राज्यकाे अनावश्यक खर्च कटाएर दिगाे राेजगारी सिर्जना गर्नमा लगाउने कि !

 साउन ८, २०७८ शुक्रबार १५:९:४६ | नारायण कोइराला
unn.prixa.net

बकर इदको बिदामा खासै बाहिर निस्किने अवस्था थिएन । साथीभाइहरुले निमन्त्रणा गरे पनि यसपालि अस्वीकार गर्नुपर्ने अवस्था नै थियो । परदेशमा इदको राैनक एकदम खल्लो देखियो । पहिला जस्तो गल्ली गल्लीमा गएर रमाइलो गर्न सकिएन । इन्टरनेटमै वा भनाैँ सामाजिक सञ्जालमै याे वर्षकाे इद मनाइयाे । 

के गर्नु ! परदेशी भए पनि देशकाे चिन्ता त लागिहाल्ने । एक दिन बिदामा काेठाभित्रै बस्दा पूरै देशकाे चित्र काेठाकाे भित्तामा छर्लङ्गै देखिन्छ । याे खाली समयमा त्यही चित्र हेर्ने र बुझ्ने अवसर पनि मिल्यो ।

गएकाे हप्ता दश दिनमा नेपालमा केही कुराहरू भाइरल भएका छन् । यो अवस्था हेर्दा कतै हाँसो, कतै अचम्म अनि कतै रमाइलो पनि लाग्यो । सत्ताबाट बहिर्गमन भएका प्रधानमन्त्रीको बार्दली भाषण गजबको थियो । देशमा यस्तो अवस्था आउँदा त्यो भाषणको अर्थ के ? भन्ने प्रश्न पनि मनमा उठ्यो । तर फेरि भाषण गर्ने उहाँकाे अधिकार होला भनेर चित्त बुझाइयाे । 

अर्को अचम्म लाग्ने कुर, सडकमा बाँदरको भेषमा प्रदर्शन । के को लागि, बाँदरबाट विकसित भएको आफ्नो रूपलाई फेरि कुरुप बनाए जस्तै देशलाई पनि त्यस्तै बनाउन ?

फेरि अर्को प्रश्न, के पाइयो यसरी भेष बदली बदली समर्थन गरेर ? के यो आन्दोलनले गरिबको चुलो जल्यो ? एक छाक खान नपाउनेले खान पायो ? या युवालाई विदेश जानबाट रोक्न सक्यो ? म आन्दोलनको विरोधी होइन तर आन्दोलनले के दिन्छ भन्ने पनि बुझ्नु पर्यो । जति सडकमा नचाए पनि, दौडाए पनि के भएको छ ? 

यति कुरा सकिँदा नसकिँदै अर्को चर्चा चर्किएको छ । उपचार खर्च । जो सम्पन्न छ, उसको लागि सरकारले उपचार किन गर्नुपर्ने ? काेही कुनै पार्टीकाे नेता भएकाे आधारमा हाेइन, जोसुकैले पनि राम्रो र सुलभ उपचार पाउनुपर्छ । काेही सिटामोल खान नपाएर छटपटाइरहेक‍ा छन्, कसैले देशकाे ढुकुटीबाट पैसा निकालेर विदेशमा उपचार गर्ने बहस चल्दै छ । यस्ता कुराले हामी परदेशीकाे मन कटक्क खान्छ । 

यी त बितेकाे दश दिनका कहानी हुन् । यदि सरकार जिम्मेवार छ भने अनावश्यक खर्च गरेर नागरिकलाई झन ऋणमा डुबाउन मिल्दैन । यसरी हुने फजुल खर्च कटाएर अर्को महत्त्व पूर्ण कुरो पनि त गर्न सकिन्छ । रेमिटेन्स पठाएर देश धान्ने परदेशीहरु विदेशमा नोकरी गुमाएर विस्थापित हुँदैछन् । काेही देशमा केही अवसर मिलेन भनेर हरियाे राहदानीकाे भरमा छन् । यसरी गर्ने फजुल खर्च उनीहरूको ज्ञान सीप अनुसार राेजगारीका अवसर प्रदान गर्नमा सदुपयाेग किन नगर्ने ? राज्यकाे अनावश्यक खर्च कटाएर दिगाे राेजगारी सिर्जना गर्नमा किन नलगाउने ? पराइ मरुभूमिलाई हरियाली बनाउनेले आफ्नै देशमा सुन फलाउन नसक्लान र ? 

तपाईको प्रतिक्रिया