विदेशबाट फर्किएकाको सरकारले तथ्याङ्क लिन्छ तर अवसर दिँदैन

 जेठ २६, २०८० शुक्रबार १२:२०:२५ | नारायण कोइराला
unn.prixa.net

गाउँहरू सहर बन्दै गएका छन् । पानी नपरेर बारीमा लगाएको बालीनाली सुक्दै गएको छ । के तराई के पहाड चर्को गर्मी छ । मानिसहरू घरबाट निस्कन सक्ने अवस्था छैन । 

महँगी बढ्दो छ । जागिर पाउने अवस्था छैन । अवस्था यस्तो आइसक्यो कि अहिले त दुई छाक टार्न पनि हम्मे हम्मे छ । 

तर यो बेलामा पनि एउटा खेती भने मौलाइरहेको छ । त्यो खेती हो मानिसलाई वैदेशिक रोजगारीमा पठाउने । जुन खेतीलाई न पानी परेन भन्ने चिन्ता हुन्छ न त महँगी बढ्यो भन्ने चिन्ता । बरु फाइदा पो छ । जति देशमा बेरोजगारी बढ्यो उत्ति नै विदेश जानेहरू बढ्छन् । जति भन्यो त्यति पैसा तिर्न राजी हुन्छन् । 

यो खेती गर्नेलाई सरकारले ढाँड सेक्ने गरी कर पनि लगाएको छैन । बर्सेनि लगानी पनि लगाउन पर्दैन । जति नाफा भए पनि सिधै खल्तीमा हाल्न पाइने ।

अहिले त अवस्था यस्तो छ कि जतिसक्दो छिटो देश छाड्न पाए हुने भन्नेहरूको जमात ठुलो छ । जसको फाइदा यो खेती गर्नेहरूलाई छ । विदेशमा काम पाइन्छ या पाइँदैन निश्चित हुँदैन तर मोटो रकम लिइहाल्छन् । उनीहरूलाई आफ्नो पासपोर्ट र पैसा बुझाउन गाउँ बेसी शून्य पारेर युवाहरू लाइन लाग्छन् । तर विदेश कहिले पठाउँछन् टुङ्गो हुँदैन ।

सरकार भन्छ वैदेशिक रोजगारीमा जान १० हजारभन्दा बढी नतिर्नु । तर विदेश पठाउने एजेण्ट त मोलमोलाइ गर्छन् । जसले बढी पैसा दियो उनीहरूलाई नै पठाउँछन् ।

सरकारले सीप सिकाउने र सीप सिकेर मात्र विदेश जान पनि भन्छ । तर खै कहाँ सिक्न पाइन्छ सीप भन्ने कुरा सामान्य एउटा श्रमिकलाई थाहै हुँदैन ।

सकारको नीति एकातिर छ । श्रमिक बेच्नेहरूको खेती अर्कोतिर चलिरहेकै छ । उनीहरूले त लुट नै मच्चाइरहेका छन् ।

सरकारले सानोतिनो कामको लागि करोडौँ खर्च गर्न सक्छ भने प्रत्येक जिल्लामा किन तालिम केन्द्र खोल्न र त्यसको परिणाम निकाल्न सक्दैन । राजनीतिक नियुक्तिको आधारमा कुनै पनि सीप सिकाउने संस्था सफल नहुने प्रस्ट नै छ । 

सरकारले पछिल्लो समय विदेशबाट फर्किएकाहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ । पालिकाहरूले पनि विदेशबाट फर्किएका र विदेशमा भएकाहरूको तथ्याङ्क सङ्कलन गरिरहेका छन् । तथ्याङ्क मात्र सङ्कलन गरेर के गर्नु सरकारले कुनै सहयोग गर्दैन । विदेशबाट फर्किएका सयौँ व्यक्तिहरूमा सीप र अनुभव छ । तर त्यसको प्रयोग भएको छैन । केन्द्र, प्रदेशदेखि पालिका सरकारले यस कुरामा ध्यान दिन जरुरी छ । 

सरकारले पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने भनिरहेको छ । तर त्यो पनि खास प्रभावकारी भएको देखिँदैन । विदेशबाट आएकाहरूलाई अवसर भनेको सुनिन्छ तर त्यो अवसर कसले पाउँछन् पत्तो हुँदैन । 

विदेशमा हुँदा म सपना देख्थ्यें । देशमा गएर यसो गरौँला उसो गरौँला भनेर । तर अहिले त्यो सपना देश फर्किएको केही वर्षमै सकिएको छ । 

विदेशमा हुँदा  साथीभाइसँग योजना बनाइन्थ्यो । साथीभाइले पनि हौसला दिन्थेँ । सकेसम्म देशमा नै केही गर्नुपर्छ भन्ने सबैको सोच र योजना हुन्थ्यो । विदेशबाट अनुभव नगरी हेर्दा सरकारको नीतिमा आशा पनि देखिन्थ्यो । तर त्यो सत्य रहेनछ । त्यसैले परदेशी श्रमिक साथीभाइहरू हतारमा स्वदेशमै केही गर्छु भनेर विदेश छाड्नुअघि हजार पटक सोच्नुहोला । नत्र पछुताउनु बाहेक केही बाँकी नहुने रहेछ ।

तपाईको प्रतिक्रिया