परदेशमा आफ्नो श्रीमानले काम गर्ने कम्पनीबारे जानकारी राख्न पर्ने रहेछ

 साउन १३, २०७९ शुक्रबार १५:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सन्तोषी मजकोटी, तनहुँ । 

हामी परदेशीका श्रीमती धेरैलाई विदेशमा श्रीमान् कुन कम्पनीमा काम गर्छन् भन्ने कुरा थाहा हुँदैन ।

यो काम गर्छन् भन्ने जानकारी भए पनि कम्पनी कुन हो, कुन लोकेसनमा पर्छ, साथीभाइ को को हुन्, म्यानेजर, सुपरभाइजर को छन् भन्ने  कुरामा हामीले खासै वास्तै नगरिँदो रहेछ । मलाई पनि केही समय अघिसम्म थाहा थिएन ।

जब म मेरो गाउँमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बसेँ तब पो झसङ्ग भएँ । कक्षामा पढाउने सरले श्रीमानको बारेमा सोध्दा पो अनुभव भयो मलाई त श्रीमान् गएको देश बाहेक केही पनि थाहा रहेनछ । सरले श्रीमानको पासपोर्टको, बिमाको, भिसाको, श्रम स्वीकृति लगायतको फोटो कपी छ त तपाईँसँग भनेर सोध्नुभयो । त्यो पनि थिएन मसँग । सरको कुरा सुनेपछि भने श्रीमानलाई फोनमा सबै कुराहरू सोधेँ र विवरणहरू पनि राखेँ । 

मैले यी कुराहरू भन्दै गर्दा तपाईँहरूलाई लाग्न सक्छ, यस्तो कुराहरू नजानेचाहिँ के हुन्छ र ? हो मलाई पनि यस्तै लाग्थ्यो कुनै बेला । तर यी कुरा जान्दा धेरै कुरा फाइदा हुँदो रहेछ । 

परदेशको ठाउँ । समय र परिस्थिति सधैँ एकै हुन्छ भन्ने हुँदैन । राम्रो हुँदासम्म त केही गाह्रो हुन्न । तर यदि कुनै दिन केही अप्ठेरो भइहाल्यो भने के गर्ने ? कोसँग सहारा माग्ने ?

श्रीमान् बिरामी पर्नुभयो या उहाँलाई कम्पनीमा कुनै समस्या भयो तर श्रीमानले परिवारलाई जानकारी गराउने अवस्था नै भएन भने त्यो बेलामा रुँदै कहाँ जाने ? त्यसैले आफ्नो श्रीमानको सुरक्षाको लागि भए पनि यस्ता विवरण राख्न पर्ने रहेछ । मलाई यी कुराहरू सिक्ने अवसर दिनुभएकोमा वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने सामी परियोजनालाई धन्यवाद दिन चाहन्छु ।

कक्षामा बसेर मैले सिकेका कुराहरू यी मात्र होइनन् । अरू पनि थुप्रै कुराहरू छन् जसले मेरो जीवन अघि बढाउन सहज बनाएको छ । मैले कक्षामा बसेपछि बचत गर्न सिकेँ ।

आफैले घरैमा बसेर पनि आम्दानी बढाउन सकिँदो रहेछ भन्ने ज्ञान पनि मलाई कक्षाले नै दियो । त्यसपछि मैले दूध घिउ बेचेर, तरकारी बेचेर र लुगा सिलाएर घर खर्च र बालबच्चालाई खाजा खर्च पुर्याउछु । सकेसम्म श्रीमानले कमाएको पैसा बचत गर्ने कोशिस गर्छु ।

खर्च र आम्दानीको हर हिसाब राख्ने पास बुक छ । त्यो पास बुकमा हरेक खर्च र आम्दानीहरू टिप्ने गर्छु । यसो गर्दा कहाँ बढी खर्च भयो र कहाँबाट आम्दानी भयो भनेर छुट्टाउन अप्ठेरो पर्दैन मलाई । कुन शीर्षकमा कहाँ खर्च भयो भन्ने प्रस्टै देख्दा मन चिसो हुन्छ । अनि खर्च कम गर्न मन पनि लाग्दो रहेछ ।

मेरो दुई छोरा छन् । एउटा त १५ वर्षको छ । एउटा ५ वर्षको । उनीहरूको रेखदेख गर्दै म घर खर्च र छोराहरूको रेखदेख गर्न पुग्ने आम्दानी गरिरहेको छु । श्रीमानको कमाइ बचत गरेर चितवनमा एउटा घडेरी पनि किनेका छौँ । अब छिट्टै नै श्रीमानलाई पनि नेपालमै केही गर्ने मेसो मिलाएर बोलाउने सोचिरहेको छु । 

तपाईको प्रतिक्रिया