उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा योजनाको सुरुवात गर्ने भएको छ ।
आज प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले काठमाण्डौमा एक कार्यक्रमकाबीच सामाजिक सुरक्षा योजनामा सहभागी हुन आह्वान गर्दै हुनुहुन्छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिक सँगसँगै स्वदेशमा नै स्वरोजगार रहेका व्यक्तिहरूका लागि पनि आज बुधवारदेखि नै सामाजिक सुरक्षा योजनाको सुरुवात हुँदै छ ।
वैदेशिक रोजगारमा रहेकाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि दुर्घटना बिमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्थामा पेन्सन सुविधा प्राप्त हुने गरी कार्यविधि बनाइएको छ ।
सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि समेट्ने गरी ‘वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यविधि २०७९’ ल्याएको छ ।
वैदेशिक रोजगारीमा रहेकाहरू अनलाइनबाटै आबद्ध हुन सक्ने व्यवस्था कार्यविधिले गरेको छ । सूचीकरणका लागि आवेदन दिँदा नेपाली नागरिकता वा राहदानीको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि आवश्यक पर्छ । श्रम स्वीकृति आवश्यक नपर्ने देशमा रोजगारी गरिरहेको वा जाने श्रमिकले भने आफू कुन स्थानमा कुन कम्पनीमा काम गर्ने हो त्यसको विवरण अनुसार कोषमा आबद्ध हुन स्वघोषणा र कम्पनीको नियुक्ति पत्र भए त्यसको प्रतिलिपि पनि पेस गर्न पर्छ ।
यस्तै नयाँ जानेले आफू काम गर्न जान लागेको देश, रोजगारदाता कम्पनी र ठेगाना, नेपालमा सम्पर्क गर्ने व्यक्तिको नाम, थर, ठेगाना, नाता सम्बन्ध र सम्पर्क नम्बर राख्न पर्छ ।
विदेशमा स्वरोजगार रहेका व्यक्तिले कोषमा सूचीकरणका लागि निवेदन दिँदा नागरिकता वा राहदानीको प्रतिलिपिका साथै भिसाको पनि प्रतिलिपि पेस गर्न पर्छ ।
भिसा आवश्यक नपर्ने देशमा स्वरोजगार भएमा भने भिसाको प्रतिलिपि पेस गर्न पर्दैन । स्वरोजगार सम्बन्धी पेसा वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पेसा वा व्यवसायको नाम, ठेगाना तथा सम्पर्क नम्बर पनि राख्न पर्छ भने कोषमा सूचीकृत भएपछि आफूले मासिक रूपमा योगदान गर्ने रकमका बारेमा पनि खुलाउन पर्छ ।
यी आवश्यक कागजातसहित अनलाइनमार्फत सूचीकरणका लागि दिएको निवेदन उपर कोषले जाँचबुझ गरी सामाजिक सुरक्षा परिचयपत्र उपलब्ध गराउँछ । परिचयपत्र पनि अनलाइनमार्फत नै उपलब्ध हुन्छ । कोषमा सूचीकरण भइसकेपछि नियमित रूपमा योगदान रकम जम्मा गर्दै कोषले प्रदान गर्ने सेवा सुविधा लिन सकिन्छ ।
कार्यविधि कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले सरकारबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिँदा नै कोषमा सूचीकृत भएको हुन पर्ने छ । श्रम स्वीकृति लिँदा सामाजिक सुरक्षा नम्बर पनि आवश्यक पर्ने गरी मन्त्रालय र विभागसँग समन्वय गर्ने कोषले जनाएको छ ।
कोषमा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेकाहरूले नेपाल सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१।३३ प्रतिशत अर्थात् न्यूनतम २ हजार र बढीमा यसको तीन गुण बढीसम्म रकम जम्मा गर्न सक्नेछन् ।
जम्मा गरेको रकम मध्ये ७.४८ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत जाने कोषले जनाएको छ ।
कोषमा योगदान गर्नु पर्ने ६ महिनाभन्दा बढी अवधिको रकम अग्रिम रूपमा जम्मा गर्नेहरूलाई १० प्रतिशतसम्म छुट दिने कोषले जनाएको छ । यस्तै विदेशमा आफूले कमाएको रकममा आफ्नो खर्च कटाई ७० प्रतिशतसम्म बैङ्किङ च्यानलबाट पठाएको प्रमाण पेस गरेमा भने वृद्ध अवस्था सुरक्षा योजना बाहेकका योजनाहरूमा जम्मा गर्नु पर्ने रकममा २० प्रतिशतसम्म छुट पाइने छ ।
कोषमा आबद्ध भएर रकम योगदान गर्न थालेपछि वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका नेपाली नागरिकले तीन किसिमका सेवा प्राप्त गर्ने छन् । कोषका अनुसार दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी तीन किसिमको सामाजिक सुरक्षा योजनाहरू सञ्चालन हुनेछन् ।
यी दुई सुविधा पाउनको लागि कम्तीमा पनि ९ महिना योगदान गरेको हुनपर्छ । तर पेन्सन योजनामा जम्मा भएको रकममा भने कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोड्दा हुन आउने जम्मा योगदान रकम एकमुष्ट वा त्यो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर पेन्सनको रूपमा लिन पाउने दुई विकल्पमध्ये एक छनौट गर्न सकिन्छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिक वा विदेशमा स्वरोजगारमा रहेकाहरूले कोषमा आबद्ध भएपछि दुर्घटना भएमा दुर्घटना बापतको सुविधा र दुर्घटनाबाट अशक्तता भएमा अशक्तता बापतको सुविधाहरू यस योजना अन्तर्गत पाउनेछन् ।
दुर्घटनामा परेर अस्पताल भर्ना भई उपचार गराउँदाको अवस्थामा एक लाख रुपैयाँसम्मको उपचार खर्च योगदानकर्तालाई कोषले दिने छ ।
अस्थायी पूर्ण असक्षमता भएर काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा पाइन्छ भने दुर्घटनामा परेर कामै गर्न नसक्ने गरी असक्षम भएमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक असक्षमताको प्रतिशतको आधारमा जीवनभर पाइन्छ भने पूर्ण रूपमा असक्षम भएमा न्यूनतम पारिश्रमिकको ६० प्रतिशत रकम बराबरले हुन आउने रकम योगदानकर्ताले जीवनभर पेन्सनको रूपमा प्राप्त गर्ने छन् ।
यस योजना अन्तर्गत पति वा पत्नीले पेन्सन, छोराछोरीले शैक्षिक वृत्ति, अन्तिम संस्कार खर्च उपलब्ध हुन्छ । जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भए पनि उसको पति वा पत्नीले उसको न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर पेन्सन पाउनेछन् भने १८ वर्षको उमेर पूरा नभएका छोराछोरीले उमेर पूरा नभएसम्म शैक्षिक वृत्ति बापत न्यूनतम तलबको ४० प्रतिशत रकम मासिक रूपमा पाउने छन् ।
योगदानकर्ताको पति वा पत्नी नभएको तर आश्रित बुवा आमा भएमा बुवा आमालाई नै न्यूनतम पारिश्रमिकको ४० प्रतिशत रकम पेन्सनको रूपमा जीवनभर पाउने व्यवस्था कार्यविधिले गरेको छ ।
योगदानकर्ताको ज्यान जाँदा अन्तिम संस्कार खर्च आश्रित परिवार सदस्य वा हकवालाले २५ हजार रुपैयाँ एकमुष्ट पाउने व्यवस्था कार्यविधिले गरेको छ ।
यो योजना अन्तर्गत योगदानकर्ताले अवकाश बचत योजनामा जम्मा गरेको रकम र यसले आर्जन गरेको प्रतिफल वैदेशिक रोजगारी अन्त्य भएपछि र विदेशको रोजगारी छोडेर नेपाल फर्किएपछि एकमुष्ट लिन पाइन्छ । तर यो रकम योगदानकर्ताले चाहेमा पेन्सन योजनामा हस्तान्तरण गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत योगदानकर्ता ६० वर्ष पूरा भएपछि निवृत्तिभरण योजनामा जम्मा भएको रकम र त्यसको प्रतिफलसमेत जोड्दा हुन आउने रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निवृत्तिभरको रूपमा पाइन्छ।
यदि योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै ज्यान गएमा भने उसको हकवालाले यो रकम प्राप्त गर्ने छन् ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्किएपछि स्वरोजगार, औपचारिक र अनौपचारिक योजनाहरूमा सार्न पनि सकिने कोषले जनाएको छ ।
नेपालमा २०७५ मङ्सिर ११ गते देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएको हो ।
raju sirmal
March 22, 2023, 10:57 a.m.Mapani exuk xu