जोर्डनबाट फर्कँदा पाएको एउटा प्रमाणपत्र नेपालमा गरिखाने हतियार बन्यो

 कात्तिक १०, २०७८ बुधबार १७:१३:२६ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – जोर्डन बसाई टुङ्ग्याएर नेपाल फर्कने बेला ललितपुरकी अमिसा लोप्चनले एउटा प्रमाणपत्र पाउनुभयो ।

तीन वर्ष काम गरेबापत मासिक रूपमा पाएको तलब बाहेक हिँड्ने बेला कम्पनीले दिएको थप कुरा त्यही प्रमाणपत्र थियो ।

त्यो बेला अमिसालाई लाग्यो,‘यो एउटा कागजभन्दा बरु केही पैसा दिएको भए पनि त हुन्थ्यो नि ।’

जे दिए पनि दिएको कुरा के फाल्नु । झोलाको एउटा साइडमा कोच्नुभयो । तर काम नलाग्ने ठानेर कुनै एउटा कुनामा कोचिएको त्यही एउटा कागजले अमिसालाई देश फर्किएपछि नसोचेको खुसी दियो । त्यही कागज गरिखाने आधार बन्यो । 

बिना सीप विदेश जाँदा

सन् २०१४ मा अमिसालाई कमाउनु पर्ने बाध्यता आइलाग्यो । घरमा आमा बिरामी । उपचारमा निकै रकम खर्च भयो । आम्दानीको बाटो शून्यजस्तै थियो । ऋण र पिरले २४ वर्षे उमेर मै थिचेपछि अमिसालाई दुःख पार लगाउन वैदेशिक रोजगारीको बाटो नै उपयुक्त लाग्यो । 

‘विदेश जाने मन त थिएन नि, तर के गर्नु बिरामी आमाको उपचार, लागेको ऋण र पिर बोकेर कहाँ जानु, न काम पाइने न त आम्दानीको बाटो कुनै, काम नपाएकै कारण विदेश गएको हुँ,’ अमिसा वैदेशिक रोजगारीमा जानुपर्ने आफ्नो बाध्यता सुनाउनुहुन्छ ।

त्यो बेला परदेश लाग्दा उहाँलाई न विदेशको बारेमा जानकारी थियो न त आफूले गर्नु पर्ने कामको अनुभव । जोर्डन जाँदै छु भन्ने दिमागमा थियो भने मनमा कमाएर परिवारका लागि केही गर्छु भन्ने सपना  । 

कहिले नगएको देश, कहिले नदेखेको रहनसहन र चालचलन अनि कहिले नगरेको काम । सजिलो कहाँ हुन्छ र । तर पनि बाध्यतामा परेर देश छाडेको मानिसले परिस्थितिलाई आफ्नो बनाउन पर्छ । आफूले देखेका सपना पूरा गर्न मेहनत गर्नुपर्छ । अमिसाले पनि जोर्डन पुगेपछि आफ्नो काममा मेहनत गर्नुभयो । गार्मेन्टको काम थियो ।  तर हातमा सिलाउने सीप नभएकाले केही महिना उहाँले हेल्परको काम गर्नुभयो । 

भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय । अमिसाले पनि हेल्परको काम गर्दै मेशिन चलाउन सिक्नुभयो । जोर्डनमा मेशिन चलाउन र लुगा सिलाउन मात्र जानेर हुँदैन कमाइ गर्न स्पिड हुनुपर्छ । कम्पनीले दिएको टार्गेट पूरा भएमा मात्र पैसा कमाइन्छ । नत्र हेल्परको हेल्परमै रहने सम्भावना हुन्छ । तर अमिसाले आफूलाई कमजोर ठान्नुभएन । 

अन्य देशका नागरिकले मेशिन चलाउन नजाँदा कयौँ पटक हेपे । 

‘तिमीहरू नेपाली, तिमीहरूलाई मेशिन चलाउन आउँदैन भन्ने, हुन पनि हामीले त्यस्तो काम यहाँ गरेको थिएनौँ उनीहरूले पो सिकेर आएका उङ्थेँ र जान्थेँ त, त्यो बेलामा अहिलेजस्तो सिक्ने ठाउँहरू पनि थिएन नेपालमा,’ अमिसा सुनाउनुहुन्छ,‘उनीहरूको त्यही बोलिले नै हो मलाई मेशिन सिकेर अपरेटर बन्छु भन्ने आँट दिएको त्यो बेलामा ।’

विदेश गएपछि आफ्नो उद्देश्य नभुल्नु

घर परिवार र देशै छाडेर कमाउन विदेश जाने हर कोहीले कमाएर पूरा गर्ने सपना साँचेका हुन्छन् । कसैलाई आफ्नो भविष्य बनाउनुहुन्छ त कतिलाई घरको दुःख पार लगाउनु । तर सबैले साँचेका सपना पूरा गर्दैनन् । तर कतिले भने विदेशमा कमाएर अमिसाले जस्तै त्यो सपना पूरा गर्छन् । कतिपय त विदेशमा पैसा हात पर्न थालेपछि दुःख बिर्सिन्छन् । त्यतै कमाउँछन्, रमाउँछन् र जस्तो गएको त्यस्तै फर्कन्छन् । 

अमिसाले पनि यसो गर्ने कति साथीहरू भेट्नुभयो । ती सबै गतिविधि देख्दा र भोग्दा उहाँलाई लाग्यो– विदेशमा कमाएर मात्र हुँदैन, विदेश पुगेपछि मानिसले आफ्नो सङ्घर्ष र सपनालाई  भुल्नु नहुने रहेछ । 

महिना भरी दुःख गर्दा भएको कमाइ अमिसा एक एक गरेर बचाउनुहुन्थ्यो । हरेक पटक पैसा खर्च गर्दा उहाँको आँखामा बिरामी आमा र साहुको ऋण आउँथ्यो । भविष्यको चिन्ताले मन दुख्थ्यो । 

‘घरमा यस्तो समस्या छ, मैले कमाएर यति गर्नुपर्छ भन्ने लाग्थ्यो, म त कति दुःख गरेर पैसा बचाउँथेँ नि, कहिले पनि त्यसरी खर्च गरिनँ, किनकि मैले आफ्नो उद्देश्य र सपना विदेश पुगेपछि भुलिँन,’ अमिसा भन्नुहुन्छ,‘जे उद्देश्य लिएर गएको हो त्यो पूरा गर्नु थियो मलाई ।’

दुःखको बेला आफ्ना पनि पराए हुन्छन् । हो अमिसालाई पनि आफ्नैको त्यही पराए पनले जीवनमा केही गर्छु भन्ने लाग्थ्यो । तीन वर्ष जोर्डनमा बिताउँदा उहाँले आफ्नो अठोट पूरा गर्नु पनि भयो । 

हेल्परबाट मेशिन अपरेटर हुनुभयो । टार्गेट पुर्‍याउन नसक्दा सामान्य तलब मात्र खानेबाट टार्गेट पुर्‍याइ अन्य देशका नागरिक जत्तिकै तलब खाने हुनुभयो । 

कमाएर घरको ऋण तिर्नुभयो । आमाको उपचार पनि गर्नुभयो । आफ्नो लागि एक टुक्रो जग्गा पनि जोड्नुभयो । अमिसालाई लाग्छ, घरको दुःखलाई नभुल्दा परदेश बसाई सन्तोषजनक रह्यो । 

विदेशमा सिकेको सीप नेपालमा काम लाग्यो

सीप नसिकी विदेश पुग्दा, त्यहाँ अरूको हेपाइ सहनुपर्दा, मेहनत जति गरे पनि कमाइ अरुको भन्दा कम हुँदा अमिसालाई लाग्थ्यो,‘मैले पनि सीप सिकेर आउन पाएको भए ।’ त्यही भोकले नै उहाँले विदेशमा काम गर्दा गर्दै सीप सिक्नुभयो र फर्कँदा हातमा त्यो सीप पनि लिएर आउनुभयो । 

नेपाल फर्किएको लगभग एक वर्षसम्म उहाँ बेरोजगारजस्तै भएर बस्नुभयो । तर एक वर्षपछि भने कम्पनीले आउने बेला हातमा थमाएको त्यही एउटा प्रमाणपत्र काम लाग्यो । 

उहाँले त्यही प्रमाणपत्रको आधारमा जोर्डनमा उहाँले गरेर आएको काम उहाँ अरूलाई सिकाउने जागिर पाउनुभयो । 

‘यो कागजको के काम होला र भनेर मैले एक ठाउँमा काचाकुचुक्क पारेर राखेको थिएँ, तर त्यही कागजको कारण मैले यहाँ रोजगारी पाएँ, मेरो लागि त्यो भन्दा ठुलो खुसी अरू के हुन्छ र, अहिले त त्यो प्रमाणपत्र लेमिनेशन गरेर पो राखेका छु,’ अमिसा विदेशमा सिकेको सीपको कारण नेपालमा जागिर पाउँदाको खुसी साट्नुहुन्छ ।

विदेशमा लुगा जोड्ने काम गरेर आएको मानिसले पनि नेपालमा काम पाउला भन्ने कुरा अमिसाको कल्पनाभन्दा परको कुरा थियो । तर त्यही कामले साथ दिएपछि अमिसाले सीपको महत्त्व अझ बुझ्नुभएको छ । 

‘सीप बुढो नहुने रहेछ, सीपले मानिसलाई भोको नराख्ने रहेछ, त्यसैले विदेश जानका लागि सिकिदिनका लागि हैन, तपाईँहरू पनि आफ्नो लागि सीप सिक्नुहोस्,’ अमिसा आग्रह गर्नुहुन्छ ।

सन् २०१८ देखि अमिसा जोर्डनमा गार्मेन्टको काममा जान चाहनेहरूलाई त्यहाँ गएर गर्ने गार्मेन्टको काम सिकाउनुहुन्छ । उनीहरूलाई मेशिन चलाउन मात्र सिकाउनुहुन्न उहाँ । एक महिने सीप तालिममा सहभागीलाई जोर्डनको हरेक पक्षबारे आफ्नो भोगाइ सुनाउनुहुन्छ । 

आफूले सीप नसिकी जाँदा भोगेका दुःख अरूले नभोगुन् भन्ने लाग्छ उहाँलाई । 

‘हामी जाने बेलामा खासै कोही मानिसहरू थिएनन्, कस्तो हुन्छ भन्ने नै थाहा थिएन, अहिले त यहाँ एक महिना सीप सिक्दा उहाँहरूले समग्र जोर्डनमा गरिने काम यही गरेर जानुहुन्छ,’ अमिसा अनुभव साट्दै भन्नुहुन्छ,‘उहाँहरूलाई यति सिकेर गएपछि मैले जस्तो हेपाइ सहन पर्दैन, सजिलो नै हुन्छ भन्ने विश्वास छ मलाई ।’

सीप सिकेर जाने र नसिकी जानेहरूलाई परदेशी भूमिमा गरिने व्यवहार नै फरक हुन्छ । अरूको व्यवहारले कयौँ पटक आत्मसम्मानमा चोट लाग्छ । घरीघरी आफूले आफैँलाई धिक्कार्न मन लाग्छ । मन मात्र होइन शरीर पनि कमजोर हुन्छ । तर हातमा सीप छ भने छाती फुकाएर काम गर्न सकिन्छ ।

आफ्नो हातमा भएको सीप नै अरूसँग लड्ने हतियार बन्छ । त्यसैले पनि परदेशमा सबैभन्दा नजिकको साथी नै सीप हो जस्तो लाग्छ अमिसालाई ।

अमिसाले नै सिकाएका कतिपय अहिले जोर्डनमा काम गरिरहेका छन् । उनीहरूले फोन लगायतका माध्यमबाट धन्यवाद दिन्छन् अमिसालाई । काम गरेर फर्किएका कतिपय भेट्न आउँछन् । यस्तो बेला अमिसालाई लाग्छ, ‘विदेश गएर पैसा कमाएँ, नेपालमा सीप सिकाएँ, जीवन पनि चलाएँ, खुसी पनि कमाएँ ।’

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Madan

    Oct. 27, 2021, 5:21 p.m.

    प्रमाणपत्र चाहिँ के हो? कम्तिमा कमन प्रश्नको जवाफ त लेखौं। आईएनजोओको त्यत्रो आर्थिक सहयोग छ।

तपाईको प्रतिक्रिया