कतारबाट फर्केर गाउँमै कुखुरापालन, विदेशकाे भन्दा चार गुणा बढी कमाइ

 मंसिर २४, २०७८ शुक्रबार १५:४५:१४ | रासस
unn.prixa.net

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाइका लागि दुई पटक विदेश पुग्नुभयो । पाँच वर्ष विदेश बसे पनि उहाँले मनग्य पैसा आर्जन गर्न सक्नुभएन ।

विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने जयरामको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उहाँले व्यवसाय गर्न ऋण काढ्नतर्फ लाग्नुभयो ।  ऋण नपाएपछि चौधरी फेरि कतार उड्नुभयो ।

कतार पुगेपछि कोराना महामारी फैलियो । “निषेधाज्ञाका कारण खासै कमाइ भएन,” उहाँले भन्नुभयो, “घर फर्किए पनि कोरोनाकै त्रास थियो । त्रासमै बस्नुपर्ने अवस्था आयो ।”

विदेशबाट कमाएको तीन लाख रुपैयाँले चौधरीले कुखुरापालनको सुरुआत गर्नुभयो । दुईवटा फार्म बनाएर उहाँले  कुखुरापालन गर्न थाल्नुभयो । “फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो,” उहाँले भन्नुभयो, “तर पहिलो लट्मै पाँच लाख रुपैयाँकाे कुखुरा बिक्री भयो ।”

फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर एक लाख ५० हजार रुपैयाँ नाफा भएको जयरामले बताउनुभयो । दुई फार्ममा उहाँले सात हजार कुखुरा पाल्दै आउनुभएको छ । हालसम्म जयरामले २० लाख नाफा आर्जन गर्नुभएको छ ।

“विदेशमा जति परिश्रम गरे पनि महिनाको रु ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्यो । यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि जयराम निकै  खुशी हुनुहुन्छ ।   

तपाईको प्रतिक्रिया