‘खोप नपाउँदा नेपाली श्रमिकको विदेशको रोजगारी गुम्ने जोखिम’

 असार २४, २०७८ बिहिबार १६:४४:५१
unn.prixa.net

कमल तामाङ, कार्यवाहक अध्यक्ष / नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ ।

कोरोना महामारीले सबै क्षेत्रमा प्रभाव पारेको छ । त्यसमा पनि विशेषगरी नेपाली श्रमिक जसको घर परिवार वैदेशिक रोजगारीबाट चल्छ उनीहरु अझ बढी मर्कामा परेका छन् । कोरोनाको दोस्रो लहरले त अझ नेपालमा ठुलो धनजनको क्षति भएको छ ।

विभिन्न देशले नेपालमा फैलिएको कोरोना महामारीको कारण नेपाली श्रमिक लिइरहेका छैनन् । नेपाली श्रमिकको रोजगारी नै खुम्चँदै गएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा उथलपुथल भएको अवस्था छ । गन्तव्य देशहरूले पनि खोप अनिवार्य गर्न थालेका छन् । अहिले बिदामा आएका श्रमिकहरू समेत फर्कन नपाएको अवस्था छ । 

न त नयाँ श्रमिकहरू नै जान सक्ने अवस्था भयो । अहिले सङ्क्रमण दर कम हुँदै जाँदा सरकारले पनि उडान खुलाउँदै लगेको अवस्था छ । तर समस्या कोरोना विरुद्धको खोप भएको छ ।

कुवेत, यूएईजस्ता देशले कोरोनाको खोप अनिवार्य गरेका छन् । उनीहरूले खोप नलगाएका कामदार लिन छाडेको अवस्था छ भने अन्य केही देशले पनि त्यस्तै नीति लिने देखिन्छ । तर अहिलेको अवस्थामा क्वरेण्टीनमा बस्ने गरी बिदामा आएकाहरूलाई साउदी, कतार र ओमानजस्ता देशले नेपाली श्रमिकलाई बोलाएको अवस्था छ । मलेसियामा त कति भयो श्रमिक पठाउन सकेको अवस्था छैन । त्यहाँ अहिले पनि सङ्क्रमण दर बढिरहेको अवस्था छ ।

अहिले धेरै जना कोरोना विरुद्धको खोपकै कारण अड्किएको अवस्था छ । नयाँ पठाउनेलाई त परको कुरा जो पहिले नै विदेशमा रोजगारी गरिरहनुभएको छ । बिदामा आउनुभएको थियो र अबको केही समयमा गन्तव्यमा नपुग्दा रोजगारी गुम्ने खतरा छ उहाँहरूको पनि खोपकै कारण रोजगारी गुम्ने खतरा बढेको छ । गन्तव्य देशले खोप नलगाई नआइज भनेको छ । यता नेपालमा वैदेशिक रोजगारीमा जानेहरू खोपको प्राथमिकतामै परेको अवस्था छैन । अनि अवस्था के होला त श्रमिकहरूको ।

विदेशको रोजगारी होस् न त भनेर माया मार्न सकिने अवस्था पनि छैन । किनभने कतिपयको वर्षौंदेखिको उपदानहरू बाँकी रहेको अवस्था छ । खोप लगाउन नपाएकै कारण अझ भनौँ सरकारकै कारण त ती कुराहरू त्याग्ने भन्ने कुरा त आउँदैन ।

दोस्रो लहरले झन् प्रभाव पार्‍यो

कोरोनाको पहिलो लहरमा धेरै त गन्तव्य देशमा नै प्रभाव रहेको थियो । तर केही महिनापछि बिस्तारै  कामका मागहरू आउन थालेको थियो । जहाजहरू सहज रूपमा खुलेपछि व्यवसायीहरूले विभिन्न देशहरूमा गएर कामको मागहरू ल्याउनुभएको अवस्था थियो । त्यसपछि केही नयाँ भिसाहरू पनि जारी भएका थिए ।

श्रमिकहरू यूएई, कतार, साउदीजस्ता देशमा जानु पनि भएको हो । त्यो बेला सजिलो के थियो भने कोरोना विरुद्धको खोप अनिवार्य थिएन । पीसीआर परीक्षण गरेर जान पाउने अवस्था थियो । उता गएपछि क्वरेण्टीनमा बस्दा भइहाल्थ्यो ।

तर जब यो दोस्रो लहर फैलियो त्यसपछि भने गन्तव्य देशहरूले कोरोनाको खोप अनिवार्य गर्दै लान थाले । जुन कुरा हाम्रो लागि ठुलो चुनौती भयो । किनभने अहिले त सरकारले खोप दिनै सकेको छैन । त्यसपछि यो यो खोप लगाएकालाई मात्र प्रवेश भनेर निश्चित खोपलाई मात्र मान्यता  दिएको छ ।

यस अवस्थामा हाम्रा गन्तव्य देशले तोकेका खोपहरू कहिले नेपाल ल्याउने र श्रमिकहरूलाई लगाएर पठाउने यो त ठुलो चुनौतीको कुरा छ । हामीले श्रमिकका समस्या यस्ता छन्, खोप अनिवार्य गरिएको छ भनेर सरोकारवाला निकायलाई जानकारी पनि गराएका छौँ ।

यो त श्रमिक यूएई, कतार अथवा कुनै पनि देशमा जान सकेन भने यो त श्रमिक जान नसकेको या वैदेशिक रोजगार व्यवसायीले पठाउन नसकेको भन्ने मात्र होइन नि । यो त सरकारसँग पनि जोडिएको कुरा हो नि ।

नेपालले श्रमिकलाई कोरोनाको भ्याक्सिन लगाएर पठाउन सकेन भनेर गन्तव्य देशले त नेपाल सरकारमाथि पनि त प्रश्न गर्ने अवस्था छ नि ।  त्यस कारण यो अहिले खोपका कारण सृजना भएको समस्या समाधानका लागि श्रमिक वा व्यवसायीसँगै सरकार अझ बढी जिम्मेवार हुन आवश्यक छ ।

हो यो अप्ठेरो परिस्थितिमा को वैदेशिक रोजगारीमा जाने हुन्, उनीहरूको पहिचान गर्ने कुरा चुनौतीपूर्ण होला । तर वैदेशिक रोजगारीमा जान खोज्ने सबैलाई नसके पनि सरकारले जो अन्तिम स्वीकृति सरकारसँगै लिएर विदेश उड्न ठिक्क परेका छन् उनीहरूलाई खोप लगाउन सक्छ नि ।

यो सङ्ख्या त्यति ठुलो पनि त हुँदैन । जान खोज्ने लाखौँको सङ्ख्यामा होलान् तर जान तयार भएकाहरू त निश्चित सङ्ख्या हुन्छ र उनीहरूलाई रोजगारीका लागि जान स्वीकृति पनि सरकारले नै दिने हुँदा उनीहरूलाई सरकारले खोपको व्यवस्था गर्न पर्छ ।

म कोरोनाको खोप लगाएर सुरक्षित भएर रोजगारीका लागि जान्छु सरकार पैसा लिएर भए पनि खोप लगाइदेऊ भनेर माग गर्नु त श्रमिकको अधिकारको कुरा हो नि । 

खोप पनि दिन नसक्ने अनि चुपचाप बस्ने त मिल्दैन नि । यदि खोप उपलब्ध गराउन सक्ने अवस्था छैन भने श्रमिकका गन्तव्य देशसँग एउटा सम्झौता अथवा अनुरोध त गर्न सक्छ नि । हो अहिले खोप पर्याप्त छैन ।

यो कुरा विश्वले बुझेको छ भने हाम्रो श्रमिक लैजाने देशले नबुझ्ने भन्ने पनि छ कुरा हुँदैन । तर केही पनि नगरेर उमेर समूह अनुसार खोप लगाउँदै लैजाने हो भने त हाम्रा दाजुभाइ दिदीबहिनी जसको केही दिनमा केही समयमा गन्तव्यमा नपुगे रोजगारी जोखिममा पर्छ उनीहरूले के गर्ने त ?

गन्तव्य देश नेपाली कामदार चाहन्छन्

खाडीका देश, मलेसिया, कोरिया, जापान हुँदै पछिल्लो समय युरोपेली देशहरू पनि नेपाली कामदार चाहन्छन् । नेपाली कामदारको माग बढ्दो छ । नेपाली कामदारहरू राम्रो काम गर्छन् । मेहनत कडा गर्छन् ।

त्यसले पनि सबै देशले नेपाली कामदारलाई मन पराउँछन् । साउदी, कतार, यूएईमा अहिले पनि नेपाली कामदारको माग छ नभएको हैन । तर यो महामारीको बेलामा हाम्रा श्रमिकको व्यवस्थापन कसरी गरियो भन्ने कुरा हो । यो बेलामा श्रमिकलाई सुरक्षित हिसाबले गन्तव्यमा पुर्‍याउने जिम्मेवारी त सरकार र व्यवसायीको हो ।

तर अहिले त खोपकै कारण श्रमिक जान नपाउनु भनेको लाजमर्दो अवस्था भएको छ । यो फेरि यो ठुलो समस्या पनि होइन तर सरकारले यसलाई नबुझिदिँदा श्रमिकहरूले आफ्नो रोजीरोटी गुमाउनु पर्ने अवस्था आएको हो । 

(नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष तामाङसँग गरिएको कुराकानीमा आधारित ।)

1 Comments

  • दिपक कुमार श्रेष्ठ

    July 10, 2021, 10:05 a.m.

    ल अब खोप आउने क्रममा छ बैदेशिक रोजगारीमा जाने नेपाली हरु लाई महत्त्व दिएर छुट्टै खोप कार्यक्रम को व्यवस्था गर्नुपर्यो।

तपाईको प्रतिक्रिया