इजरायलमा कार्यरत मञ्जू थपलियालाई सूचिकृत गर्दै सुरु भयो वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सामाजिक सुरक्षा योजना

 चैत ८, २०७९ बुधबार १२:४९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेकाहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण कार्यको शुभारम्भ भएको छ । 

आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच इजरायलमा कार्यरत मञ्जू थपलियालाई सामाजिक सुरक्षा योजनामा सूचिकृत गर्दै  प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सूचिकरण कार्यको शुभारम्भ गर्नुभएको हो  ।
कार्यक्रमको शुभारम्भ आजदेखि भए पनि  वैशाख १ गते देखि वैदेशिक रोजगारीमा जाने सबै श्रमिक यस योजनामा अनिवार्य रुपमा सूचिकृत हुनुपर्ने  सामाजिक सुरक्षा कोषले जनाएको छ ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने बेला नै यस योजनामा जोडिनुपर्ने व्यवस्था गरिएको कोषका निर्देशक रोशन कोजूले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत सजिलै सूचीकृत हुने व्यवस्था गरिएको छ ।

 यस्तै वैदेशिक रोजगारीमा रहेका तथा श्रम स्वीकृतिको अवधि बाँकी रहेकाहरुले कोषको वेबसाइटमा गएर सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन सक्नेछन् । साथै श्रम अवधि सकिएर पुनः श्रम स्वीकृति लिने बेला यस योजनामा आबद्ध भएपछि मात्र पुनः श्रमको प्रक्रिया अगाडि बढ्ने पनि उहाँले बताउनुभयो । 

यस योजना अनुसार श्रमिकले हरेक महिना कोषमा न्युनतम २ हजार २ रुपैयाँ जम्मा गर्नुपर्ने प्रावधान छ । यदि श्रमिकले ७ महिनाको अग्रिम योगदान गरे १० प्रतिशत छुटको व्यवस्था रहेको पनि उहाले बताउनुभयो ।
सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि प्राप्त सामाजिक सुरक्षा नम्बरमार्फत रकम नेपालमा रहेका बैंकबाट कोषमा रकम जम्मा गर्न सकिन्छ । यस्तै नेपालमा शाखा भएका विदेशस्थित रेमिटमार्फत पनि कोषमा रकम जम्मा गर्न मिल्छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार स्थापित सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया