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय समन्वय गर्ने व्यवस्थापन गर्ने भनेको विश्व स्वास्थ्य सङ्गठनको हो । हुन त कतिपय देशका आ आफ्नै नियम तथा मान्यता होलान् । भेरोसेल पनि विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोप हो । त्यही भएर हामीले अहिले लगाइरहेको भेरोसेल, कोभिसिल्ड, फाइजर मोडर्ना सबै मान्यताप्राप्त खोपहरू हुन् ।

कुनै देशमा जानको लागि कुनै खोप विशेषलाई मात्र मान्यता दिएको छ होला । तर अहिले हामीसँग उपलब्ध रहेको भनेको भेरोसेल खोप मात्रै हो । कोभिसिल्ड पनि हामीसँग छैन, आस्ट्राजेनेका पनि सकिएको छ । त्यसको दोस्रो मात्रा लगाउन बाँकी धेरै जान अझै प्रतीक्षामा हुनुहुन्छ ।

त्यही खोप लगाएर आउनुपर्छ भन्ने खालको देश भयो भने केही समय कुर्नुपर्ने हुन्छ । तर हामीसँग जुन खोप छ त्यो खोपले हुने छ भने हामी त्यसअनुसार खोप लगाउन जाऔँ । विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएका खोपहरू मान्नुपर्ने खालको अन्तर्राष्ट्रिय अभ्यास हो ।

तर कतिपय देशले आफ्नै नियम नलगाएका होइनन्, लगाएका छन् । त्यस्तोमा आफू जानकार हुनुपर्छ । आफू काम गरिरहेको देशमा के छ भन्ने कुरा बुझेर कम्पनीसँग कुरा गरेर त्यसैअनुसार गर्नुहुन हामी अनुरोध गर्छौँ ।

अब अन्त्यमा, खोप लगाउन नपाएरै रोजगारी गुम्ने हो भन्ने चिन्तामा रहनुभएका श्रमिकलाई तपाईँ के भन्न चाहनुहुन्छ ?

यसरी चिन्ताले समाधान ल्याउँदैन । यो तपाईँ एक्लैको समस्या होइन । राज्यको मात्र समस्या होइन, अन्तर्राष्ट्रिय स्तरको समस्या हो । जुन देशमा रोजगारी गरिरहनुभएको छ त्यो देशलाई पनि थाहा छ कि, विश्वव्यापीरूपमा खोपको समस्या छ ।

त्यही भएर हाम्रो चिन्ताले समाधानलाई सुझाव ल्याउन सक्ने कुरा हुन्छ । तर समाधान तपाईँ हाम्रो चिन्ताले ल्याउने होइन । खोप नलाएकै कारण रोजगारी गुमिहाल्ने अवस्था तत्कालै सिर्जना हुने खालको अन्तर्राष्ट्रिय अभ्यास नहुनुपर्ने हो ।

त्यही भएर अहिले तत्कालै समयावधिभित्र खोप लाएर आउनुभएन भने यस्तो हुन्छ, उस्तो हुन्छ भनिए पनि त्यो समयावधि थप हुँदै, त्यसैअनुसार व्यवस्था हुँदै जानेछ । अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।

तपाईको प्रतिक्रिया