आमाका आँखा र मन थाके, तर यूएईबाट छोरी फर्किनन् !

 पुस ६, २०७८ मंगलबार १४:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रीति घर्ती मगर 

दाङ – तुलसीपुरकी गीता परियार (नाम परिवर्तन) लाई पराई देशमा भएकी छोरीले एकैछिन भए पनि फोनमा बोलिदिए हुन्थ्यो जस्तो लाग्न थालेको वर्षाैँ भयो । तर छोरीले सितिमिति फोन उठाउँदिनन् । उठाइ हाले झर्केर भन्छिन्– ‘परदेश सोचेजस्तो हुँदैन के आमा, धेरै फोन नगर्नू !’

गीताकी छोरी रिमा (नाम परिवर्तन) ले विदेशमा काम गर्न घर छाडेको पाँच वर्ष भयो । काम गर्न यूएई पुगेपछिका तीन वर्षसम्म घरपरिवारसँग नियमित फोन सम्पर्क हुन्थ्यो । दुःखसुखका कुरा हुन्थे । त्यो बीचमा घर नआए पनि बेलाबेला पैसा भने पठाउनुहुन्थ्यो रिमाले । दुई वर्ष अघिदेखि रिमा एकाएक परिवारको सम्पर्कबाट टाढिनुभयो । दुई वर्षसम्म छोरी कहाँ गइन्, के गर्दै होलिन्, कतै समस्यामा पो परिन् कि जस्ता चिन्ताको बादलले घेरिरह्यो गीताको परिवारलाई ।

गीताको परिवारमा उहाँका श्रीमान्, एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी आठ र १२ कक्षामा पढ्छन् । रिमा जेठी छोरी हुन् । गीता सिलाइकटाइ गरेर घरखर्च चलाउनुहुन्छ । 

छोरी सम्पर्कविहीन भएपछि लामो समय अत्यासमा बिताउनुभएकी गीता एक दिन सुरक्षित आप्रवासन परियोजना (सामी) को कार्यालय दाङ आइपुग्नुभयो । काम गर्न विदेश गएर सम्पर्कविहीन भएका नेपाली खोज्न सामीले मद्दत गर्छ भन्ने कुरा गीतालाई विदेशमा काम गरी फर्किएका एक स्वयंसेवकले बताएका रहेछन् । 

सामीको प्रयास

केन्द्रको कार्यालयमा पस्दा गीताका आँखा डम्म आँसुले ढाकेका थिए । ‘जिउँदै छ कि मरिसकी केही खबर छैन’, यति भन्दा गीताका आँखाबाट आँसुका डल्ला गालामा खसे । गला भरिएको स्वरमा उहाँले भन्नुभयो, ‘मेरी छोरीलाई जसरी भए पनि घर ल्याइदिनुपर्‍याे, जति पैसा लाग्छ म दिन्छु ।’ उहाँको कुराले भावुक बनाए पनि अब मेरो काम थप जानकारी प्राप्त गर्नु थियो ।  

तर गीतालाई आफ्नी छोरी कुन म्यानपावरबाट यूएई गएकी हो भन्ने थाहा थिएन । न छोरीको पासपोर्ट नम्बर नै याद थियो । छोरीसँग पहिले कुरा भइराख्ने नम्बरमा फोन लाग्न छाडेको महिनौ भइसकेको रहेछ । तर, उहाँसित छोरीले चलाउने धेरै वटा फोन नम्बर रहेछन् । गीतासँग भएका अनेक नम्बरमध्ये एउटा नम्बरमा बल्लतल्ल फोन लाग्यो ।

तर त्यो फोन एक जना पुरुषले उठाए । रिमासँग कुरा गर्न चाहेको भन्दा रिमालाई किन खोजेको भन्दै उताबाट हिन्दीमा जवाफ फर्कायो र फोन राखिदियो । निकै प्रयासपछि त्यो मान्छेले रिमाको फोन नम्बर दियो । त्यो नम्बरमा फोन पनि लाग्यो, तर रिमा सजिलै बोल्न मान्नुभएन । सामान्य कुराकानी नसकिँदै आफूलाई किन फोन गरेको भनेर सोधेपछि मैले भनेँ, तपाईँ लामो समयदेखि घरपरिवारसँग सम्पर्कमा नभएकाले आमा पिर मान्दै हाम्रो कार्यालयमा आउनुभएको छ । तपाईँको अवस्था बुझ्न मात्र फोन गरेको ! रिमाले झर्किँदै भन्नुभयो, ‘सोचेजस्तो छैन विदेश, मलाई केही अप्ठेरो परेको छैन, केही भयो भने के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ ।’ 

रिमा र मेरो फोनमा भइरहेको कुरा रिताकी आमा गीताले पनि सुनिरहनुभएको थियो । आफ्नी छोरीले त्यसरी बोलेको सुन्दा उहाँका आँखा थप रसाए । छोरीको आवाज सुन्दा उज्यालो भएको उहाँको अनुहार बिस्तारै निन्याउरो हुन थाल्यो । आमासित कुरा गर्न मैले रिमालाई अनुरोध गरेँ । तर जवाफमा रिमाले फोन काटिदिनुभयो । त्यसपछि त्यो फोन नम्बर बन्द भयो । 

भोलिपल्ट रिमाले आफ्नी बहिनीको नम्बरमा फोन गर्नुभएछ । सबैसँग सामान्य कुराकानी भएछ । तर आफूलाई खोज्न हिजो गएको कार्यालयमा नजानु भनेर आमालाई हकार्नु पनि भएछ । 

छोरीलाई घर फर्काउन गीताले अनेक जुक्ति गर्नुभयो । कुराले सम्झाउन नसकेपछि आफू बिरामी परेको नाटक पनि गर्नुभयो । भाइबरमा भिडियो कल गरेर औषधिका बोत्तल देखाउनुभयो । तर केही गर्दा पनि रिमाको मन घर फर्कन मानेको छैन । परदेश गएकी छोरीको बदलिएको यस्तो व्यवहार देखेपछि हिजोआज गीताका दिनहरू कहिले उदेक मान्दै र कहिले छोरीको पिर मान्दै बित्न थालेका छन् । 

तपाईको प्रतिक्रिया