श्रम गन्तव्य देशमा कोरोनाको नयाँ सङ्क्रमित बढे, स्वास्थ्य सुरक्षामा कडाइ

 पुस २१, २०७८ बुधबार १७:१६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीको देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढिरहेकाे छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि रोकथामका लागि ती देशहरूले स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ भने अन्य देशबाट यात्रा गर्ने यात्रुलाई पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडा पारेको छ ।

साउदी

साउदी नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य हो । साउदीमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ ।

केही हप्ता अघिसम्म दैनिक कोरोना सङ्क्रमण दर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी सङ्क्रमण दर ह्वात्तै बढेकाले त्यहाँको सरकारले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ ।

साउदीले बाहिर निस्किदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको छ ।

साउदीमा रहेका नेपालीलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्न रियादमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

कतार

कोरोना सङ्क्रमण बढेसँगै कतारले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ । 

कतारमा बन्द कोठा तथा हलभित्रका कार्यक्रम तथा खुला सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ । तर खुला क्षेत्रमा खेल खेलिरहेका र ६ वर्षमुनिका बालबालिकालाई भने मास्क अनिवार्य छैन ।

यस्तै नयाँ मापदण्डअनुसार खुला क्षेत्रमा सभा तथा कार्यक्रम गर्दा त्यस ठाउँको क्षमताको ७५ प्रतिशत भन्दा नबढ्ने गरी र बन्द क्षेत्र जस्तै हलभित्र ५० प्रतिशत भन्दा नबढ्ने गरी कार्यक्रम आयोजना गर्नुपर्ने हुन्छ । यस्तै कार्यक्रममा सहभागीमध्ये कम्तीमा पनि ९० प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएको हुनुपर्ने छ । 

कतारमा अहिले दैनिक औसत चार सय भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित देखिने गरेका छन् ।  कतारमा रहेको नेपाली दूतावासले कतारको सरकारी निकायबाट जारी हुने सबै स्वास्थ्यका मापदण्ड तथा रोकथामका उपायहरूको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । 

रोजगारी तथा आफ्नो पेसासँग सम्बन्धित नियमित कामकाज वा अत्यावश्यक काम परेको अवस्था बाहेक सामाजिक भेटघाट तथा जमघट नगर्न पनि दूतावासले भनेको छ ।

यस्तै कतारले आवास र श्रमिक भिसाको नियम उल्लङ्घन गरेका आप्रवासी श्रमिकलाई आफ्नो कानुनी अवस्था सुधार्ने अवसर दिएको छ । कतारमा आवास र श्रमिक भिसाको नियम अर्थात् कानुन नम्बर २१ उल्लङ्घन गरेका सबै आप्रवासीले यसबाट फाइदा लिन सक्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । 

कानुन नम्बर २१ कतार सरकारले आप्रवासीको प्रवेश, निकास र आवास नियमन गर्न सन् २०१५ मा जारी गरेको हो ।  आप्रवासी श्रमिकले ३१ मार्च २०२२ सम्ममा आफ्नो कानुनी अवस्था सुधार गर्न सक्नेछन् । 

कुवेत

पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कुवेत सरकारले थप कडाइ गरेको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि सोमबार बसेको कुवेतको मन्त्रीपरिषद्को बैठकले  ९ जनवरीदेखि २८ फेब्रुअरीसम्म सबै भित्री सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

यस्तै कुवेत प्रवेश गर्ने सबै यात्रुको यात्रा गर्नु पूर्व ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने छ ।

यसका साथै कुवेत सरकारले कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप छिट्टै लगाउन समेत अनुरोध गरेको छ । 

पछिल्लो समय कुवेतमा झण्डै एक हजार जनामा नयाँ सङ्क्रमण भएको छ । सोमबार मात्रै ९८२ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 

कुवेतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ७७३ पुगेका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्न, भिडभाडमा नजाने र भिडभाड नगर्ने, मास्क तथा पन्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा रुघाखोकी, ज्वरोजस्ता कोरोनाका लक्षणहरू देखा परेमा नजिकैको स्वास्थ्य केन्द्र र अस्पतालमा तुरुन्तै सम्पर्क गर्न कुवेतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । 

यूएई

यूएईमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण दर बढिरहेको छ । दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या बढेपछि यूएई सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्न थालेको छ । 

दुबईमा सार्वजनिक स्थानमा मास्क नलगाएको पाइए तीन हजार दिर्हाम झण्डै १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने अन्य राज्यबाट अबुधाबी प्रवेशमा पनि कडाइ गरिएको छ ।

अबुधाबी जान अब रेसिडेन्टले ‘अल होसन’ एप्समा हरियो आएको हुनु पर्ने र अन्यको हकमा ९६ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । 

तपाईको प्रतिक्रिया