वैदेशिक रोजगारी : म्यानपावरको ठगी कायमै, न्याय पाउनेको सङ्ख्या न्यून

 साउन ११, २०७९ बुधबार १२:२५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा नेपाली श्रमिकहरू ठगिने समस्या अहिले पनि सबैभन्दा धेरै रहेको पाइएको छ ।

पिपल फोरममा गएको आर्थिक वर्षमा सेवा लिन आएकाहरूमा गरिएको एक अध्ययनले वैदेशिक रोजगारीको क्रममा नेपाली श्रमिकहरू ठगिने समस्या सबैभन्दा बढी रहेको देखाएको हो । पिपल फोरममा कानुनी सहायता लिन आएका मध्ये सबैभन्दा धेरै ५९.२८ प्रतिशत श्रमिक ठगीमा परेको समस्या लिएर आएको पिपल फोरमको निःशुल्क कानुनी सहायता कार्यक्रम संयोजक तथा अधिवक्ता सुदीप देवकोटाले जानकारी दिनुभयो । यसरी ठगीमा पर्नेमा पनि स्वदेशमै ठगिनेहरूको सङ्ख्या धेरै छ । तर ठगीमा परेका मध्ये न्याय पाउनेको सङ्ख्या भने १४.३४ प्रतिशत मात्रै रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न समस्या भएका २४ सय ६९ पुरुष र ३८५ जना महिला गरी २८ सय ५४ जनालाई कानुनी सहायता तथा परामर्श गरेको जनाएको छ । यसरी सेवा लिन आउने मध्येमा सबैभन्दा बढी ठगीको समस्या छ भने दोस्रोमा उद्धारको सहायता खोज्नेहरू धेरै छन् । पिपल फोरमको सहायतामा १५.८४ प्रतिशतले उद्धारका लागि वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।

यस्तै १३.२७ प्रतिशतले गन्तव्य देशमा सम्बन्धित काम, तलब र सेवा सुविधा नपाएको उजुरी दिएका छन् भने ६.१७ प्रतिशतले आर्थिक सहायता सम्बन्धित समस्या राखेका छन् । ३.६४ प्रतिशतले पासपोर्ट जफत गरिएको गुनासो गरेका छन् । 

म्यानपावरबाट ठगिने बढी

वैदेशिक रोजगारीमा जानेहरू व्यक्तिगत भन्दा पनि संस्थागत अर्थात् म्यानपावरबाट नै बढी ठगी भएको पाइएको छ । व्यक्तिगत ठगी बढ्दो भए पनि ठगीमा पर्नेको सङ्ख्या म्यानपावरबाटै भएको ठगीको बढी छ।

म्यानपावरबाट करिब ५२ प्रतिशत श्रमिक ठगीमा परेको पिपल फोरमले जनाएको छ । व्यक्तिगत अर्थात् विभिन्न एजेण्टहरुबाट करिब ४९ प्रतिशत श्रमिक ठगीमा परेका छन् । 

वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका म्यानपावर कम्पनीहरूले फ्री भिसा फ्री टिकटको नियम अनुसार श्रमिक पठाउनु पर्ने सरकारी नियम छ । तर ठगी भने म्यानपावर कम्पनीबाटै बढी भइरहेको छ । 

यस्तै कुनै पनि व्यक्तिले वैदेशिक रोजगारीमा पठाउन पाउँदैनन् । यसअघि कायम भएका एजेण्टहरु पनि सरकारले खारेज गरिसकेको छ । तर गैरकानुनी व्यक्तिहरूले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठग्ने क्रम पनि पछिल्लो समय बढ्दो छ । 

अधिवक्ता सुदीप देवकोटाका अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू गन्तव्य देशमा पुगेपछि भन्दा आफ्नै देशमा बढी ठगिने गरेका छन् । पिपल फोरममा कानुनी सहयोग माग्न आउनेहरूमा आफ्नै देशमा ठगिएकाहरू बढी पाइएको उहाँको भनाइ छ ।

उजुरी फर्छ्यौटको सङ्ख्या कम

वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकाहरूको उजुरी फर्छ्यौटको सङ्ख्या भने निकै कम पाइएको छ । पिपल फोरमकै सहयोग र समन्वयमा वैदेशिक रोजगार विभागमा पीडितले दिएको उजुरीमा न्याय पाउनेको सङ्ख्या भने निकै कम मात्रामा रहेको छ । 

गएको आर्थिक वर्षमा पिपल फोरमको सहयोगमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका ४५२ उद्धार सम्बन्धी उजुरीमा १३७ उजुरी मात्र फर्छ्यौट भएको छ भने १६९२ ठगीको उजुरीमा जम्मा ५१ जनाको मात्र उजुरी  फर्छ्यौट  भएको पिपल फोरमले जनाएको छ ।

गन्तव्य देशमा काम, तलब र सेवा सुविधा नपाएका १६ सय ९३ जना मध्ये ७० जनाले मात्र वैदेशिक रोजगार विभागमा उजुरी दिएर न्याय पाएका छन् भने आर्थिक सहायता सम्बन्धी १७६ वटा उजुरीमा ७९ जनाले आर्थिक सहायता पाएका छन् । 

पासपोर्ट जफतको समस्या लिएर आएका १०४ जनामध्ये ५१ जनाले मात्र पासपोर्ट फिर्ता पाएका छन् ।

साउदीमा श्रमिकको समस्या बढ्दो 

पछिल्लो समय साउदी गएका श्रमिकहरू अलपत्र पर्ने क्रम बढेको छ । कोरोना महामारीपछि रोजगारीका लागि साउदी गएका श्रमिक अलपत्र पर्ने सङ्ख्या अत्यधिक बढेको र उनीहरूको उद्धारमा समेत कठिनाइ रहेको अधिवक्ता देवकोटाले बताउनुभयो । 

‘साउदीमा श्रमिकहरू अलपत्र पर्ने क्रम बढेको छ, उद्धार गर्न पनि एकदमै समस्या छ’ उहाँले भन्नुभयो ‘साउदीकै कानुनले गर्दा पनि उद्धारमा कठिनाइ छ भने कतिपय चाहिँ मलेसिया रोजगारी खुलेकाले पनि साउदीबाट फर्किएर मलेसिया जाने सोच बनाइरहनुभएको छ ।’

यस्तै भिजिट भिसामा मानिसलाई वैदेशिक रोजगारीमा पठाउने र गन्तव्य देशमा पुर्‍याएपछि अलपत्र पार्ने क्रम पनि पछिल्लो समय बढ्दो छ । ठगीमा म्यानपावर कम्पनी र एजेण्टमात्र होइन शैक्षिक परामर्शका लागि खुलेका कन्सटेन्सीहरु पनि थपिएका छन् ।

कन्सलटेन्सीहरुले विभिन्न युरोपेली देशको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । विभागमा पछिल्लो समय व्यक्तिगत ठगीमा मुद्दाहरूमा मेलमिलाप हुने क्रम पनि बढेको अधिवक्ता देवकोटाले जानकारी दिनुभयो ।

1 Comments

  • Dil Bahadur shrestha

    July 27, 2022, 8:52 p.m.

    मेरो पनि २ लाख ५० हजार ठगी गरिएको छ , ठगी गर्ने व्यक्ति अहिले नेपाल मै छन् , तर पुलिसवाट कुनै सहयोग पाइएन /

तपाईको प्रतिक्रिया