काठमाण्डौमा भूकम्पको धक्का महसुस
पुस २३, २०८१ मंगलबार
खोटाङ दिक्तेलकी तीलमाया आचार्य एक वर्षदेखि ब्लड क्यान्सरले पीडित हुनुहुन्छ । उहाँलाई १५ पटक किमो दिइएको छ । अहिले पनि उहाँ भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको छ । अहिलेसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको छ ।
तीन छोरामध्ये उहाँका दुई छोरा वैदेशिक रोजगारीमा हुनुहुन्छ । घरमा आमा बिरामी भएपछि छोराहरु कसरी खुसी हुन सक्छन् र ?
छोराहरु केही कमाउने सपना बोकेर परदेश गएका छन् । यता आफ्नो उपचारमा यत्रो पैसा सकिँदा ६० वर्षीया तीलमायालाई पनि क्यान्सरले भन्दा बढी पीडा हुन्छ ।
उहाँलाई अब खर्च कहाँबाट जुटाउने भन्ने चिन्ता लागिरहेको थियो । यहीबेला श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक राेजगार बाेर्डबाट पचास हजार रुपैयाँ सहयोग पाउनुभयो । रकम थोरै भए पनि यो पैसाले उहाँलाई केही राहत मिल्यो ।
बाेर्डले वैदेशिक रोजगारीमा गएका कामदारका परिवारलाई स्वास्थ्य उपचारको लागि भनेर आर्थिक सहयोग गर्छ ।
अहिले शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा ५० हजार रुपैयाँ दिन्छ । कामदारका परिवारले पाउने स्वास्थ्यको उपचार सम्बन्धी मापदण्ड २०७३ मा यसको व्यवस्था गरिएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको श्रमिकको परिवारले यो सुविधा पाउँछन् ।
यति धेरै खर्च भइसकेको अवस्थामा ५० हजार रुपैयाँ भए पनि आफूलाई राहत भएको उहाँका अन्तरे छोरा मीन प्रसाद आचार्य बताउनुहुन्छ ।
‘रकम थोरै भए पनि सरकारबाट सहयोग पाउँदा केही राहत भएको छ’, उहाँ भन्नुहुन्छ ।
कतिपय श्रमिकका परिवार यस सेवाबारे जानकारी नहुँदा पाउनुपर्ने उपचार खर्चबाट वञ्चित हुन्छन् । तर आप्रवासी स्रोत केन्द्रले यस्तो अवस्थामा पीडित श्रमिक तथा उनीहरुका परिवारलाई सहयोग गर्छ । तीलमायाले पनि स्रोत केन्द्रको सहयोग र पालिकाको सिफारिसमा वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहयोग पाउनुभएको हो ।
यो सहयोगको लागि वैदेशिक रोजगार बोर्डको कार्यालय काठमाण्डौमै पुग्नुपर्दैन । आफ्नो पालिकामा गएर आवश्यक प्रक्रिया सहित निवेदन दिएपछि पाउनुपर्ने सहायता रकम सम्बन्धित व्यक्तिको बैंक खातामा आउँछ ।
लिला निराैला/खाेटाङ