वैदेशिक रोजगार ठगीमा पर्नुभएको छ भने विभागमा ‘आरआरटी’लाई जानकारी दिनुहोस्

 असार १५, २०७९ बुधबार १८:१०:४ | डम्बर बहादुर सुनुवार
unn.prixa.net

वैदेशिक रोजगारीको आवरणमा भइरहेको वा हुन सक्ने ठगी  र विभिन्न खालका घटनाहरूलाई नियमन र नियन्त्रण गर्ने सिलसिलामा वैदेशिक रोजगार ऐन २०६४ र त्यो अनुसारको नियमावली र सँगसँगै केही कार्यविधि पनि बनेर कार्यान्वयनमा आएको अवस्था हो ।

त्यत्तिले पनि नपुगेर अझ छिटो छरितोसँग आएका गुनासो, उजुरी र ठगीका घटनाहरू छन् भने त्यसलाई तत्कालै रेस्पोन्स गरौँ र समस्या समाधान गरौँ भन्ने हिसाबले यो र्‍यापीड रेस्पोन्स टीम’ आरआरटी गठन भएको हो । तर आरआरटी गठन हुनुअघि पनि वैदेशिक रोजगार विभागले यस प्रकारको काम भने गर्दै आएको हो र ऐन अनुसार कार्यान्वयनको अवस्था हिजो पनि थियो ।

तर आरआरटी गठन भएपछि हामीले कार्यविधिहरू पनि केही परिवर्तन गरेर, माननीय मन्त्री स्तरीय निर्णय गरेर मन्त्रालयबाट पनि एक जना अफिसर र त्यसै गरी विभाग र अहिले विभागमा कार्यरत प्रहरी शाखाबाट एक जना प्रहरीसमेत रहने गरी एउटा टोली गठन भएको छ ।

यो टोलीले हिजोकोभन्दा प्रभावकारी रूपमा कार्यान्वयन गर्‍यो भन्ने हाम्रो बुझाइ पनि हो । यो टोलीले केही अनुगमन पनि गरेको छ । हामी सफल हुनु भनेको नागरिकहरू ठगीनबाट जोगिनु हो भन्ने हाम्रो बुझाई छ । कामको प्रकृतिको कुरा गर्ने  हो भने त यसअघि जसरी काम हुन्थ्यो त्यसरी नै अहिले पनि काम भइरहेको छ । तर पनि अलिकति छिटो छरितोसँग काम गरौँ भन्ने हो । 

आरआरटीबाट हुने अनुगमन

हामीले अनुगमनलाई दुई चरणमा बाँडेर हेर्छौँ । एउटा नियमित हुन्छ । अर्को आकस्मिक हुन्छ । पछिल्लो समय आरआरटीले गरेको भनेको चाहिँ आकस्मिक अनुगमन हो । आकस्मिक अनुगमन पनि प्राप्त सूचनाको आधारमा अनुगमन टोली परिचालन गर्छौँ ।

केही सूचना हामीलाई प्राप्त भयो र त्यो सूचना विश्लेषण गर्दा तत्कालै अनुगमनमा जानु पर्ने देखिएमा हामी तत्कालै अनुगमनमा जाने हो । यसरी अनुगमनमा जाँदा जे भेटिन्छ त्यसलाई विभागले सूचनामार्फत सार्वजनिक पनि गरेको छ ।

हाम्रो विश्वास के छ भने यसले आम नागरिकलाई समेत गराउने छ भने ठगीमा संलग्न व्यक्ति तथा संस्थाले पनि यो त गल्ती भयो अब हामी यसमा सुधारिन्छौ भन्नुहुन्छ भन्ने हाम्रो अपेक्षा हो ।

सूचना कम प्राप्त भयो

आरआरटी जुन उद्देश्य लिएर गठन भएको थियो त्यो अनुसार जुन सङ्ख्यामा सूचना तथा जानकारी आउन पर्ने हो त्यो अहिले आएको छैन । यो किन भयो भन्ने हाम्रो चासोको विषय पनि हो । तर यदि स्वयम व्यक्ति आफैँ ठगीमा परेको हो भने उहाँले साहस पनि गर्न पर्छ ।

नेपाल सरकारले जुन संयन्त्र बनाएको छ हामी हातेमालो गर्छौँ र भोलिका दिनमा ठगी निरुत्साहित बनाउँछौँ भन्ने  अभियानमा उहाँहरूको साहसको पनि हामीलाई आवश्यकता छ । सुनेको आधारमा मात्र भन्दा नि कुनै पनि डर बिना ढुक्क भएर तथ्यमा आधारित सूचना दिन सक्नुहुन्छ ।

यदि तपाईँ वा तपाईँको आफन्त ठगिनु भएको छ भने [email protected] वा [email protected] मा इमेल तथा ९८५१३३४१०७ नम्बरमा सूचना दिन सक्नुहुन्छ । तपाईँहरूले हामीलाई सहयोग गर्नुभयो भने मात्र ठगी पनि नियन्त्रण हुँदै जाने हो ।

आम नागरिकले पनि त्यसबाट लाभ उठाउन सक्नुहुन्छ । हामीले इमेल र मोबाइल नम्बर दुवै उपलब्ध गराएका छौँ । तपाईँहरूलाई जुन माध्यममार्फत हुन्छ हामीलाई सूचना दिनुहोस् भनेर म अनुरोध गर्छु । ठगी नियन्त्रण गर्नुपर्छ र ठगी नियन्त्रण गर्न हाम्रो पनि सहयोग चाहिन्छ भन्ने सोच राखेर नडराई आउनुहुन अनुरोध गर्छु ।

कहीँ कतै यो सूचना दिँदा जोखिम हुन सक्छ भन्ने लाग्छ र हाम्रो बारेमा गोप्य राखियोस् भन्ने लाग्छ भने हामी तपाईँको त्यो भावनालाई सम्मान गर्छौँ । र तपाईँको बारेमा सम्पूर्ण विवरण गोप्य राख्छौँ । हामीलाई सूचना उपलब्ध गराएबापत तपाईँलाई जोखिममा पार्ने भन्ने हुँदैन ।

प्राप्त सूचनाको विश्लेषण

सूचना प्राप्त भएपछि हामी त्यो सूचनाको सबैभन्दा पहिला विश्लेषण गर्छौँ । सूचना अधुरो, अपुरो र तथ्यको नजिक नपुगेको अवस्थामा आरआरटी तत्कालै खटाउँदा एक खालको जनशक्तिको दुरुपयोग पनि हो । त्यसैले हामी तथ्यमा आधारित भएर निश्चित भइसकेपछि चाहिँ २ देखि ३ घण्टाभित्रै पनि टोली परिचालन भइहाल्छ ।

तर त्यसको दूरी कहाँ हो भन्ने कुराले पनि अर्थ राख्छ । त्यो प्राप्त सूचनाहरूले कति छिटो हामीलाई त्यहाँ पुर्‍याउछ भन्ने कुराले पनि सूचना प्राप्त भएपछि कारबाही थाल्ने समय निर्धारण गर्छ । जोखिमहरू के के हुन सक्छ, कहीँ कतै सूचनाहरू चुहावट हुने र हामीले लक्ष्य गरेको ठाउँमा पुग्न सफल भइन्छ कि भइँदैन भन्नेजस्ता कुराहरूको पनि विश्लेषण गरिन्छ ।

यी सबै कुराको विश्लेषण गर्दा केही समय लाग्ने हो नत्र हामी सूचना पाएपछि अलमल गर्ने भन्ने हुँदैन । तत्काल कामकारबाही अघि बढाउँछौँ ।

यी सूचना आरआरटीलाई उपलब्ध गराउनुहोस्

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत नलिई कुनै व्यक्ति, समूह वा संस्थाले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी प्रलोभनमा  पारेमा, रकम असुल गरेको अथवा विदेशमा लगी अलपत्र पारेको लगायतका सूचना तथा गुनासाहरू आरआरटीमा राख्न सकिन्छ ।

यसबाहेक पनि वैदेशिक रोजगारसँग सम्बन्धित गुनासा तथा जानकारी आरआरटीमा टिपाउनुभयो तर आरआरटीको विषय होइन भन्ने भयो भने पनि हामी विभागका अन्य शाखा र संयन्त्रसँगै सम्बन्धित व्यक्ति तथा पदाधिकारीलाई सूचना दिन्छौ ।

त्यही अनुसारको कारबाही त अघि बढ्छ नै । तर आरआरटीको बारेमा चाहिँ म के भन्छु भने तत्कालै रेस्पोन्स नगर्ने हो भने श्रमिकहरूलाई अत्यन्तै ठुलो जोखिम हुने अवस्था र ठगीको कुराहरू छ र त्यो अझ बढ्छ भन्ने भयो भने त्यस्ता सूचनाहरूलाई चाहिँ आरआरटीले बढी चासोका साथ हेर्छ र त्यही अनुसार अघि बढ्छ ।

(विभागका निर्देशक सुनुवारसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

डम्बर बहादुर सुनुवार

डम्बर बहादुर सुनुवार वैदेशिक राेजगार विभागकाे उद्धार तथा राहात समन्वय शाखाका निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया